काठमाडौं । अन्तराष्ट्रिय गैर सरकारी संस्था यूनिसेफले गरेको एक अध्ययन अनुसार बालकहरुको बालविवाह धेरै हुने मुलुकहरुको सूचीमा नेपाल दशौं स्थानमा रहेको छ । यूनिसेफले विश्वका ८२ वटा मुलुकहरुको अध्ययन गरेको थियो ।
अध्ययन अनुसार नेपालमा २० देखि २४ वर्षका दश पुरुषहरुमध्ये एकको १८ वर्ष पुग्नु अघि वाल्यावस्थामै विवाह हुने गरेको छ । सबैभन्दा धेरै बालक बालविवाह हुने मुलुकहरु अफ्रिकाको उप–सहारा क्षेत्र, ल्याटिन अमेरिकी क्षेत्र, क्यारेवियन क्षेत्र, पूर्वी एसियाली तथा दक्षिण एसियाली क्षेत्रमा रहेका छन् ।
मध्य अफ्रिकी गणतन्त्रमा २८ प्रतिशत, निकाराग्वामा १९ प्रतिशत र मदगास्करमा १३ प्रतिशत बालकहरुको बालविवाह हुने गरेको छ । यी नै सबैभन्दा धेरै बालकहरुको बालविवाह हुने मुलुकहरु हुन् ।
यूनिसेफले बताए अनुसार नेपाल बालक र बालिकाको समान दरमा बालविवाह हुने दक्षिण एसियामै एक मात्र मुलुक हो ।
यूनिसेफकै अध्ययन अनुसार विश्वभर करिब ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको छ । बालविवाह हुनेमा धेरै जसो बालिकाहरु रहेका छन् । २० देखि २४ वर्षका पाँच महिलाहरुमध्ये एकको १८ वर्ष उमेर पुग्नु अघि नै विवाह भएको छ भने सोही उमेरका ३० पुरुषमध्ये एकको १८ वर्ष पुग्नु अघि विवाह भएको छ ।
बालअधिकार सम्बन्धी महासन्धी जारी भएको तीस वर्ष पुगेको अवसरमा यूनिसेफले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।


