अक्टोबर क्रान्ति
भाग १

१९१७ अप्रिल ३ को राती दशक लामो आफ्नो निर्वासित जीवन त्याग्दै लेनिन रुसको पेट्रोगाड सहर फर्के । उनको स्वागत गर्न लालफन्डा बोकेका हजारौं श्रमिकहरु फिनल्यान्ड स्टेसनमा भेला भए । क्रान्तिकारी फौज र नौसेनाले गार्ड अफ अनर को व्यवस्था गरेको थियो । आफ्नो स्वागत गर्न भेला भएका जनसमूहबीच लेनिनले बोल्दै श्रमिक तथा नौसैनिकहरूलाई नयाँ सर्वहारा क्रान्ति र सोभियत सत्ता स्थापनाको लागि संघर्ष गर्न जोडदार आह्वान गरे ।

लेनिनले रुसको अस्थायी सरकारले पूँजीपति तथा बिर्तावालहरूको स्वार्थ रक्षार्थ काम गरिरहेको कुरा प्रस्ट पार्दै उसलाई असहयोग गर्न आमजनतालाई आह्वान गरे । साथै उनले ‘सम्पूर्ण सत्ता सोभियतहरूलाई’ भन्नेजस्ता नाराहरु अघि सारे । उनले स्पष्ट पार्दै सोभियत सत्ताले मात्र आमजनतालाई शान्ति, किसानहरूलाई जमिन, भोकाहरूलाई रोटी दिन सक्छ भने । उनले बिर्ताहरु बिना मुआब्जा जफत गरिनुपर्छ, देशको समस्त जमिनको राष्ट्रियकरण हुनुपर्छ र सम्पूर्ण कलकारखाना सामाजिक उत्पादन तथा वाणिज्य व्यवस्थामाथि मजदुर नियन्त्रण कायम गर्ने प्रस्ताव राखे ।

यसैबीच लेनिनले महाधिवेशन डाकेर पार्टीको नाम बदलेर बोल्सेभिकबाट कम्युनिस्ट पार्टी बनाए। केरेन्स्कीको अस्थायी सरकारले लेनिन र बोल्सेभिकहरुविरुद्ध घृणा तथा दुष्टतापूर्ण आरोपहरु लगाउन थाल्यो । उनीहरूले लेनिनलाई गिरफ्तार गर्न पुर्जी काटे । लेनिनले करिब साढे तीन महिना भूमिगत भएर काम गरे ।

सन् १९१७ मा लेनिनले भूमिगत अवस्थामा लेखेको कृति ‘राज्य र क्रान्ति’ प्रकाशित भयो । त्यस पुस्तकबाट लेनिनले राज्यसत्तामा सर्वहारा अधिनायकत्व किन आवश्यक छ र यसको ऐतिहासिक भूमिका के हो भन्ने कुरा खुलस्त पारे । यस पुस्तकमा उनले समाजवाद र साम्यवादलाई साम्यवादी समाजको दुई खुड्किलाको रूपमा व्याख्या गरे । उनले क्रान्तिमा कम्युनिष्ट पार्टीको भूमिकाबारे पनि महत्त्वपूर्ण विचार प्रकट गरेका थिए । जनता बिस्तारै बोल्सेभिकहरुतर्फ ढल्कन थाले । सोभियतहरूको पुनःनिर्वाचनमा बोल्सेभिकहरूले बहुमत पाए । उनीहरूले पेट्रोग्राड र मास्कोका सोभियतहरूमाथि आफ्नो वियन्त्रण कायम गरे । सोभियतहरूको प्रतिष्ठा बढ्यो र उनीहरू फेरि प्रमुख शक्तिको रूपमा देखा परे । लेनिनले विद्रोहको लागि विस्तृत योजना तयार गरे । लेनिनको नेतृत्वमा पार्टी केन्द्रीय समितिले विद्रोहको तयारी गर्दै देशभर सुनियोजित क्रियाकलाप सुरु गर्यो ।

