काठमाडौं/ काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा आज (शुक्रबार) बिहानैदेखि हावाहुरीसहित वर्षा भएको छ । हावाहुरीको गति निकै तीव्र भएका कारण केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ ।

हावाहुरीले केही रुखहरु ढल्दा अवरुद्ध भएको छ । मौसमविद् सुवास रिमालले बिहीबार कैलाली कञ्चनपुरमा पश्चिम चापीय असरका कारण हावाहुरी आएको र त्यही प्रणाली पूर्वतिर आएको बताए ।

उनले शुक्रबार बिहान काठमाडौंमा आएको हावाहुरी पनि त्यही चापीय असरले भएको बताए । उनले मेघगर्जनसहितको हावाहुरीको क्रम काठमाडौं बिहान ९ बजेसम्मै रहन सक्ने बताए । उनले दिउँसोतिर पनि फेरि यस्तै हावाहुरीसहितको वर्षा हुन सक्ने बताएका छन् ।

त्यसपछि बिस्तारै पूर्वतिर सर्ने समेत उनले बताएका छन् । बंगालको खाडीबाट जलवाष्प आइरहेकाले केही दिनसम्म असर पार्ने मौसमविद् रिमालले बताए । उनले भनी भन्छन्, ‘मनसुन अझै शुरु भएको छैन । ढिला नै आउँला ।

तर मेघगर्जनसहितको वर्षा र चट्याङ लाग्ने क्रम भइरहने छ ।’ उनले सचेत रहेर बस्न पनि आग्रह गरेका छन् । प्रि–मनसुनमा विध्वंश मच्याउने क्रम जारी नै रहने मौसमविद् रिमालले बताए । यता सुदूरपश्चिममा हावाहुरीका कारण हिजो बेलुका एक जनाको ज्यान गएको छ भने ८० बढी घाइते भएका छन् । सयौं घरको छाना उठाएको छ ।