नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरेका हुन्।
सम्झौतामा दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरु आदान प्रदान गर्ने सहमती भएको छ। साथै परियोजनाहरु पहिचान गरि संयुक्त कार्यसमूह बनाएर काम गर्ने समझदारी भएको छ।
समझदारीअनुसार उर्जा र वैकल्पिक उर्जाको साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख छ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले अष्ट्रियासँग मंगलबार भएको समझदारी ऐतिहासिक कोसेढुंगा भएको बताए।
हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पुनले १० वर्षमा १५ हजार जलविद्युत उत्पादन गर्ने नेपाल सरकारको लक्ष्य रहेको भन्दै त्यसका लागि आर्थिक लगानी र प्राविधिक सहयोग गरिदिन अष्ट्रियासँग आग्रह गरे।
मन्त्री पुनले नेपालमा लगानीका लागि अहिले राम्रो अवसर रहेको भन्दै नीजि अष्ट्रियाको क्षेत्रलाई पनि जलविद्युत परियोजनाहरूमा लगानीका लागि प्रेरित गरिदिन समकक्षी मन्त्रीलाई प्रस्ताव गरेका थिए।
अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले नेपाल सरकारका आयोजनाहरुमा सहयोग, लगानी र सहकार्य गर्न अष्ट्रिया सरकार ईच्छुक रहेको बताए। उनले नेपाल सरकारका आयोजनामा प्राविधिक र आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए।
‘जलविद्युत र वैकल्पिक उर्जाको क्षेत्रमा हाम्रो राम्रो र लामो अनुभव नेपालसँग साटन चाहन्छौं’, मन्त्री रेईचार्डटले हस्ताक्षर कार्यक्रममा भने।
मन्त्री पुनले वैकल्पिक उर्जा र जलविद्युतको क्षेत्रमा नीजि र सरकारी दुबै तहमा सहकार्य अघि बढाउने समझदारी भएको जनाए।
६० प्रतिशत उर्जा स्रोत जलविद्युत रहेको अष्ट्रिया जलविद्युत क्षेत्रको प्रविधिका लागि विश्व प्रसिद्ध छ। अष्ट्रियामा जलविद्युतको क्षेत्रमा काम गर्ने एन्ड्रिज लगायत विश्व प्रसिद्ध कम्पनी रहेका छन्।