२४ अक्टोवरको दिन बेलुकीपख आफ्नो जीवनलाई खतरामा पार्दै पेट्रोग्राडका ती सुनसान सडक हुँदै लेनिन स्मोलिन आए र विद्रोहको प्रत्यक्ष नेतृत्व गर्न थाले । भोलिपल्ट २५ अक्टोबरमा पेट्रोग्राडका टेलिफोन, टेलिग्राफ तथा रेडियो स्टेसनका कार्यालयहरु, नेभा नदीका पुलहरु, रेल स्टेसन र राजधानीका अन्य मुख्यमुख्य अड्डामाथि विद्रोही मजदुर, सिपाही र नौसैनिकहरूले कब्जा गरे । त्यस्तै क्रान्तिकारी सेनाले आकस्मिक प्रहारद्वारा अस्थायी सरकारका मन्त्रीहरु बसेको शिशिरप्रासाद कब्जा गरे । त्यसपछि कम्युनिष्ट पार्टीले फेब्रुअरी क्रान्तिपछि गठित अस्थायी सरकारलाई अपदस्थ गरेको घोषणा गर्यो । र, लगतै लेनिनको नेतृत्वमा रुसमा सर्वहारावर्गको पहिलो सरकार गठन भयो, जसले समाजवादी शासन प्रणालीको स्थापना र विकासको लागि सर्वहारावर्गको अधिनायकत्व भएको समाजवादी राज्यसत्ताको सुरुवात गर्यो । यो क्रान्ति नै अक्टोबर क्रान्तिको रूपमा विश्वप्रसिद्ध छ ।

समाजवादी क्रान्तिमा बलप्रयाेगकाे भूमिका

सन् १९१४ मा सुरु भएको साम्राज्यवादी शक्तिहरूबीचको प्रथम विश्वयुद्धमा रुसले पनि भाग लिएको थियो। युद्धको सवाललाई लिएर डाकिएको दोस्रो कम्युनिष्ट अन्तर्राष्ट्रियको बैठकमा लेनिनले साम्राज्यवादी युद्धलाई साथ दिन हुँदैन भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। युद्धले देशको अर्थतन्त्र जर्जर बनाएपछि साम्राज्यवादी सरकारहरूले त्यसलाई सभाल्न सक्दैनन्, जनता तीप्रति आक्रोशित बन्दछन् र त्यतिखेर तीमाथि आक्रमण गरेर कमजोर बनाउन सकिन्छ भन्ने उनको भनाइ थियो। लेनिनको उक्त प्रस्तावलाई अन्तर्राष्ट्रियको बैठकले पारित गरे पनि रुसको बोल्सेभिक पार्टी बाहेक अन्य कम्युनिष्ट पार्टीहरूले पितृभूमिको रक्षाको बहानामा आ–आफ्ना देशका साम्राज्यवादी शक्तिलाई साथ दिए।

