गोरखा, २३ चैत । आगामी छ दिनको लागी केबलकार बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले संचालन गरेको मनकामना केबलकारको सेवा आगामी चैत २५ गतेदेखि ३० गतेसम्म बन्द हुने भएको हो।
कम्पनीले केबलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको काम अनुसार बुल ह्लिल बियरिङ नयाँ फेर्नुको साथै अन्य मर्मत संभारका लागि केबलकार सेवा बन्द गर्न लागिएको जनाएको छ। मर्मतको तथा स्तरोन्नतीको लागी अष्ट्रियाबाट प्राविधिक आउने पनि कम्पनीले जनाएको छ।
उक्त अविधमा केबलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्टको सेवा भने यथावत संचालनमा रहने कम्पनीले बताइएको छ। मर्मत संभारपछि आगामी चैत ३१ गतेदेखि नियमित रुपमै केबलकारको सेवा संचालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।
गोरखाको मनकामना स्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मङसिरबाट सञ्चालनमा ल्याएको मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।
मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनकोअनुसार अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने बताए ।


