काठमाडाैं,१९कर्तिक । सरकारले कक्षा १२ काे परीक्षा अनलाइबाट दिन पनि मिल्नेगरी व्यवस्थापन गर्ने भएकाे छ । काेराेना महामारीबीच कक्षा १२ काे परीक्षा मंसिर ९ गतेदेखि सुरू हुँदै छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमका बेला परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन परीक्षा दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएकाे हाे ।

मन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा बाेलाएर विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सामेल गराउन निर्देशन दिनुभएकाे ।

मन्त्री पोखरेलले विद्यार्थीलाई इन्टरनेटमा समस्या भए सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिने व्यवस्था गर्न पनि निर्देशन दिनुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ । छलफलमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई थप प्रभावकारी बनाउने पनि निर्णय भएको छ ।

छलफलमा मन्त्रालयका सचिव गोपीनाथ मैनाली, बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र मन्त्रालयका सहसचिव दीपक शर्मा सहभागी हुनुहुन्थ्याे ।

काेराेना जाेखिमलाई ध्यान दिँदै याे वर्ष शनिबार समेत परीक्षा सञ्चालन गरेर मंसिर १६ सम्म सबै विषयको परीक्षा सम्पन्न हुनेगरी बाेर्डले कात्तिक ५ गते नै तालिका सार्वजनिक गरिसकेको छ ।

तालिका अनुसार परीक्षा बिहान ८ बजे सुरु भएर साढे ९ बजे सकिनेछ । बोर्डले ४० प्रतिशतको मात्रै परीक्षा सञ्चालन गर्न लागेको हो । ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने बाेर्डले जनाएकाे छ ।

काेराेना संक्रमित विद्यार्थीलाई परीक्षामा सहभागी नहुन बाेर्डले अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले बताइसकेकाे छ ।