रुसमा लेनिनले भनेअनुसार नै युद्धको अवधिमा त्यहाँको अर्थतन्त्र जर्जर हुन गई चरम गरीवी र अभाव सृजना भयो र सरकारले जनताका आवश्यकता पुरा गर्न नसक्दा सरकारविरुद्ध आन्दोलनको सूत्रपात भयो। लेनिनको नेतृत्वको दल बोल्सेभिक पार्टीले त्यस आन्दोलनलाई साथ दियो। जनताको प्रतिरोध थेग्न नसकी सन् १९१७ को फेब्रुअरीमा रुसमा लामो समयसम्म शासनसत्ता सञ्चालन गर्दै आएको जारको सामन्ती राजतन्त्रले घूँडा टेक्यो। तर आन्दोलनको सञ्चालन मजदूरहरूका सोभियतहरूले गरेका भए पनि तिनमा मेन्सेभिक र समाजवादी–क्रान्तिकारीहरूको प्रभाव भएकाले तिनले जारको ठाउँमा पूँजीपति वर्गलाई सत्तासीन गराए र केरेन्स्की सरकार प्रमुख बन्न पुग्यो। तर केरेन्स्कीको सरकारले ठूला पूँजीपति र जमिन्दारकै हितमा काम गर्‍यो, किसानलाई जमिनको मालिक बनाएन, बरु उल्टै युद्धलाई चालू गरी मुलुकमा आर्थिक सङ्कट कायमै राख्यो। परिणामस्वरूप जारको शासन कालमा झैँ पूँजीपति वर्गको शासन कालमा पनि जनता भोक र गरीबीले प्रताडित हुन पुगे र देशमा सरकारविरुद्ध चर्को असन्तोष बढेर गयो। जनताका पक्षधर हौँ भनी दावी गरे पनि सरकारलाई साथ दिएकाले मेन्सेभिक र समाजवादी–क्रान्तिकारीहरू नराम्ररी नाङ्गिए। त्यसै बीचमा लेनिनले शोषण र उत्पीडनबाट मुक्त हुनका लागि समाजवादी क्रान्ति आवश्यक छ भन्ने कुरालाई जोडतोडका साथ उठाए। त्यही दिशा अवलम्बन गर्दै बोल्सेभिक पार्टीले जनतालाई समाजवादी व्यवस्थाका बारेमा गहिरोगरी प्रशिक्षत गर्‍यो। जनता सचेत हुँदै गए र देशमा समाजवादी क्रान्तिको पक्षमा जनमत बढ्यो। परिस्थिति तयार भएपछि बोल्सेभिक पार्टीले विद्रोहको घोषणा गर्‍यो र शहरका ठाउँ ठाउँमा मजदूरहरूका सशस्त्र जत्था तयार गर्‍यो। केही समयको भीषण गृहयुद्धपछि अक्टोबर २५ तारिखका दिन केरेन्स्कीले आत्मसमर्पण गर्‍यो र बोल्सेभिक पार्टीको नेतृत्वमा रुसमा सर्वहारा वर्गको राजसत्ता कायम भयो । त्यो क्रान्ति विश्वमा ‘महान् अक्टोवर समाजवादी क्रान्ति’को नामबाट प्रख्यात छ। क्रान्तिपछि सर्वहारा वर्गले आफ्नै शासन संयन्त्र भएको व्यवस्थित राजसत्ता स्थापना गर्‍यो। हुन त सन् १८७२ मा फ्रान्समा पेरिसका मजदूरहरूले बुर्जुवाहरूबाट सत्ता खोसी ७२ दिनसम्म शासन चलाएका थिए। तर त्यो व्यवस्थित राजसत्ता हुन नसक्दा असफलतामा टुङ्गिएको थियो।

अक्टोवर क्रान्तिका विशेषताहरू

अक्टोवर क्रान्तिले शोषक वर्गको स्वर्गमा धावा बोलेर इतिहासमा निकै ठूलो हेरफेर ल्याउँदै नयाँ युगको सूत्रपात गर्‍यो। फ्रान्सको राज्यक्रान्ति लगायत त्यसभन्दा अगाडिका क्रान्तिहरूले शोषणको रूप मात्र फेरेका थिए। तिनले एउटा उत्पीडक वर्गको सत्तालाई विस्थापित गरी अर्को उत्पीडक वर्गलाई सत्तासीन गराएका थिए। तर अक्टोवर क्रान्तिले सामन्तवाद र त्यसका अवशेषहरूलाई सदाका लागि समाप्त गर्नुका साथै पूँजीवादलाई समेत निर्मूल पार्ने दिशातर्फ समाजलाई डोर्‍यायो। कम्युनिष्ट पार्टीको घोषणापत्र र थुप्रै रचनाहरूमा उल्लेख भएको वैज्ञानिक समाजवाद मार्क्स–एङ्गेल्सको परिकल्पना थियो अथवा भनौँ त्यो एक भविष्यवाणी थियो। अक्टोवर क्रान्तिले त्यसलाई व्यवहारमा कार्यान्वयन गरेर देखाइदियो। त्यसले सर्वहारा वर्गले केवल भत्काउन सक्छ, शासनसत्ता सञ्चालन गरी जनतालाई सुशासन दिन सक्दैन भन्ने पूँजीवादी प्रचारवाजीलाई झुटो सावित गरिदियो।

