पथरी । आफ्ना जन्मदाता श्रद्धेय आमा–बाबुको नाम, सम्मान र स्मृतिलाई सधैंभरि तरोताजै राख्ने उद्देश्यका साथ आमा इन्द्रमाया र बुबा कमलप्रसाद बास्कोटाको नाउँमा गठित इन्द्र–कमल बास्कोटा प्रतिष्ठान, पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ अवस्थित गैरसरकारी एवं पारिवारिक संस्थामार्फत आज आइतबार, २०७७ माघ ११ गते आमाबाबु इन्द्र–कमलबाट जायजन्म भएका सबै सन्तानले शिक्षार्जन गरेको नगरको वडा नम्बर ३ अवस्थित श्री जनता माद्यमिक विद्यालयमा हाल अध्यनरत छात्रछात्राहरू लक्षित जाडो याममा प्रयोग हुने ९० थान न्यानो कपडा स्वीटर उपलब्ध गराउनुका साथै आमाबुबाको उपस्थितिमै वितरण गराएको छ ।
सन्तानका लागि साह्रै दुःखजिलो गरेर आफ्नो जीवनको सहज उत्तरार्ध काटिरहनुभएका आमा–बाबुको प्रत्यक्ष उपस्थितिमा विद्यालय व्यवस्थापनसँग अन्तरसम्बन्ध राख्दै यसरी न्यानो कपडा वितरण गरिएको यो लगातार तेस्रोपटक र तेस्रो वर्ष हो । ऋामा–बाबुको पहिलो सन्तान अमेरिका निवासी लिलानाथ र बुहारी कमला बास्कोटाको सहयोगमा यो कार्यक्रम सम्पन्न भएको कार्यक्रममार्फत लाभान्वित विद्यालय व्यवस्थापन समिति सदस्य सनम चौहानले बताउनुभयो ।
आमा–बाबु इन्द्रमाया र बुबा कमलप्रसादका जीवित ६ भाइ छोरा–बुहारी र १ छोरी–ज्वाईं यतिबेला देशभित्र र देशबाहिर रहेर पनि सामाजिक एवं राजनीतिक विभिन्न क्षेत्रमा उम्दा अस्तित्व सहित विभिन्न क्रियाकलापमा सामेल रहँदै आएका छन् । लक्षित समुदाय आश्रित विद्यार्थीलाई सहयोग गर्ने वार्षिक कार्यक्रमका अतिरिक्त आम्दानीको २५ प्रतिशत साँवा पूंजीमा जम्मा हुने र ७५ प्रतिशत लक्षित विद्यार्थीको नियमित पढाइलेखाइमा सहयोग पुग्ने गरि गत आर्थिक वर्षमा १ लाख रूपैयाँ इन्द्र–कमल अक्षयकोष खडा गरिएको जनता माविका पूर्व विद्यार्थी, प्रतिष्ठानका सल्लाहकार, इन्द्र–कमलका माइला सन्तान र स्थानीय बामपन्थी राजनीतिककर्मी एवं सामाजिक अगुवा व्यक्तित्व युवराज बास्कोटाले बताउनुभयो ।
टेलिफोन संवादको जिज्ञासामा आसन्न दिनहरूमा आमा–बाबु इन्द्रमाया र बुबा कमलप्रसादका समकालीन सामाजिक अगुवा व्यक्तित्वबारे लेखन, अभिलेखन सङ्ग्रह गर्ने योजना रहेको र केही हदसम्म यो काम अघिबढेको समेत उहाँले बताउनुभयो ।



















