महानगरीय अपराध महाशाखाको विशेष टोलीले शुक्रबार अपरान्ह गोली हानेर नियन्त्रणमा लिएका छिरिङ तामाङ ‘काका’ ६ जनाको लुटेरा समूहका नाइके भएको खुलेको छ।
महाशाखाका एसएसपी सहकुल थापाले दिउँसै साना वित्तीय संस्था र सुनचाँदी पसल लुटपाटमा संलग्न यो समूह ‘काका ग्याङ’ का नामले कुख्यात रहेको बताए।
उनका अनुसार हतियार देखाएर लुटपाटमा संलग्न समूहका नाइके छिरिङका मोटरसाइकल चालक योगेन भन्ने योगेन्द्र घिसिङ तामाङलाई समेत पक्राउ गरिएको छ।उनका अनुसार छिरिङका साथबाट पेस्तोल र ६ राउण्ड गोली बरामद भएको छ।
महाशाखाका अनुसार प्रहरीले ४८ घण्टा लामो कारबाहीपछि समूहका ५ सदस्यलाई पक्राउ गरेको हो।
छिरिङलाई शुक्रबार दिउँसो जोरपाटीको अत्तरखेलमा महाशाखाको टोलीले दुई राउन्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो। छिरिङको घुँडामा गोली लागेको छ। अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
एसएसपी थापाले समूहका सदस्य पछिल्लो समय कोटेश्वर प्रभाग अगाडिको पसल लुटने योजनामा रहेको दाबी गरे।
‘हामीले नियन्त्रणमा लिएपछि उनीहरुको पछिल्लो निशाना प्रहरी चौकी अघि कै गहना पसल भएको खुलेको छ,’ एसएसपी थापाले भने, ‘हतियार देखाएर लुटने यो समूह निकै खतरनाक थियो।’
महाशाखाले जेठ ४ मा जोरपाटीस्थित बुद्धराम सुनारले सञ्चालन गरेको भीमेश्वर सुनचाँदी पसलमा लुटपाट भएपछि ‘काका ग्याङ’ को खोजी तीव्र पारेको थियो।
यो समूहले हातहतियारसहित पसलमा पसेर सटर लगाएर लुटपाट गरेको थियो। त्यहाँबाट ८० हजार लुटेर भागेको समूहलाई त्यसपछि प्रहरीले खोजी रहेको थियो।
प्रहरीले बुधबार नै धराने भन्ने नितेस तामाङ, मुन्द्रे भन्ने अजय घ्यावा तामाङ, बाहुन भन्ने रुपेश चौलागाई, जिग्री भन्ने भीमराज थिङलाई पक्राउ गरे पनि छिरिङ र योगेनको खुलासा भएको थियो।
महाशाखाका अनुसार यो समूहले जेठ ३ मा ललितपुर ईमाडोलस्थित कृष्णमन्दिर नजिक शुरेसराज शर्माले सञ्चालन गरेको असन ईन्भेष्टमेन्ट प्रालिमा हातहतियार खुकुरीसहित प्रवेश गरि कर्मचारीलाई नियन्त्रण लिई एक लाख नगद लुटेको थियो।
यो समूहले २६ चैत २०७५ मा सवा ११ बजे बिहान गोकर्णेश्वरस्थित रवि श्रेष्ठले सञ्चालन गरेको पाथिभरा मनि ट्रान्सफर सेन्टरबाट साढे ३ लाख लुटपाट गरेको थियो। यस्तै गतवर्ष फागुन १४ मा चाबहिलमा रहेको रामप्रसाद तिवारीले सञ्चालन गरेको एग्रिमोर बचत तथा ऋण सहकारी सस्था लिमिटेडमा लुटपाटको प्रयास गरेको थियो। प्रहरीका अनुसार यो समूहले गत भदौं २६ मा कंलकीस्थित अनुजेन्द्र बस्नेतले सञ्चालन गरेको पिपुल्स मनि ट्रान्सफरबाट एकलाख ७० हजार लुटेको थियो।