मार्क्स–एङ्गेल्सले बेलायतमा औद्योगिक क्रान्तिपछि विकास भएको प्रतिस्पर्धात्मक चरित्रको पूँजीवादको अध्ययनको आधारमा समाजवादी क्रान्तिबारे धारणा बनाएका थिए। उनीहरूले पूँजीको चरम विकास भएको ठाउँमा सर्वहारा श्रमजीवी वर्ग चरम शोषणको सिकार हुने भएकाले त्यसले विश्व क्रान्तिको नेतृत्व लिन्छ र त्यहाँ सवैभन्दा पहिले समाजवादी क्रान्ति हुन्छ भन्ने निस्कर्ष निकालेका थिए। मार्क्स–एङ्गेल्सको त्यही निस्कर्षलाई जडसूत्रका रूपमा समातेर रुसमा बोल्सेभिक पार्टीभित्रका एकथरी नेताहरूले रुसजस्तो पिछडिएको किसानहरूको बाहुल्य भएको र जनसङ्ख्याको ५% मात्र मजदूर भएको समाजमा समाजवादी क्रान्ति सम्भव छैन, त्यस्तो समाजमा पूँजीको विकास गर्नतर्फ नै ध्यान केन्द्रित गर्नुपर्दछ भन्ने विचार अघि सारे। लेनिनले समाजवादी क्रान्तिको आह्वान गर्दा तिनीहरूले केरेन्सीको सरकार नढाली त्यसलाई सहयोग गर्नुपर्दछ भन्ने विचार व्यक्त गरे। तर अक्टोवर क्रान्तिले समाजवादी क्रान्तिका लागि पूँजीको विकास नै पूर्वसर्त होइन भन्ने लेनिनको भनाइलाई सत्य सावित गरिदियो। यदि साम्राज्यवाद सङ्कटमा फँसेको छ र जनता सचेत छन् भने पूँजी र प्रविधि कमजोर भएको देशमा पनि समाजवादी क्रान्ति सम्पन्न गर्न सम्भव छ भन्ने लेनिनको निस्कर्षलाई त्यसले व्यवहारमा लागु गरी देखाइदियो।

मार्क्सवादी विश्लेषणअनुसार संस्कृति, राजनीति, दर्शन आदि सबैको जग आर्थिक संरचना हो। एक निश्चित प्रकारको आर्थिक संरचनामा परिवर्तन भएपछि सर्वप्रथम नयाँ समाजको संरचनाअनुसारको राजनीतिक व्यवस्थाको जन्म हुन्छ र त्यस राजनीतिक व्यवस्थाले आफूअनुकूलको दर्शन, संस्कृति, नैतिकता आदिको स्थापना गर्दछ। यदि त्यस आर्थिक ढाँचा फेरि अर्को आर्थिक ढाँचामा बदलियो भने राजनीति, संस्कृतिलगायत विभिन्न क्षेत्रको संरचनामा पनि परिवर्तन आउँछ, अर्थात् संस्कृतिलाई अर्थव्यवस्थाले जन्माउँछ। मार्क्सवादको उक्त विश्लेषण सही नै हो। तर मार्क्सवादले के पनि बताउँछ भने अन्तर्विरोधको नियममा सधैँ एउटा पक्ष मात्र प्रधान हुँदैन। कुनै समयमा प्रधान भएको पक्ष गौण र गौण भएको पक्ष प्रधानमा बदलिन सक्छ। सधैँ विचार र संस्कृतिलाई आर्थिक पक्षले मात्र निर्देशन गर्छ भन्ने हुँदैन, विचार र संस्कृतिले पनि आर्थिक आधारमा हेरफेर ल्याउनका लागि भूमिका खेल्छ। मार्क्सवादी द्वन्द्ववादको त्यस सवाललाई पनि अक्टोवर क्रान्तिले प्रमाणित गरी देखाइदिएको छ। रुसमा समाजवादका लागि आर्थिक आधार तयार नभए पनि जनताको अग्रिम चेतनाका कारण पूँजीको विकासमा अघि बढेका बेलायत, फ्रान्स र जर्मनी जस्ता देशहरूमा समाजवादी क्रान्ति नभई तीभन्दा अविकसित देश रुसमा हुन गयो।

