विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा ७ चरणमा भएको निर्वाचनको मत गणना बिहीबार सुरु भएको छ।

स्थानीय समयअनुसार बिहान ८ बजेबाट मतगणना शुरु भएको हो। ९० करोड मतदाता भएको भारतमा ११ अप्रिलदेखि १९ मेसम्म निर्वाचन भएको थियो।

मत परिणामले कसको सरकार बन्ने भन्ने पनि निश्चित गर्नेछ। भारतीय तल्लो सदन लोकसभामा ५४३ सिट छन्। यसका लागि ८ हजार ४० उम्मेदवार मैदानमा थिए।

आज आउने परिणामले अघिल्लो पाँच वर्ष भारतमा को प्रधानमन्त्री बन्छ भन्ने पनि निर्धारण गर्नेछ। ५ सय ४३ सदस्यीय लोकसभामा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन(एनडिए)ले स्पष्ट बहुमत ल्याउने एक्जिट पोलहरुले देखाएका छन्।विश्लेषकहरुले विगतमा चुनावमा एक्जिट पोलहरु गलत भएका विषयलाई औल्याएका छन्। एक्जिट पोलहरुले गठबन्धनले तीन सय स्थानमा जीत हासिल गर्ने देखाएको छ। यो परिणाम २०१४ को चुनावी परिणाम भन्दा कम हो।

अन्तिम परिणाम केही बेरमै आउन थाल्नेछ।

सन् २०१४ को निर्वाचनबाट भारतीय जनता पार्टी स्पष्ट बहुमत पाएको थियो।

मतगणना सुरुभन्दा पहिला नयाँ दिल्ली लोकसभा सिटमा कांग्रेस उम्मेदवार अजय माकनले आफ्नो विजय निश्चित रहेको दाबी गरेका छन्। उनले ट्विट गर्दै भनेका छन्, ‘चुनाब नतिजा निश्चित रुपमा कांग्रेसको पक्षमा हुनेछ। मलाई विश्वास छ कांग्रेसले जित्नेछ र सरकार बनाउनेछ। राहुल गान्धी प्रधानमन्त्री हुनेछन्।’

यो चुनावलाई भारतीय प्रधानमन्त्री मोदीको पाँच वर्षे कार्यकालमा जनमतसंग्रहका हेरिएको छ। २०१४ मा स्पष्ट बहुमतका साथ सत्तामा पुगेका भारतीय जनता पार्टीले हिन्दी हर्टल्यान्डमा आफ्नो बर्चश्व कायम राख्न सक्छ वा सक्दैन भनेर चासोका साथ हेरिएको छ। मोदीले पुनः बहुमतका साथ सत्तामा पुग्ने दावी गरेका छन्। यसपटकका चुनावमा मोदी विरुद्ध क्षेत्रीय दल र विपक्षी कांग्रेसबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। 

उत्तर प्रदेश, महाराष्ट्र, आन्ध्र प्रदेश, पश्चिम बंगाल, बिहारजस्ता धेरै स्थान भएका राज्यहरुबाट आउने चुनावी परिणामले केन्द्रमा कसको सरकार बन्छ निर्धारण गर्नेछ । सबैभन्दा बढी ८० स्थान भएको उत्तर प्रदेशमा भाजपा र क्षेत्रीय दलहरुको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा छ।