बारा/ बारा जिल्लाको कलैयामा रहेको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा प्राधिकरणका कर्मचारी र उपभोक्ताबीच झडप भएको छ ।

सोमबार भएको झडपका क्रममा विद्युत प्राधिकरणका कर्मचारीहरूले बाँसको भाटाले प्रहार गर्दा तीन जना उपभोक्ता घाइते भएका छन् । उनीहरूको टाउकोमा चोट लागेको छ ।

कलैया उपमहानगरपालिका– ९ रामपुरका रामबिहारी राउत अहिर, विरेन्द्र यादव र राजेश यादवको कलैयामा रहेको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

विद्युत प्राधिकरणको लापरवाहीका कारण सोमबार बिहान ३ बजे हाइ भोल्टेज करेन्ट प्रवाह हुँदा टिभी, फ्रीज, पंखा, पानी तान्ने मोटरलगायतका घरायसी विद्युतीय सामाग्रीहरू जलेर नष्ट भएपछि क्षतिपूर्तिको माग गर्दै उनीहरू विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका थिए ।

विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका रामपुरका उपभोक्तामाथि प्राधिकरणका कर्मचारीहरुले बाँसको भाटाले प्रहार गरेको रामपुरका स्थानीय कन्हैया महत्तोले बताए ।

करीब ४०–५० जनाको संख्यामा पुगेका स्थानीयबासीन्दाले कार्यालय प्रमुख गजेन्द्र चौधरीलाई कार्यालय परिसरमा बोलाउन माग गर्दै प्रदर्शन गर्न थालेपछि विद्युत प्राधिकरणका कर्मचारीहरूले उनीहरु माथि आक्रमण गरेका हुन् ।

बिहान साढे ११ बजेदेखि प्राधिकरणको मुल गेट नै बन्द गरेर धर्नामा बसिरहेका प्रदर्शनकारी माथि प्रहरी पुगेपछि प्राधिकरणका कर्मचारीहरूले आक्रमण गरेको सानु मिया अन्सारीले बताए ।