आज (आइतबार) पनि वर्षाले निरन्तरता पाउने भएको छ। दिउँसोपछि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार दिउँसो ३/४ बजेपछि पूर्वका तराई–पहाड दुवै तथा मध्य र पश्चिमका पहाडी भूभागमा मेघ गर्जनसहिहत वर्षा हुने संकेत देखिएको छ।
साथै पूर्वका केही स्थानमा हावाहुरी आउने सम्भावना पनि छ। विराटनगर, धनकुटालगायतका क्षेत्रमा यस्तो सम्भावना देखिए पनि एकिनै गर्न गाह्रो हुने उनले बताए।
‘त्यही हो, पूर्वका एक/दुई स्थानमा हावाहुरीको सम्भावना छ,’ उनले भने, ‘हावाहुरी भनेपछि केही न केही त क्षति गर्ला तर त्यस्तो ठूलो किसिमको आउने संकेत छैन।’
उनका अनुसार दिउँसोपछि काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ। तर अहिलेको मौसमी प्रणालीअनुसार खण्डखण्डमा वर्षा हुने भएकाले उपत्यकाभित्रकै कतिपय ठाउँमा वर्षा हुने र कतिपय स्थानमा नहुने पनि हुनसक्ने वरिष्ठ मौसमविद् पौडेलेको भनाइ छ।
उनका अनुसार अहिले पूर्व र मध्य क्षेत्रका पूरै भूभाग तथा पश्चिमी क्षेत्रका पहाडी भूभागमा आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ भने कतै पानी परेको छैन।
अहिलेको मौसम बदली पश्चिमी वायुको प्रभाव भएको मौसमविद् पौडेलले बताए। पूर्वमा भने अलि अलि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको उनले जानकारी दिए।
‘पश्चिम र मध्य क्षेत्रका पहाडी भेगमा पश्चिमी वायुको प्रभाव छ,’ मौसमविद् पौडेलले भने, ‘पूर्वी क्षेत्रमा बंगाल खाडीको हावाको प्रभाव पनि छ, यतिबेला सबै खालका हावाको समिश्रण छ।’