पेरिस कम्युनको अवधिमा पूँजीवादीहरूले किसानहरूलाई सर्वहारा वर्गको विरोधमा उभ्याएका थिए। उनीहरूले किसानलाई के भनी भड्काएका थिए भने सर्वहारा क्रान्तिले पूँजीवादी सम्पत्तिमाथि हमला गर्नुको मतलव किसानको सम्पत्तिमाथि पनि हमला गर्नु हो। किसानहरू उत्पीडित अवस्थामा भएपनि उनीहरूमा निजी सम्पत्तिप्रति मोह हुन्छ। त्यही मनोविज्ञान बुझेपछि लेनिनले समाजवादी क्रान्तिको दौडानमा किसानलाई भूमिको मालिक बनाउने नीति अघि सार्दै तिनीहरूलाई समाजवादी क्रान्तिको समर्थनमा उतारे। अक्टोवर क्रान्तिले किसानलाई जमिन्दारी शोषणबाट मुक्त गरी सर्वहारा वर्गको सहयोगी शक्तिका रूपमा विकास गर्‍यो। समाजवादी क्रान्तिका थुप्रै कार्यभारहरू मजदूर–किसान एकतामा अघि बढाइए। त्यसरी क्रान्तिमा किसानलाई सर्वहारा वर्गको सहयोगीका रूपमा विकास गर्नु अक्टोवर क्रान्तिको महत्वपूर्ण उपलब्धी थियो। एक किसिमले भन्ने हो भने अक्टोवर क्रान्ति पेरिस कम्युनको प्रयत्नको सफलीभूत रूप थियो। त्यसले एउटा क्रान्ति अर्कोमा विकसित हुन्छ भन्ने तथ्यलाई प्रमाणित गरेर देखाइदियो।

अक्टोवर क्रान्तिको विश्वव्यापी प्रभाव

अक्टोवर क्रान्तिले केवल सोभियत सङ्घका जनताको जीवनमा कायापलट ल्याएन, त्यो एउटा साँघुरो घेरामा मात्र सीमित भएन, एउटा देशमा क्रान्ति सम्पन्न गरेर त्यसले त्यहाँको सत्तामा परिवर्तन ल्याए पनि विश्वस्तरमा नै विचार र चेतनाको छाल उत्पन्न गर्‍यो। उत्पीडत वर्ग सधैँभरि शासित हुने हो र धनमानी वर्गले सदैव शासन गर्ने हो भन्ने जनतामा रहेको परम्परागत सोचाइमा त्यसले आमूल परिवर्तन ल्याइदियो। त्यसले जनतालाई के चेतना दियो भने शोषित भएको त आपसमा छिरलिएर र एक आपसमा विभाजित भएर पो रहेछ। वास्तवमा अक्टोवर क्रान्तिको शिक्षाबाट विश्वका जनताले पुरानो समाजको विचार, संस्कार, आनीबानी आदिलाई परित्याग गर्न र नयाँ संस्कृतिको निर्माण गर्न सिके। अति नै पिछडिएका समाजमा पनि अक्टोवर क्रान्तिको छाल फैलिन गयो। त्यसको वैचारिक प्रभावबाट पूर्वी यूरोपका धेरै देशमा समाजवाद आयो। चीन, कोरिया, भियतनाम, मङ्गोलिया आदि एशियाली देशहरूमा एकपछि अर्को गरी कम्युनिष्ट सत्ताहरू स्थापित भए। कतिपय देशहरूमा सामन्तवाद, पूँजीवाद र साम्राज्यवाद विरुद्धका आन्दोलनहरू सञ्चालित हुन थाले। हेर्दाहेर्दै विश्वको दुई तिहाइ भूभाग समाजवादको प्रभावमा गयो। उपनिवेशहरूमा पनि साम्राज्यवाद विरोधी स्वतन्त्रता सङ्ग्रामहरूको थालनी भयो। साम्राज्यवाद धेरै औपनिवेसिक देशबाट लखेटियो र पूँजी निर्यात गर्न नपाएपछि त्यसको अर्थतन्त्र धरापमा पर्‍यो। समाजवादको वैचारिक प्रभाव विस्तारित हुँदा पूँजीवाद रक्षात्मक अवस्थामा खुम्चन बाध्य भयो र त्यसलाई जोगाउन किन्सवादी अर्थशास्त्रीहरू समाजवादकै सिको गर्दै उदारवाद र बजार अर्थतन्त्रका विरुद्ध उभिन गई सरकारी हस्तक्षेप गुहार्न पुगे।

