बाँके । मानिस विश्वासमा कतिसम्म अन्धो हुन्छ भन्ने एक घटना बाहिर आएको छ । नागमणिले जीवनमा नसोचेको चमत्कार ल्याउँछ भन्ने विश्वासमा पर्दा अहिलेसम्मकै ठूलो रकम ठगिएको छ ।
नागमणि दिने भन्दै विभिन्न प्रलोभनमा पारी १ करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी उजुरी आएपछि प्रहरीले यो घटनालाई थप उजागर गरेको छ । ठगी गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेपछि यसमा केही कुरा थप खुलेको हो ।
पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका–४ घर भएका ३५ वर्षीय धन बहादुर रोका, सल्यान कुमाख गाउँपालिका–५ घर भएका ३१ वर्षीय कृष्ण शाह र सल्यान शारदा नगरपालिका–९ घर भएका ३० वर्षीय डिल्ली बहादुर बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई ठगी गरेको ४० लाख रुपैयाँ सहित नेपालगञ्ज उपमहानगरपालिका–१ बाट पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा उनीहरूले दाङ घोराही उपमहानगरपालिका–१७ बस्ने माधव प्रसाद घिमिरेलाई हामीसँग बहुमुल्य नागमणि छ, उक्त नागमणि आफुसाथ राख्दा यसको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुन्छ, घरमा लक्ष्मीको बास हुन्छ ।
परिवारका सदस्यको आयु लामो हुन्छ, घर परिवारमा सुःखशान्ति, सम्बृद्धि हुन्छ भनि ललाई फकाई प्रलोभनमा पारी उक्त रकम ठगी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यति ठूलो रकम दिन यी व्यक्ति कसरी तयार भए प्रहरी समेत चकित बनेको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।




















