केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि नेताहरुले गृहकार्य गर्न नभ्याएको भन्दै नेकपा केन्द्रीय सचिवालयको बैठक असार पहिलो सातामात्र बस्ते गरी स्थगित भएको छ।

तीन दिनदेखि बसिरहेको बैठक विहीबार बिहान ९ बजेका लागि बोलाइएपनि बस्दै नबसी साढे ११ बजे स्थगित भएको हो।

निर्धारित समय भन्दा २ घण्टा ढिलो सारिएको बैठकका लागि सबै नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

तर, बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) आइपुगेनन्। उनीहरु झण्डै आधा घण्टा ढिलोगरी बैठककक्षमा प्रवेश गरे।

दुई घण्टा सारेर बोलाइएको बैठक अध्यक्षद्वयको आगमनपछि पनि बस्न सकेन। अध्यक्षद्वयले आफूहरुबीच तयारी नपुगेको भन्दै आजको बैठक स्थगित भएको जानकारी दिए।

ओली–प्रचण्डले केन्द्रीय सचिवालयमा रहेका नेताहरुलाई प्रधानमन्त्री ओलीको युरोप भ्रमण सकिएपछिमात्र बोलाइने जानकारी दिए।

यसको मतलव के हो भने, जेठ महिना सकिन झण्डै हप्ता बाँकी रहेपनि यस अवधिमा नेकपा सचिवालय बैठक बस्ने छैन।

प्रधानमन्त्री ओली २५ जेठमा युरोपेली मुलुकहरु बेलायत, फ्रान्स र स्वीट्जरल्याण्डको भ्रमणमा जाँदैछन्। उनी १ असारमा मात्र स्वदेश फर्कने कार्यक्रम छ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजनको विषय नेकपाका लागि निकै पेचिलो बनेको छ। ओली फर्केपछि यसका लागि गृहकार्य गर्नुपर्ने भएकाले उनी फर्कनासाथ बैठक बस्न सक्ने स्थिति छैन।

केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि मापदण्डका विषयमा नेकपा केन्द्रीय सचिवालयमा मतैक्यता छैन। मापदण्डका विषयमा अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपालबीच विवाद छ।

ओली सांसद र मन्त्री भएका केन्द्रीय सदस्यहरुलाई पनि जिल्ला ईञ्चार्ज र सहईञ्चार्जको जिम्मेवारी दिन चाहन्छन्, जसमा नेता नेपालको सहमति छैन।

यही विवादका कारण तीन दिन अघि सुरु भएको बैठक अनिर्णित हुँदै आएको छ।