अक्टोबर क्रान्तिको औचित्य

आज अक्टोवर समाजवादी क्रान्ति दिवस मनाइरहँदा हामीले त्यसको उत्थानमा टेकेर दिवस मनाउन पाएका छैनौँ। हामी फगत गौरवशाली इतिहासको स्मृतिमा कार्यक्रम गरिरहेछौँ। समाजवादी विचारको खोल ओढेका पुनरुत्थानवादीहरूले अक्टोवर क्रान्तिको उपलब्धीलाई लेनिनकै देशमा समाप्त पारिदिएका छन् र त्यहाँ पूँजीवादलाई फिर्ता ल्याएका छन्। त्यस घटनालाई लिएर कतिपय समाजवादका विरोधीहरूले अक्टोवर क्रान्तिको सैद्धान्तिक मार्ग गलत भएकाले नै त्यसले स्थापित गरेको व्यवस्था ढल्न पुगेको हो भन्ने हौवा चलाएका छन्। तर दोष अक्टोवर क्रान्तिको होइन, दोष त्यसको मार्ग अनुसरण नगर्ने अवसरवादी समुहको हो जसका कारण आज क्रान्तिका उपलब्धीहरूलाई गुमाउनु परेको छ। मार्क्सले साम्यवाद प्राप्त नभएसम्म समाजवादी व्यवस्थामा सर्वहारा अधिनायकत्व कायम हुनुपर्छ भनेकै हुन्। तर स्टालीनको निधनपछि सत्ता सञ्चालकहरूमा सांस्कृतिक विचलन पैदा भयो र तिनीहरूले माक्र्सवादी नीति र आचरणको प्रतिकूल सर्वहारा अधिनायकत्वलाई सबै जनताको राजसत्तामा बदले। तिनले वर्ग सङ्घर्ष र दुई लाइनको सङ्घर्षलाई परित्याग गरी शान्तिपूर्ण सह–अस्तित्वको नारा दिएर र पूँजीवादी मार्ग अवलम्बन गर्नेहरूलाई पार्टी र राजसत्तामा रातो कार्पेट ओछ्याई भित्र्याए। त्यसपछि त्यहाँ कम्युनिष्ट पार्टीका सञ्चालक र राज्यका पदाधिकारीहरू जनताका प्रतिनिधि बनेनन् तिनका मालिक बने। तिनले राष्ट्रिय रूपमा शोषण र उत्पीडनकै संस्कृति फिर्ता गरे। अन्तर्राष्ट्रिय रूपमा तिनले कतिपय निम्छरा देशको सार्वभौमसत्तामाथि हस्तक्षेप गरे र अनावश्यक हतियारको होडबाजीमा राष्ट्रीय धन स्वाहा पारे। सत्ताको आडमा तिनले सामुहिक सम्पत्तिमाथि व्यक्तिगत आधिपत्य जमाए। भ्रष्ट नोकरशाहहरूले कालोधन सञ्चय गरी देशको सम्पत्ति बाहिर पुर्‍याए र देशमा सङ्कट सृजना गरे। परिणामस्वरूप याल्तसिन जस्ताले कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदा कसैले प्रतिरोध गरेनन् र त्यसको संरक्षण गर्न कोही अघि सरेनन्।

