भूमिप्रसाद पाठक,
पथरी,२२ कार्तिक । मोरङको पूर्वोत्तरका बेलबारी, पथरीलगायत केही क्षेत्रमा यतिबेला गत १८ गते राष्ट्रिय राजमार्ग खण्डमा मृतक अवस्थामा फेला परेको हरिणको विषयलाई लिएर स्थानीय पत्रपत्रिका र सामाजिक सञ्जालको प्रयोगमार्फत निराधार घटनाको तथ्य–सत्यहीन आधार खोज्ने प्रयत्न भएको छ ।
गएको १८ गते मध्यान्हतिर कानेपोखरी गापा वडा नं. ७ जंगलबाट ईलाका प्रहरी कार्यालय पथरीमा बुझाउन भनि आफ्नो जीपमा राखेर पथरी लाँदै गरेको मृत हरिणसहित स्थानीय एकजना व्यावसायिक व्यक्ति शम्भु बुढाथोकीलाई पुलिसले पक्राउ गरेर वन सव–डिभिजन कार्यालय कानेपोखरीमा दाखिला गरेको छ ।
पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग खण्डअन्तर्गत कानेपोखरी गापा वडा नं.–७ स्थित छधारे पूर्वबाट पथरी शनिश्चरे नपा वडा नं. १ बस्ने बुढाथोकीलाई निज सवार प्रदेश १–०२००२ च ३७०० नम्बरको महेन्द्रा कम्पनीको कालो जिपमा राखेर ल्याएका थिए ।
इटहरीतर्फ जाँदै गरेका बुढाथोकी सडकमा मृतअवस्थामा देखिएको हरिणलाई लिएर यसको उद्धार गर्न घरपायक रहेको ईप्रकातर्फ वापस आउँदै गरेका बेला केही सुराकीका आधारमा निजलाई लगभग ३०–३२ केजीको पोथी हरिण सहित मध्यान्ह १ बजे पक्राउ गरिएको हो ।
मृत हरिण लिएर ईलाका प्रहरी कार्यालय परिसर, पथरीमा उपलब्ध स्थानीय वन कार्यालय प्रमुख तुलसीराम यादव, स्थानीय सरकार प्रमुख दीलिपकुमार राईं, स्थानीय भद्रभलाद्मी सहितको उपस्थितिमा एउटा मुचुल्का बनाएर ४ बजेअघि नै वन सव–डिभिजन कार्यालय कानेपोखरी बुझाएको प्रहरी नायव उपरीक्षक दीपिलकुमार गिरीले बताए ।
संवादको क्रममा दोषी देखिएका बुढाथोकीलाई वन सव–डिभिजनको कार्यालयलाई बुझाएकोले मृतक हरिणसहित शम्भु बुढाथोकीलाई हिरासतमा लिइएको विषयबारे थप जानकारी सम्बन्धित वन कार्यालयबाट प्राप्त गर्न प्रहरी नायव उपरीक्षक गिरीले भने ।
पक्राउ गरिएको जिप भने ईप्रका पथरीको परिसरमै राखिएको छ । यसबारे सुक्ष्म अध्ययन अनुसन्धान गरी कारबाहीको लागि प्रक्रिया अघि बढेकोले बुढाथोकीलाई सव–डिभिजन कार्यालय बेलबारीको हिरासतमा राखिएको सव–डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख तुलसीदास यादवले बताए । घटना ठूलो होइन, यसलाई रहस्यमय बनाइयो । यसबारे कार्यालयले आवश्यक काजजात पठाएको छ ।
अदालत गइसकेको हुनाले अदालतको फैसला स्वीकार्यताको विकल्प नरहेको उनले थपे । कार्यालय प्रमुख यादवका अनुसार घटनाको प्रकृति सामान्यमात्र भएको भए पनि वन ऐन व्यवस्थापनअनुसार बुढाथोकीलाई वन्यजन्तु चोरी शिकारीअन्तर्गत मुद्दा चल्ने चलाउने तयारी रहेको बताए ।
यद्यपि, कानेपोखरी चोकदेखि पूर्व राजमार्गमा सवारीसाधनको ठक्करबाट उक्त हरिणको मृत्यु भएपछि मृतक हरिणलाई इटहरीतर्फ जाँदै गरेका जिप चालक बुढाथोकीले उठाएर ईप्रकातर्फ लगेको हुन सक्ने बताए । कार्यालय प्रमुख यादवका अनुसार यसबारे सत्य–तथ्य के हो भन्ने विषयमा स्थानीय साक्षी सम्मिलित व्यक्तित्वको उपस्थितिमा अनुसन्धान भइरहेको छ ।




















