✍️ देउजा राधाकृष्ण 

केहि समय देखि नेकपा एमालेको भाग्य भविष्य के होला भन्ने चासो सर्वत्र छ भने आम पार्टी पंक्तिमा चिन्ता छ । नेकपा एमाले अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी ओलीले आधा आधा सत्ता नेतृत्वको सहमति गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग मिलेर बनाएको नेकपामा आफुले सहमति बमोजिम सत्ता हस्तान्तरण गर्नु पर्ने बेला भएपछि केपी ओलीले देखाउनु भएको दम्भ र वहाँले झिकेको रडाकोले गर्दा नेकपा फुटेको थियो ।

नेकपा फुटेर छटपट गर्दै रहनु भएका केपी ओलीलाइ त्राण दिँदै दुई न्यायधिशले गरेको अनौठो फैसलाले अलिक ठण्डक मिलेको दुनियालाइ थाहा छ । जव त्यस अनौठो फैसलाले दुइ दल मिलेर बनेको नेकपालाइ एमाले र माओवादीमा विभक्त गर्यो तव केपी ओलीले ठान्नु भयो कि बल्ल ठिक भयो , अव म महाराज अरु रैती भए । जसको परिणाम अदालतको आदेश अनुसार एकता पूर्वको एमाले सक्रिय पार्नु पर्नेमा वहाँ गुट वैठक गर्दै आफुलाइ साथ् दिने आसेपासे देखि मन्त्री पद टिकाउन वा मन्त्री पद पाउन वहाँलाइ साथ दिने केहि भगौडा माओवादीहरुलाइ समेत थपेर कथित कमिटिहरुको अभ्यासमा लाग्नु भयो ।

वहाँको यो असंवैधानिक , अवैधानिक र अनुचित कदमलाइ एमालेको अनुशासित, सँस्कार भएका विधि पद्दति पक्षधरहरुले मान्ने कुरै थिएन । त्यसैले नेकपा एमाले बनाउन भूमिका खेलेको , चुनौती र अप्ठेराको विचमा पार्टी जोगाएको त्यो पङ्क्तिले स्वाभाविक रुपमा वहाँको एकलकाटे प्रवृति र त्यसबाट सृजित निर्णयहरुलाइ चुनौती दिन छोडेन । त्यति मात्रै नभएर वहाँका विधि विपरितका निर्णयले खारेज गर्ने देखि वहाँका गलत निर्णय सच्याउने काम पनि अदालतबाट पनि भयो । उधाहरणको लागी वहाँको एकल सोच अनुसार वहाँको गुटले बनाएको कथित महाधिवेशन आयोजक कमिटि लाइ सर्वोच्च अदालतले वैध मानेन । आन्तरिक चुनौती र अदालतको आदेशको सन्तुलन मिलाउन सकेको / चाहेको भए केपी ओलीले एमाले माओवादी एकता पुर्वको महाधिवेशन बाट निर्वाचित कमिटिलाइ सक्रिय पारेर अगाडी बढन सक्नु हुन्थ्यो अर्थात चलन चल्तीको भाषामा पार्टीलाइ जेठ २ मा फर्काउन सक्नु हुन्थ्यो । तर त्यसो गर्न छोडेर वहाँले के के गर्नु भयो प्रष्ट छ ।

वहाँले निरन्तर केहि गर्नु भयो त त्यो षड्यन्त्र गर्नु भयो र त्यो क्रम अझै जारि छ । हिजो मात्रै पनि एमालेलाइ विधि पद्दतिमा चलाउनु पर्छ भन्नेहरुको माग सम्वोधन गर्दै एकताको निम्ती अगाडी बढे झैं गरेर अवैधानिक मात्रै नभएर असंवैधानिक सरह ठहर भएको कथित महाधिवेशन आयोजक कमिटिको वैठक राखेर एमालेलाइ जेठ २ को अगाडीको अवस्थामा पुर्याउने निर्णय भएको हल्ला चलाउनु भयो तर यथार्थमा गरेको चाहिं वहाँको मर्जी अनुसार बनेको आयोजक कमिटिलाइ केन्द्रिय कमिटिमा रुपान्तरण हो जसलाई जेठ २ मा पुगेको भनेर कुनै पनि सद्दे मानिसले मान्न सक्दैन ।

अव त अति भैसक्यो केपी कमरेड, जाल झेल छलछाम धेरै भएन र ? एकता भाँडने , आफ्ना आदरणीय सहकर्मीहरुलाइ मनलाग्दी गालि गर्ने , अवैधानिक असंवैधानिक कामलाइ निरन्तरता दिने अनि फेरी एकताको पक्षमा भन्दै अफवाह फैल्याउने ? यस्तो कामले तपाईंको विगत समेत धुमिल भैरहेको छ भन्ने प्रष्ट हुन अब केहि बाँकी छ र ? कि तपाईंलाइ लाग्छ यो दुनियामा तपाईं मात्रै जान्ने र अरु सब केहि नबुझ्ने मुर्ख छन ? यदी त्यस्तो ठान्नु भएको हो भने स्पष्ट हुनुस कि जनता सचेत छन, सबै बुझ्छन यहाँको जाल झेल पनि बुझेकै छन ।