काठमाडौं : विद्यार्थी प्रवेशाज्ञा (भिसा) मा नेपाल बसेका विदेशीका गतिविधि शंकास्पद देखिएको छ। विश्वभाषा क्याम्पस, काठमाडौं विश्वविद्यालयलगायतका शैक्षिक संस्थामा भर्ना भएका विदेशीले भिसा दुरुपयोग गरी अवाञ्छित गतिविधिमा संलग्न हुने गरेका छन्। विश्वभाषा क्याम्पसमा नेपालीलगायतका भाषा र काठमाडौं विश्वविद्यालय अन्तर्गतको कला तथा संगीत पढ्न विदेशीहरू भर्ना भएका छन्। केही विदेशी उपत्यका बाहिरका क्याम्पसमा समेत भर्ना भएका छन्।
सन् २०१७ मा विश्व भाषालगायतका विभिन्न शैक्षिक संस्थामा १ हजार २ सय जना विद्यार्थी भर्ना भएको पाइएको छ। शिक्षा मन्त्रालयको तथ्याङ अनुसार, सन् २०१८ मा त्यो संख्या बढेर २ हजार पुग्यो। विद्यार्थी भिसामा नेपाल आउने विदेशीको संख्या प्रत्येक वर्ष बढ्दो छ। अध्यागमन नियमावलीमा स्पष्ट भनिएको छ, ‘जुन उद्देश्यले भिसा प्रदान गरिएको हो, अनिवार्य रूपमा सोही अनुरुपको कार्य गर्नुपर्नेछ। ’ तर विद्यार्थी भिसामा बसेका अधिकांश विदेशीले अध्यागमन कानुन मानेका छैनन। विद्यार्थी भिसालाई उनीहरूले दुरुपयोग गर्दे आएका छन्।
विद्यार्थी भिसाको आवरणमा उनीहरू अवाञ्छित गतिविधिमा संलग्न हुने गरेको सुरक्षासम्वद्ध स्रोतले बताएको छ। चावहिलको पशुपति क्याम्पसमा भर्ना भएकी अस्ट्रेलियन युवती धर्म प्रचार गर्ने क्रममा बर्दियाबाट पक्राउ परिन्। त्यस्तै पोखराको शिवशक्ति क्याम्पसमा भर्ना भएका दुई जापानी युवतीसमेत धर्मप्रचार गर्दा रूपन्देहीबाट पक्राउ परे। सम्बन्धित क्याम्पसले उनीहरूको नियमित हाजिरी गरेको थिएन। क्याम्पसले कडाइ गरेको भए विद्यार्थी भिसामा रहेका विदेशी गाउँगाउँ पस्न पाउँदैन थिए। उनीहरू तीनै जनालाई गृह मन्त्रालयले निष्काशन गरिसकेको छ।
उनीहरू मात्र होइन विद्यार्थी भिसा लिएका विदेशी गाउँ गाउँमा पुगेर धर्म प्रचार गर्न थालेका छन्। केही दिनअघि दाङबाट एक अमेरिकी युवती धर्म प्रचारका सामाग्रीसहित पक्राउ परिन्।
पढ्न बसेका विदेशीले भिसा दुरुपयोग गर्न थालेपछि अध्यागमन विभागले उनीहरूमाथि निगरानी बढाएको छ। अध्यागमन विभागले विद्यार्थी भिसा लिएका र लिन आउने विदेशी नागरिकको चालचलन बुझने प्रक्रिया थालेको छ। विद्यार्थी भिसामा बसेका विदेशी धर्म प्रचारमा लागेको भेटिएपछि विभागले भिसा जारी गर्ने प्रक्रियामा कडाइ गरेको छ।
अध्यागमन विभागका निर्देशक जनार्दन गौतमले भिसा जारी गर्नु पुर्व सम्बन्धित विद्यार्थीको चालचलन बुझने गरेको बताए। ‘कतिपय शंका लागेका विद्यार्थीहरू माथि छानबिन गर्न थालेका छौं, निर्देशक गौतमले अन्नपूर्णसँग भने, ‘नेपाल बस्नकै लागि मात्र पटक पटक भिसा परिवर्तन गर्ने विद्यार्थीका गतिविधिबारे अनुसन्धान गर्दैछौं। ’


