योगेश राजभण्डारी

सन् १८६४ को सेप्टेम्वर महिनाको अन्तिम हप्ताको कुरा हो | अन्तर्राष्ट्रिय श्रमिक संघ अर्थात पहिलो इन्टरनेसनलको अधिवेशन लन्डनमा चलि रहेको थियो | मार्क्सलाई सभापतिको निम्ति प्रस्ताव गरियो तर उनले आफु कुनै हालतमा सो जिम्मेवारी लिन न सक्ने भन्दै जर्ज ओड्गरलाई उक्त पदको निम्ति प्रस्तावित गरे |

केही प्रतिनिधिहरुलाई तैपनि चित्त नबुझेर मार्क्स कै पक्षमा मतदान गरे | ओड्गर आफै भने मोची थिए | त्यहीं अधिवेशनमा एङ्गेल्सलाई कोषाध्यक्षको जिम्मेवारी लिन प्रस्ताव गरियो | एंगेल्सले आर्थिक फाँटको जिम्मेवारी श्रमजीवी पृष्ठभुमिबाट आएकै व्यक्तिलाई दिनु पर्छ भनेर मानेनन् | इन्टरनेसनलमा मार्क्सको वैचारिक नेतृत्व भने सर्वाधिक रही रह्यो |


संघ स्थापना भएको ४ वर्ष पछि सन् १८६८मा मिखाइल बाकुनिन संघमा सामेल भए | उनि राज्यको औचित्यलाई ठाडै अस्वीकार गर्थे र त्यसको ठाउँमा सहकारी संस्थाले लिनु पर्दछ भन्थे | मार्क्स श्रमजीवी वर्गले सत्ता आफ्नो हातमा लिए पछि पनि एक चरणसम्म राज्यको औचित्य हुने र त्यस पछि मात्रै क्रमिक विलोप हुन्छ भन्ने मान्यता राख्दथे |

बाकुनिनले इन्टरनेसन भित्र छुट्टै गुट बनाका थिए र उनि त्यसको अधिपति (dictator) बन्न चाहन्थे | ४ वर्ष पछि संघमा भाँडभैलो मचाएको र नेतृत्व हत्याउन हर्कत गरेको आरोपमा उनलाई निस्कासन गरियो |