रौतहट, २७ जेठ । रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिल कुटिएको घटना सेलाउन नपाउँदै फेरि सोही कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल पनि कुटिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले चन्दा नदिएको भन्दै स्थानीयले कुटपिट गरेका छन् । महिलाको एक समूहले उनलाई आइतबार कार्यालयमै हातपात गरेका थिए । हातपातको आरोपमा सोमबार दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
नगरपालिकाका मेयर शेख सकिललाई केही दिनअघि मात्र चन्दा नदिएको भन्दै स्थानीय केही व्यक्तिले कुटपिट गरेका थिए । कार्यालयमा काम गरिरहेको अवस्थामा महिलाहरुको एक समूह आई आफूमाथि हातपात गरेको सिग्देलले बताएका छन् । सामाजिक जनचेतना अभिवृद्धिकाको रकम पहिले नै खर्च भइसकेकाले आगामी वर्षको बजेटबाट भुक्तानी दिन्छु भन्दा हातपात गरेको उनले बताएका छन् ।
सिग्देललाई कुटपिट गरेको आरोपमा स्थानीय अम्बिया खातुन र सोनापति साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन कार्कीले जानकारी दिएका छन् । सिग्देलले नगरपालिकाका कर्मचारीकै मिलेमतोमा हातपात भएको आरोप लगाएका छन् । यसअघि मेयर सकिललाई इदका लागि चन्दा सहयोग नगरेको भन्दै कुटिएको थियो ।नयाँपेजबाट


