बाँके : अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बुधबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र (इद) पर्व मनाइरहेका छन्। खुसीपूर्वक दान गरेर दिनदुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन मंगलबार बेलुकी चन्द्रमा देखिएपछि आज इद उल फित्र मनाउन लागिएको जामा मस्जिद इदगाह सञ्चालक समिति नेपालगन्जले जनाएको छ। नेपालगन्जलगायत आसपासका मुस्लिम धर्मावलम्वीले नेपालगन्जस्थित जामा मस्जिदमा आएर सामुहिक नमाज पढेका छन्।
नमाजमा १० हजारको हाराहारीमा इस्लाम धर्मावलम्वी सहभाागी भएको मुस्लिम अगुवा मोहम्मद हारुन हलवाईले बताए। उनले अघिल्लो वर्षको भन्दा यस वर्ष नमाज पढ्नेको संख्या थपिएको बताए। उनले यस वर्ष झण्डै थप दुई हजारजना सामूहिक नमाजमा सहभागी भएको बताए। सामूहिक नमाजपछि इस्लाम धर्मावलम्वीले गला मिलाएर एक आपसमा शुभकामना आदानप्रदान गरे। शुभकामना आदानप्रदान गर्न हिन्दू धर्मावलम्वीका साथै राजनीतिक दलका नेता, कार्यकर्ता जामा मस्जिद पुगेका थिए। संघीय सरकारका सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई पनि जामा मस्जिदमा आएर सामूहिक नमाजमा सहभागी भए। इस्लाम धर्मावलम्वीलाई शुभकामना दिन प्रदेश सांसद सुरेन्द्रबहादुर हमाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलगायत जामा मस्जिद पुगेका थिए।
दीनदुःखीलाई दान दिने परम्परा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यसबराबर चालू बजार भाउ अनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ। ‘यसलाई जकात भनिन्छ,’ मुस्लिम धर्म गूरु जियाउज मुस्तफा नुरानीले भने । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ। यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइने गरेको उनले बताए।
इद उल फित्रको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ। हातमुख (ओजु) धोएर फजर नमाज पढिन्छ। स्नान गरेर नयाँ कपडा पहिरिई मस्जिद, इदगाह (खुला ठाउँ) मा गएर विशेष नमाज पढिन्छ । मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक बकर इद र इद उल फित्रमा विशेष नमाज पढ्ने गरेको नुरानीको भनाइ छ।


