वि.स. २०१८ साउन ११ गते धनकुटा को मौनाबुधुकमा पिता हस्तबहादुर खुलाल र माता डम्बरकुमारी खुलालको कोखबाट जन्मनुभएका १ जीवन सँगिनीसहित १ छोरा र २ छोरीका असल अभिभावक वि.स. २०४५ सालमा बी.कम. उत्तीर्ण गर्नुभएका फणिन्द्र खुलालले जवानीका ३३ वर्ष नेपाल टेलिकममा सेवा गरेर बिताउनुभयो । तर त्यही जागिरेकालमा उहाँले नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित ‘अप्रत्यासित’, ‘गेलाद्र्धभित्र’ र ‘सडकमा छटपटाइरहेको वर्तमान’, ‘अब के गर्ने’, ‘हामी’ लगायत दर्जनौँ मञ्च तथा रडियोनाटकहरूमा अभिनय गर्ने सुवर्ण अवसरको भरपूर सदुपयोग पनि गर्नुभयो । उहाँ अहिले बेलबारी नगरपालिका वडा नं. १, भेडाहामा स्थायी बसोबास गर्दै आउनु भेकों छ । बेलबारीका धेरै अगुवाहरूलाई उहाँ एक सिर्जनशील व्यक्तित्व पनि हो भनेर थाहा नहुन सक्छ । त्यसर्थ चिनारीका लागि संक्षिप्त गफगाफ गरिएको अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईँ कर्मचारी, कसरी नाटकतिर आकर्षित हुनुभयो ?
नोकरीकै सिलसिलामा वि.स. २०४७ मा सरुवा भई धनकुटा पुगेँ । त्यहाँ मेरा पूर्वपरिचित मित्र तथा सहकर्मी नाटक–निर्देशक तथा अभिनेता राजकुमार राई (हाल स्वर्गीय) सँग भेट भयो र उहाँकै सङ्गतले म नाटकमा तानिएँ ।

00-768x607

 नाट्यअभिनय भनेको के हो ?
मेरो विचारमा, कथामा भएका पात्रहरूले कथावस्तुको आसयलाई शारीरिक हाउभाउ, बोलीबचन, मृखाकृति आदिबाट दर्शकहरूमाझ प्रत्यक्ष प्रदर्शन गर्नु नै नाट्यअभिनय हो ।

 नाटक गर्दाका कुनै अनुभवहरू भनिदिनुहोस् न ।
२०५०–२०५१ सालतिर ‘हामी’ भन्ने नाटक प्रदर्शनका लागि पूर्वाभ्यास गर्न जानु पनि लुकीलुकी जानुपथ्र्यो किनकि त्यो बेला नाटकको खासै महत्त्व मानिँदैन थियो । केही मानिसहरूले त नाट्यकर्मीहरूलाई नौटङ्कीवालाहरू भनेर खिसी गर्थे । नाटक गर्नु कुनै आर्थिक लाभ थिएन । तर मञ्चनाटकबाट खारिएका कलाकारहरू नै अहिलेका चलचित्रहरूमा अब्बल दर्जामा स्थापित भएका छन् । अभिनयको आधारशिला नै मञ्चनाटक हो जस्तो लाग्छ । त्यो बेला लजाउँदै, डराउँदै, लुक्दै नाटककर्म गर्नु नै मेरा लागि मिठो सम्झना भएको छ ।

2345-Copy (1)

 बेलबारीजस्तो सहरोन्मुख नगरमा नाटकको विकास कसरी गर्न सकिन्छ ?
बेलबारीमा पनि यदाकदा नाटक मञ्चन भएको सुन्छु । हाल स्वदेशी तथा विदेशी चलचित्रहरू, सामाजिक सञ्जालहरू र युट्युब आदिका कारणले सिङ्गो नाट्यक्षेत्रमा खिया लागेको अनुभूति भएको छ । तैपनि केही सन्देशमूलक र जानकारीमूलक छोटा मञ्च तथा सडकनाटकहरूको सम्भावना अझै पनि जीवितै छ । सबैको साझा पहलमा बेलबारीमा अझै पनि नाटकलाई अगाडि बढाउन सकिन्छ ।

 यहाँका आगामी योजनाहरू के छन् ?
हाल नाटकसम्बन्धी मेरा कुनै योजनाहरू छैनन् । नाट्यकलाकार र नाट्यसमूहसँग भेट भएमा, सङ्गठित हुँदै अगाडि बढ्न सकिन्छ ।

 तपाईँले रेडियोनाटक पनि गर्नुभयो । कस्तो हो रेडियोनाटक ?
हो, मैले रेडियोनाटकमा पनि अभिनय गरेँ । रेडियो नेपालको पूर्वाञ्चल क्षेत्रीय प्रशारण केन्द्र, धनकुटाबाट प्रशारित १५–१६ ओटा नाटकहरूमा स्वर दिएको छु । रेडियोनाटक भनेको कथावस्तुअनुसार आवाजका विभिन्न तरिकाहरू रेकर्ड गरेर सङ्गीतका विभिन्न मिल्दो धुनहरू मिश्रण गरेर रेडियोतरङ्गद्वारा नै श्रोताहरूबिचमा प्रशारित गर्नु हो ।

137

 रेडियोनाटक र मञ्चनाटकमा के भिन्नता हुन्छ ?
रेडियोनाटक भनेको मञ्चनाटकभन्दा धेरै सरल र सहज अभिनय विधा हो, झन्डै चलचित्रको स्वरडबिङजस्तै, दसौँ पटक रि–टेक गरेर पनि आवाजलाई रेकर्ड गर्न सकिन्छ । तर मञ्चनाटक भनेको दर्शकहरूका सामु प्रत्यक्ष अभिनय–प्रस्तुती हो, जे गर्न सकियो, जति गर्न सकियो, उति नै राम्रो हुने हो । यसले कलाकारलाई खार्दछ । त्यसैले गर्दा अहिले प्रज्ञाप्रतिष्ठानका कलाकारहरू नै वरिष्ठ कलाकारका रूपमा गनिन्छन् ।

अन्तमा तपाइको केहि कुरा छुटेको छ कि ?
खासै त्यस्तो केहि छैन । सर्बप्रथम अनलाइन सगरमाथा मिडियालाई धन्यबाद दिन छ किन मेरो र मैले गरीको कलाकारीता गरेको बारेमा चर्चामा ल्याइदिनुभएकोमा ।

( निगुरोबाट साभार)