पथरी, पुस २२ गते । पाहुना गएको अवस्थामा निधन भएका एक युवाको सन्दर्भलाई लिएर मोरङको पथरी शनिश्चरे १० का घरधनी र पीडित परिवार आ–आफ्नै प्रकारले तनावमा छन् । दुवै परिवारले घटनाको चाँडै निष्पक्ष अनुसन्धान सम्पन्न गर्न माग गरेका छन् । पथरी शनिश्चरे नपा वडा नं. १० नयाँ मंगलबारे निवासी युवराज वास्कोटाको घरमा यस अघिदेखि नै जाने–आउने गर्नेक्रममा सोही वडाको जिरिखिम्ती निवासी १९ वर्षीय सञ्जीव भण्डारी बास्कोटाको घरमा राती सुतेका र पुस १४ गते बिहान मृत अवस्थामा फेला परेका थिए ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोही दिन शवको पोष्टमार्टमपछि पुस १५ गते उनको दाहसंस्कार गरिएको थियो । दाहसंस्कारमा उपस्थित अगुवाहरूसमक्ष मृतककी आमा राधिका भण्डारीेले घटना शंकास्पद भएको भन्दै निष्पक्ष अनुसन्धानको माग गरेकी थिइन् भनें दैनिक समवेदना व्यक्त गर्न आउने सामाजिक अगुवा, जनप्रतिनिधि, विभिन्न दलका अगुवा सहितलाई उनले सोही कुरा दोहोराइरहेकी छन् । उनले घटनाको छानविनका लागि पुस १४ मै इलाका प्रहरी कार्यालय पथरीमा उजुरी समेत दिएकी थिइन् । बास्कोटालाई आफूहरूले अनुसन्धानका विभिन्न विधिमार्फत अनुसन्धान गरिरहेको र भिसेरा रिपोर्टसमेत आइसकेपछि मृत्युको बारेमा यकिन हुने प्रहरीले उल्लेख गरेको छ ।
नेकपाबाट हालै केन्द्रीय सदस्य बनेका युवा नेता बास्कोटाले आफ्नो छोरासरह स्नेह दिएर हरेक सिर्जनशील गतिविधिहरूमा सहयात्री बनाएका थिए । यहिँ उचाइबाट सामाजिक काममा सक्रिय रहेका भण्डारीको अकल्पनीय निधनले आफू ज्यादै मर्माहत भएको बताउँदै आएका छन् । यसबीचमा उनले पनि घटनाको निष्पक्ष रूपमा चाँडो अनुसन्धान सक्न प्रहरीसमक्ष अनुरोध गर्दै आएका छन् । उनले अनुसन्धानका लागि जुनकुनै तरहले पनि आफूले सहयोग गर्नुपर्छ गर्न तयार रहेको र यदि अध्ययन अनुसन्धानमा आफ्नो कुनै पनि वस्तुगत कमजोरी देखिए जस्तोसुकै सजाय भोग्न तयार रहेको भन्दै आएका छन् । तर आफूलाई हत्याराको ट्याग लगाएर सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा अभिव्यक्त भएका भनाइले आफू र आफ्नो परिवार मानसिक रूपमा ठूलो तनावमा रहेको उनले बताए ।
यसैबीच प्राप्त पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा शरीरमा कुनै निलडाम नदेखिएको इलाका प्रहरी कार्यालय पथरीले उल्लेख गरेको छ । सरूवा हुँदै गरेका कार्यालयका प्रमुख डीएसपी दिलिपकुमार गिरीले पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा कुनै निलडाम तथा चोटपटक नदेखिएको र मृत्यु के कारण र कसरी भयो भन्ने बारेमा विस्तृत कुरा भनें भिसेरा रिपोर्टले मात्र देखाउने बताउँदै भिसेरा रिपोर्ट आउन बाँकी रहेको बताएका छन् । उनले दुबै पक्षको मागअनुरुप घटनाको सत्यतथ्य निष्पक्ष रूपमा अनुसन्धान भइरहेको जवाफ दिएका छन् ।
जिल्लाका सक्रिय बालअधिकारकर्मी, सामाजिक क्षेत्रमा सानै उमेरदेखि क्रियाशील भण्डारीको निधनले जिरिखिम्ती गाउँ पूर्णरूपमा शोकमग्न छ भनें नगर, जिल्ला तथा प्रदेशमै तीक्ष्ण बुद्धि भएको मिलनसार र भविष्यमा समाजको मार्गदर्शक बन्ने सम्भावना बोकेको युवा गुमाएकोमा सबै पक्ष दुःखी बनेका छन् । उनको दाहसंस्कारमा मोरङ, झापा र सुनसरीका बालअधिकारकर्मी, राजनीतिककर्मी, युवा, जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उनलाई नेकपा केन्द्रीय सदस्य डिपी राईंले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली दिइएको थियो ।



















