पुरुषोत्तम पौडेल

मेरो आमा ८४ पुग्दै हुनु हुन्छ । निकै दिन पछि आमा संग भेट्न निजगढ पुगेको थिए । आमाले राजनितीक गुनासो गर्न थाल्नु भयो ।" ज्यान छोडेर पार्टी वनाऊन लाग्या थिस । कम्युनिष्ट पार्टीले चमत्कार गर्छ भन्थिस । साराका सारा गरिव गुरूवाको दुख हर्छ भन्थीस । हेर्दा हेर्दै तेरो पार्टी पो खत्तम हुनलाग्यो त वावु ? नेताहरू कुर्सीको अनन्त झगडामा मस्त हुन थाले "। आमा भन्दै जानु भयो " तेरो पार्टीलाई ईमान र विचारको नमुना मान्थीस । आज चारै तिर तेरो पार्टी प्रती गुनासो मात्र सुनिदै छ । विस्तारै सक्कीने मेसो तिर लाग्यो भन्छन । अव त आफैमा मारामार गर्न लागे । के दशा लागेको छ तिमीहरूको पार्टीलाई खोई ? यदु वंशिहरूको जस्तो आपसी झगडाले नै सकिने त होईनन " । आमाले गहिरो चिन्ता व्यक्त गर्नु भयो ।

" अस्ती सम्म आपसी सम्मान र समानताको आधारमा एकता गरेको भन्थे । यती चाडै 'तॅ फुच्चे, म ठुलो' भन्दै झगडा सुरू भयो । पोहोर त ठुलो जेट विमानका हामी डवल पाइलट हौ भनेर कुर्ली रहेका थिए । मिलेर प्लेन चलाऊछौ भन्दै डुक्री रहेका थिए । अहिले त प्लेनलाई वाटोमा अलपत्र छोडेर आरोप पत्र र फिराद पत्र तिर पो लागी रहेका छन । अझ एऊटा अध्यक्षले अर्का समान अध्यक्षलाई तिम्रो काम सकियो घर जाऊ भन्दै फिराद हालेको सुन्दै छु । यती कमजोर मानसिकता भएका नेताले किन एकता गरेका हुन । यस्ता स्वार्थीहरूले आफुलाई किन महान भएको धक्कु लगाउनु परेको हो । हरे शिव "। आमा हाई काड्न थाल्नु भयो ।

आमा कुरा गर्दा गर्दै सम्झाऊन थाल्नु भयो ।" समस्या भए सुल्झाऊदै जानु पर्छ । सवैलाई मिलाउँदै लानु पर्छ । ठुलो नेताले ठुलै छाती गर्नु पर्छ । उसको जीम्मेवारी पनि ठुलै हुन्छ । उसले सवैको कुरा सुन्नु पर्छ । सवैलाई माया प्रेम गर्नु पर्छ । शालीन र सहज हुनुपर्छ । मूलजरो नै झगडिया भए पछि सवै विग्री हाल्छ नी । एऊटा आगो भए अर्को पानी हुनु पर्छ । एऊटाले आरोप लगायो भन्दै अर्कोले आरोपको जवाफ झन ठुला आरोप लगाएर दिने होइन ? यस्तो तरिकाले पनि कहिल्यै समस्याको समाधान हुन्छ र ? कदापि हुदैन । अली ठन्डा दिमागले सोच्न सल्लाह दिन सक्दैनौ तिमी हरू ? आमा भावुक हुन थाल्नु भयो । मैले आमालाई सम्झाउन प्रयास गरे । तर दुखको कुरा आमा वेठिक भनिरहनु भएको थिएन ।

"आफु सवभन्दा ठुलो जीम्मेवारीमा वसेको छ । पार्टीको पनि एक नम्वर हु भनेको छ । देशको मुखिया जस्तो साझा कुर्सीमा विराजमान छ । जिम्मेवारीमा वस्नेले सरकार भित्र-बाहिर भएका सवैलाई चित्त वुझाएर अघि वढ्नु पर्ने हो । पार्टीमा भएका नेताहरूलाई पनि सन्तुलीत वनाएर विश्वासमा लीनु पर्ने हो । विपक्षी पार्टीका नेताहरूको पनि कुरा सुन्नु पर्ने हो । देशका पढेलेखेका वुध्दीजीवी समुदाय के भन्छन ? नागरिक समाज के भन्छ ? आम जन साधारणहरू के भनिरहेका छन । सवैका मनोभावना वुझ्नु पर्छ । राम्रा कामहरूलाई अघि वढाऊनु पर्छ, अनी पो राम्रो हुन्छ त । अरू कसैलाई मान्नु छैन, कसैलाई गन्नु छैन । आफै ठुलो, आफै जान्ने-सुन्ने भएको छ । अव कसरी हुन्छ लौ " ? कहिल्यै राजनीतिक गफ नगर्ने आमालाई नेकपा भित्रको अहिलेको विवादले चिमोटी रहेको रहेछ । आमाले मलाई पुरै निरुत्तर वनाएर पठाई दिनु भयो ।


