काठमाडौं/जर्मनीका अस्पतालमा ८५ जना बिरामीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एक जना पूर्व नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ ।

ओल्डेनवर्गको अदालतका न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ८५ जना बिरामीको हत्याको अभियोग लागेको पूर्व नर्स निल्स हुगललाई आजीवन कैदको सजाय सुनाएका हुन् ।

न्यायाधीश ब्यूर्मेनले नर्सको सो कार्यलाई ‘सामान्य बुझाइभन्दा बाहिर रहेको’ बताएका छन् । 
पूर्व नर्स हुगलले दुई वटा अस्पतालका ८५ जना बिरामीको हत्या गरेको ठहर अदालतले गरेको हो । यसअघि पनि दुई जनाको हत्या गरेको अपराधमा सजाय काटिरहेका हुगलले सन् १९९९ देखि २००५ सम्म आफ्नो संरक्षकत्वमा रहेका मानिसलाई मुटु रोगसम्बन्धी औषधिको घातक मात्रा दिएको पाइएको थियो ।

उनलाई जर्मनीको आधुनिक इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्तिको रूपमा समेत लिइएको छ । ४२ वर्षीय नर्स निल्स हुगलले सुरुमा बिरामीलाई हृदयाघात हुने खालको औषधि दिने र त्यसपछि ती बिरामीलाई बचाउने कोसिस गर्दथे ।

उनले यो सबै प्रशंसा पाउन र सबैको नजरमा नायक बन्नका लागि गरेको बताइएको छ ।
उनले आफ्ना सहयोगीलाई प्रभावित गर्नका लागि बिरामीलाई पुनर्जि्वित बनाउने कोशिस गर्दथे । हुगललाई ‘पुनः जीवित गर्ने रेम्बो’ को उपनाम दिइएको थियो ।

हुगेलमाथि जर्मनीको उत्तरी शहर डेलमेनहस्र्ट र ओल्डेनवर्गमा १०० बिरामीहरुको हत्या गरेको आरोप लागेको थियो । प्रहरीका अनुसार, उनले अरु बिरामीहरुको पनि हत्या गरेको हुन सक्ने भए पनि शवको दाहसंस्कारका क्रममा सम्भावित प्रमाण नष्ट गरिएको छ ।

हुगलले भने ५५ जनाको हत्या गरेको स्वीकार गरेका छन् । तर, ओल्डेनवर्गको अदालतले उनीमाथि ८५ जनाको हत्या गरेको दोषी ठहराएको छ ।