काठमाडौं,२१ चैत्र । यस वर्ष ल्याण्डलाइन टेलिफोन सेवाको प्रयोग बढेको छ। पछिल्ला केही वर्षमा लगातार रुपमा घट्दै गएको ल्याण्डलाइन अप्टिकल फाइबर आएसँगै बढ्न थालेको हो। मोबाइल प्रविधिको लोकप्रियता बढेसँगै विगत तीन वर्षदेखि घट्दै गएको ल्याण्डलाइन यस वर्ष बढेको हो। अप्टिकल फाइबरमा आधारित एफटीटीएच इन्टरनेट सेवा सुरु भएसँगै कम्पनीले अहिले त्यसैमार्फत् ल्याण्डलाइन र आईपीटिभी सेवा समेत दिन थालेको छ।

यद्यपी एफटीटीएचमार्फत् उपलब्ध गराउन थालिएको भ्वाइस सेवालाई एफटीटीएचमा आधारित फिक्स भ्वाइस सेवा भन्ने गरिएको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार २०७४ को माघमा टेलिकमको ल्याण्डलाइन तथा फिक्स भ्वाइस सेवा प्रयोग गर्ने ग्राहकको संख्या ६ लाख ८५ हजार ८२३ रहेको थियो। तर त्यसयता लगातार रुपमा त्यसको प्रयोग घट्दै गत पुषसम्म आइपुग्दा ६ लाख ६ हजार ८५७ मा सीमित भइसकेको थियो। तर पछिल्लो समय एफटीटीएच प्रयोगकर्ताले समेत ल्याण्डलाइन सेवा लिन थालेपछि ल्याण्डलाइन टेलिफोन प्रयोग गर्नेको संख्या अहिलेसम्मकै उच्च भएको छ।

प्राधिकरणका अनुसार हाल देशभर ६ लाख ९३ हजार २४८ नाघेको छ। जुन अहिलेसम्मकै उच्च हो । यद्यपी समग्रमा नेपालको भ्वाइस सेवामा फिक्स टेलिफोन सेवाको बजार हिस्सा समेत खुम्चिएको छ।
३ वर्ष अघि कूल भ्वाइस टेलिफोनीमा २.९४ प्रतिशत बजार रहेको फिक्स भ्वाइस सेवाको हिस्सा हाल २.६९ प्रतिशतमा सीमित भएको छ। हाल नेपालमा मोबाइल (जीएसएम र सीडीएमए), एफटीटीएच तथा ल्याण्डलाइनसँगै डब्लूएलएल (वायरलेस लुप), भिस्याट र जीएमपीसीएस ७ किसिमको प्रविधिमा भ्वाइस सेवा उपलब्ध छ।

जसमा प्रयोगमा रहेका जीएसएम मोबाइल सिमको संख्या ३ करोड ७० लाख ७५ हजार ७२७ रहेको छ भने दोस्रोमा रहेको सीडीएमए मोबाइल सिमको संख्या १६ लाख ९१ हजार ८५९ रहेको छ। त्यस्तै पीएसटीएन ल्याण्डलाइन फोनको संख्या पाँच लाख ९८ हजार ६०८, एफटीटीएच ल्याण्डलाइनको संख्या ९४ हजार ६४०, डब्लूएलएल एक लाख १८ हजार २१, जीएमपीसीएस प्रयोगकर्ता दुई हजार ९०५ र भीस्याट प्रयोगकर्ता ५८१ रहेका छन्। नेपालमा सरकारी स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मात्रै ल्याण्डलाइन टेलिफोन सेवा उपलब्ध गराउँदै आएको छ। लोकपाटी बाट