काठमाडौं । नेपालमा अहिले भाषालाई लिएर ठुलो विवाद हुँदै गएको छ । नेपालको विशेष गरेर प्रदेश नम्त्रर दुईमा हिन्दी भाषालाई लिएर लामो समयदेखि बहस हुँदै आएको छ । यो बिचमा प्रदेश सांसद रीना यादवले हिन्दी भाषालाई प्रदेशको मात्र होइन, देशकै सम्पर्क भाषाको रुपमा राख्नु पर्ने तर्क गरेकी छिन् ।

प्रदेशका पचास प्रतिशत महिला भारतीय रहेकोले गर्दा हिन्दी भाषा एक दम ठीक भएको बताइन् । शुक्रबार प्रदेश सरकारको आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममाथि सदनमा छलफल गर्ने क्रममा बोल्दै उनले हिन्दीलाई समग्र मुलुककै सम्पर्क भाषा बनाउनुपर्ने माग गरेकी हुन् ।

नेपालमा सरकारले शिक्षण गर्दा हिन्दीलाई अनुमति दिएको जिकिर गर्दै उनले प्रदेशको कामकाजमा सम्पर्क भाषा किन नराख्ने भन्दै प्रश्न गरेकी हुन् । यस्तै, नेकपाका सांसद सुन्दर बहादुर विश्वकर्माले भाषाको विषयमा संविधानले प्रस्ट व्यवस्था गरेकोले मैथिली र भोजपुरीलाई प्राथमिकतामा राखेर नेपाली भाषालाई सम्पर्क भाषाको रुपमा नीति तथा कार्यक्रममा समविष्ट गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘सरकारले प्रदेशमा मातृभाषामा शिक्षा लागू गर्ने कुरा गर्छ तर सम्पर्क भाषा हिन्दी बोल्छ, यो विरोधाभासी र हस्यसपद छ ।’ सरकारको काम राष्ट्रिय भाषालाई संरक्षण गर्ने भएकोले भारतको राष्ट्रिय भाषालाई यहां संपर्क भाषाको मान्यता दिनु तर्क संगत नभएको बताएका छन् ।