त्यस कटु यथार्थलाई ढाकछोप गर्दै पुँजीवादी बुद्धिजीवीहरूले अक्टोवर क्रान्ति गलत भएकाले नै त्यसका परिणामहरू असफलतामा टूङ्गिएका हुन् भनी निस्कर्ष निकालेका छन्। तर सोभियत सत्ताको बिघटन अक्टोवर क्रान्तिको पराजय होइन, त्यो माक्र्सवाद र लेनिनवादको असफलता होइन, त्यो त सिद्धान्तलाई व्यवहारमा उतार्न नसक्ने गलत संस्कार र संस्कृतिको परिणाम हो।

अक्टोवर क्रान्तिपछि रुसमा लागू भएको समाजवादी व्यवस्थाको अवसानपछि कतिपयले लेनिनवादका आधारभूत प्रस्थापनामाथि प्रश्न उठाएका छन् र क्रान्तिका लागि नयाँ व्याख्याको आवश्यकता छ भन्ने विचार अघि सारेका छन्। त्यस्तो चिन्तन हाम्रो देशमा पनि भित्रिएको छ। माओ र लेनिनका विचार र रचनाले हाम्रो समाज परिवर्तन गर्ने होइन, हामीले आफ्नो देश अनुकूल छुट्टै विचारको खोजी गर्नुपर्छ भन्ने धारणाहरू हामीकहाँ देखा परेका छन्। निश्चय नै समाजवादी क्रान्तिका लागि मार्क्सवाद–लेनिनवाद र माओवादलाई आफ्नै देशअनुकूल ढाल्ने हो। तर देशको ठोस परिस्थितिको ठोस व्याख्याको नाममा मार्क्सवाद, लेनिनवाद र माओवादका सारभूत सैद्धान्तिक सवालमा हेरफेर हुन सक्दैन।

वर्तमान युग लेनिनवाद र अक्टोवर क्रान्तिकै युग हो। साम्राज्यवादले भूमण्डलीकरणको आकार ग्रहण गरे पनि त्यसले केवल आफ्नो रूप परिवर्तन मात्र गरेको हो। बहुराष्ट्रिय निगमको आवरणमा साम्राज्यवादीहरूले अविकसित देशहरूमा व्यवधान खडा गर्नुका साथै आफ्नो देशका जनतालाई पनि बरबादीको हालतमा पुर्‍याएका छन्। तिनले गर्ने शोषण राष्ट्रिय होइन, वर्गीय नै हो। तिनले अन्य देशका जनतालाई मात्र होइन, आफ्नै देशका जनतालाई पनि विनाशतिर धकेली रहेका छन्। साम्राज्यवादी देशमा आन्तरिक वर्गसङ्घर्ष चर्कँदो अवस्थामा पुगेको छ। अब साम्राज्यवादविरुद्ध आफ्नै देशका श्रमजीवी र अन्य देशका श्रमजीवीच बलियो अन्तर्राष्ट्रिय मोर्चा बन्ने सम्भावना प्रबल भएर गएको छ। साथै साम्राज्यवादी शक्तिहरूले बहुराष्ट्रिय निगमको माध्यमबाट जतिसुकै मिलिजुली शोषण गरेपनि तीबीचको फाटो चर्कँँदै गएको छ। बाहिर अँगालो मारी हिँडे पनि नाफा बटूल्ने र पुँजी सङ्कलन गर्ने तीबीचको भित्री प्रतिस्पर्धा यथावत् नै छ । तिनीहरूको भूमण्डलीकरणको गति एकैनासको पनि छैन।

