कैलाली र कञ्चनपुरमा बिहीबार साँझ वर्षासँगै आएको भीषण हावाहुरीका कारण २ जनाको मृत्यु भएको छ भने ९९ सय जना घाइते भएका छन्।

कैलाली जिल्ला प्रहरी कार्यालयका एसपी सुदीप गिरीले नेपालखबरलाई दिएको जानकारीअनुसार हावाहुरीका कारण कैलालीमा २ जनाको ज्यान गएको हो।

कैलालीको टीकापुर नगरपालिका २ मा पर्खाल ढलेर लाग्दा लाहनु चौधरीको मृत्यु भएको उनले बताए। यसैगरी गोदावरी नगरपालिका ८ मा हावाहुरीका कारण सवारी दुर्घटना हुँदा वीरबहादुर चौधरीको मृत्यु भएको हो।

पूर्वबाट पश्चिम गइरहेको बा ३ प ३८३६ नम्बरको टिपरले से १ प ५८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा यसका चालक चौधरीको मृत्यु भएको एसपी गिरीले बताए।

प्रहरीका अनुसार हावाहुरीका कारण कैलाली र कञ्चनपुर दुवै जिल्लामा गरेर ९९ सय जना घाइते भएका छन्।

तीमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरू अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ।

हावाहुरीमा परेर भौतिक क्षति पनि उत्तिकै छ।