हुन पनि हो । आजकल म आफैलाई वुझाऊन सकिरहेको छैन । मान्छेहरू हाम्रो समाजवादी पार्टीलाई पुजीवादी भन्न थालीरहेका छन । सामुहिक नेतृत्व र मार्क्सवादी विचार राख्ने पार्टीलाई व्यक्तीवादी पार्टीको रूपमा वुझ्न थालि सके । निस्वार्थ सेवाको पर्याय वनेको नेकपालाई गुटवादी चिन्तनले ग्रस्त पार्टी वनाऊन थालि सके । देश र जनताको सेवामा समर्पित पार्टी नेताहरू स्वार्थ र अहमवादमा निर्लिप्त हुन थाले । किसान मजदुरहरूको कुरा गरेर नथाक्ने कमरेडहरू आफैमा सिमीत हुन थाले । कार्यकर्ताहरूको संरक्षण गर्नु पर्ने नेताहरू केवल सेवकहरूको खोजीमा लाग्न थाले । आन्दोलनका घाइते र शहिद परिवार संग तर्केर भाग्न थाले । केवल आफुमा निहीत अहंकार र दम्भको प्रदर्शन गरेर पार्टीलाई नै भड्खारोमा हाल्न थालि सके । यस्तो छ आजको अवस्था ।

भनिन्छ ज्यान नभएको मान्छे , ईन्जीन नचल्ने गाडी , गती नभएको संगठन काम लाग्दैन । आज पार्टीमा चलिरहेको कुर्सि ताना-तान र छिर्के हाना-हानले पार्टीको ज्यान हराएको छ । पार्टीको सचिवालयको अनन्त विवादले पार्टी चल्न सकिरहेको छैन । वैठकमा प्रस्तुत प्रस्तावको जवाफमा आएको 'शालीन' तर संसदीय अभ्यासको झल्को दिने प्रश्नहरू को पेटारोले समस्या अरू बल्झाउने निस्चीत देखिन्छ । पार्टीको सचिवालय भाषणहरूको संग्रह, गफहरूको पुलिन्दा, अनि ओठे जवाफको भारीले लाजको पसारो भएर प्रकट हुदैछ । त्यो एकले अर्कालाई नाङ्गै वनाउने खेलमा आकर्षित भएको देखिन्छ । यो सवै अवस्था केही नेताहरूमा निहीत जीम्मेवारीताको अभाव र थोरै पनि जवाफदेहीता नलिने चरित्रले ल्याएको हो ।

हेरौन ! एक थरीको प्रस्तावलाई आरोप पत्र भनियो । अर्काको प्रस्तावलाई आरोप पत्र भन्नेले आरोप पत्रको जवाफ झन दरो प्रती आरोप पत्र लिएर आयो । धेरैले प्रती आरोप पत्रलाई अदालती फिरादपत्रको संज्ञा पनि दिएका छन । वडो दुख को कुरा छ । कम्युनिष्ट पार्टीको ७० वर्ष लामो इतिहासमा हामीले कस्तो संस्कार सिकेर आएछौ । अनी कस्तो संस्कार वसाऊन जादैछौ । कस्तो खालको संस्कृती निर्माण गर्न खोजेका रहेछौ । आज कस्तो खाले संस्कृती वनाई रहेका छौ । सचिवालयको वैठकमा आएका लिखित सवाल-जवाफलाई हेर्दा फुर्सदमा गरिने व्यङ्ग्यात्मक गफ जस्ता लाग्दैछन । देशका मुखियाले अघि सारेको जवाफ पनि फुर्सदमा वसेर मन माझामाझ गर्ने कुरा भन्दा फरक देखीएन । अझ पार्टी एकता भन्दा पहिलेका अनावश्यक गन्थन मन्थन ल्याएर अहिले छेडछाड मात्र भएको छ । अहिले पार्टीमा छेडखानी होईन विधीवत समाधान चाहिएको छ ।