अहिलेसम्म अग्रपङ्तिमा अमेरिका नै रहेको छ। संसारमा ठूलठूला बहुराष्ट्रिय निगम सञ्चालन गर्ने देश त्यही हो। आफ्नो शक्ति विस्तार गर्न त्यसले सामरिक शक्तिको सहारा लिएको छ र विभिन्न देशमा फौजी अखडा राखेको छ। सत्तरीभन्दा बढी देशमा त्यसले सैनिक सञ्जाल फैलाएको छ र व्यापक मात्रामा सेना परिचालन गरेको छ। तर अमेरिकाको उक्त अवस्थामा विस्तारै परिवर्तन हुन थालेको छ। अमेरिकी साम्राज्यवादले आफ्नो पुँजीको लगानी उत्पादन क्षेत्रमा भन्दा वित्तीय क्षेत्रमा गर्न थालेकाले त्यसले दिनानुदिन घाटाको सामना गर्नुपरिरहेछ जब कि अन्य साम्राज्यवादी देशको पुँजीको लगानी बढी मात्रामा उत्पादन क्षेत्रमा भएकाले तिनको अथतन्त्र उकासिँदैछ। हिजो दम्भ प्रदर्शन गर्ने अमेरिका आज रक्षात्मक अवस्थामा पुग्दैछ। अमेरिकाको युरोपसँगको गठबन्धन खुकुलो हुँदै गएको छ। हिजो अमेरिकी ज्यादतिप्रति चूप्पी साँध्ने युरोपेली राष्ट्रहरू आजभोलि अमेरिकाको कटू आलोचक बनेका छन्। यहाँसम्म कि अमेरिकाको कट्टर हितैषी बेलायतका जनताहरू समेत अमेरिकाको विरोधमा उत्रिएका छन्।

अन्त्यमा

यतिखेर हाम्रो देशमा समाजवादका लागि आधार तयार गर्ने नारा दिइएको छ। तर समाजवाद शान्तिपूर्ण प्रतिस्पर्धाबाट हासिल हुने व्यवस्था होइन। संसदीय व्यवस्थाबाट समाजवाद हासिल गर्न नसकिने रहेछ भन्ने कुरा भारत, मध्यपूर्व लगायत ल्याटिन अमेरिकी देशहरूको अनुभवले सिद्ध गरेको छ। नेपाली सर्वहारा वर्गले साम्राज्यवादका आडमा शासन गर्ने नोकरशाह र दलाल पुँजीवादी व्यवस्थालाई बलपूर्वक सत्ताबाट हटाएर आफ्नै राज्य संयन्त्रको निर्माण गरेपछि मात्र समाजवादलाई लागु गर्न सकिन्छ। समाजवाद सशस्त्र समाजवादी क्रान्ति र सर्वहारा वर्गको अधिनायकत्वद्वारा स्थापित हुने व्यवस्था हो। सर्वहारा अधिनायकत्वले नै समाजवादको रक्षा र विकास गर्दछ। हामी हिँड्ने बाटो अक्टोवर समाजवादी क्रान्तिकै बाटो हो। हामीले सर्वहारा संस्कृतिलाई नै जनतामाझ प्रचार प्रसार गर्नुपर्दछ। अक्टोवर क्रान्तिको बाटोलाई अवलम्बन गर्ने भनेको विगतका विभिन्न देशका कम्युनिष्ट पार्टीहरूले अपनाएको मार्गलाई हुवहु नक्कल गरेर होइन, तिनका कमी कमजोरीहरू सच्याएर र आफ्नो अनुकूल सर्वहारा क्रान्तिको व्याख्या गरेर हो।

क्रमस :……