यती लामो वहस चल्दा पार्टी एकता के कारणले भयो । अव त्यसको आवस्यकता छ कि छैन ? आवस्यकता भए कसरी व्यवस्थीत गर्ने हो । ३८ पेज लामो फिरादमा पनि आएको भेटीएन । वरू एक्लै हिडेर एकता जोगाऊन भूमिका खेलेको कुरा आयो । स्थायी कमिटीको निर्णय कार्यान्वयनको लागी किन वैठक वसेन । पटक पटक वैठकको माग गर्दा समेत किन वैठकलाई इन्कार गरियो ? वैठक वस्नको लागी पाच पाच जनाले निवेदन हाल्नु पर्ने अवस्था कसरी आयो । फिराद-पत्रमा कतै जीकीर भएको देखिएन । अझ सचिवालयका पाच पाच जना हस्तीहरू किन देश र जनताको सेवा मा समर्पित महान आदर्श र त्यागी नेतृत्वलाई नबुझेर यता उता भौतारिएका हुन । त्यसको खुद कारण पनि प्रष्ट खुल्न आएको पाईएन ।

वरिष्ट नेताहरू माधव नेपाल र झलनाथ खनाललाई चाकाचुली खेलाउनुको कारण पनि फिरादले खुलाउन सकेन । पदीय भागवण्डावाट मुक्त नेतृत्ववाट नेताहरू संग वैचारीक छलफल नगरेर पालै पालो वोलाएर भोलीको अध्यक्ष र प्रधानमन्त्रीको विल्ला वाडिएको आधार र कारण पनि फिराद पत्रमा आएन । वामदेव कणलाई उधारो प्रधानमन्त्री र अध्यक्ष वनाउने प्रस्ताव पनि पत्रमा खुलेर आऊन सकेन । चाेक्टा मलाई झाेल तिम्लाई, चकलेट मलाई खाेल तिम्लाई, केरा मलाई बाेक्रा तिम्लाई, रस मलाई छाेक्रा तिम्लाई भन्दै सरकार र सरकारी नियुक्ती जति एकलौटी गरिएको कुरा, पार्टीका मुख्य जीम्मेवारी पनि आफ्नालाई मात्र दिएर अरूलाई तमासे वनाएर राखेको कुरा पनि सगौरव पत्रमा आएन । तिमीहरू पनि मेरो जय जयकार गर नत्र खैरियत छैन भन्दै देशव्यापी नारा जुलुस गराएको कारण पनि प्रष्ट आएन । यि र यस्ता वाकी सवै विषयहरू समेत खुल्ने गरि १६ गते पुरक फिराद पत्र ल्याऊन सके कसो होला ?

अन्तमा एक जना साथीले अध्यक्ष द्वयको प्रस्ताव पढेर आफ्नो फेसवुक वालमा लेख्नु भएको रहेछ । " अध्यक्षहरुले पेश गरेको र सफाइ दिएको दुवै पत्रको बुँदा बुँदा पढिसके पछि एक जना सचेत नागरिकमा के सोचाइ आउला ? देश र जनताको निम्ती समर्पित भएको नाममा यस्तो भद्दा मजाक नेपाली राजनीतिमा खुलेआम कहिले भएको थियो कि थिएन होला ? अरूका सबै गल्ती मात्र देख्ने र आफ्नो कही कतै गल्ती छ भन्ने महसुस सम्म नगर्ने प्रतिवेदनले पार्टीलाई कहा पुर्याउला "। साचो अर्थमा यस्तो संस्कारले मान्यता पाऊने हो भने नया पुस्ताले के सिक्ने होला ? स्वघोषित महा-नेताहरूको कारण भएको दन्त वझान र साढे जुधाईले देशको समग्र प्रकृया बाधित छ । फेरीपनि उनिहरूमा थोरै आत्म ग्लानी देखीदैन । अलीकती आत्म समिक्षा गर्ने तत्परता पनि छैन । यती पनि वुझ्न नसक्ने नेतृत्वले अव कसरी मुलुक हाक्छ होला । अव पनि नया पुस्ताले सोच्नु आवस्यक छैन र ?।।।