लन्डन : युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बेलुका लण्डन आइपुगेका छन् । बेलायती प्रधानमन्त्री टेरिसा मेको निमन्त्रणमा तीन दिने औपचारिक भ्रमणका लागि उनी बेलायत आएका हुन् । स्वीजरल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनमा भाग लिएर प्रधानमन्त्रीको भ्रमण टोली सीधै लण्डन आएको हो । बेलायत आइपुगेको प्रधानमन्त्रीको २० सदस्यीय भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसंगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराईलगायत छन् ।
लण्डनको हिथ्रो विमानस्थलमा प्रधानमन्त्री भ्रमण टोलीका सदस्यलाई बेलायतका आर्मड् फोर्सेस राज्यमन्त्री मार्क लांकास्टर र बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए । विमानस्थल उत्रिएलगत्तै प्रधानमन्त्री ओली हेलिकोप्टर चढेर अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए । जहाँ उनले नेपालको शान्ति प्रक्रिया, प्रजातन्त्र तथा समृद्धिका लागि जारी प्रयत्नका विषयमा आफ्ना भनाई राखे । पछिल्लो १७ वर्षमा नेपालका बहालवाला प्रधानमन्त्रीबाट बेलायत भ्रमण भएको यो पहिलो अवसर हो । बेलायतबाट भने विगतमा महारानी एलिजावेथसहित राजपरिवारका केहि सदस्य नेपालको भ्रमणमा गएपनि अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन् ।
अक्सफोर्डमा ऐतिहासिक सम्बोधन
बेलायत भ्रमणको सुरुमै प्रधानमन्त्री ओलीले यहाँको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गरेका छन् । अक्सफोर्डमा अध्ययनरत विद्यार्थीहरुको युनियन अक्सफोर्ड युनियनको आयोजनामा प्रधानमन्त्रीले नेपालको सफल शान्ति प्रक्रिया, प्रजातन्त्र, विकास तथा समृद्धिको लक्ष्य लगायतका विषयमा सम्बोधन गरेका हुन् । अक्सफोर्डमा अध्ययनरत विद्यार्थी, प्रोफेसर, रिसर्चरका साथै बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिसहितका करिब ४ सय सहभागीहरुमाझ प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकारले तय गरेका प्राथमिकता र दीर्घकालीन योजनाहरुबारे आफ्ना धारणा राखे ।
विश्वका सर्वोच्च नेता तथा प्रसिद्ध व्यक्तित्वलाई प्रदान गरिंदै आएको यो मञ्च पाउने ओली नै पहिलो नेपाली नेता रहेको अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो डा कृष्ण अधिकारी बताउछन् ।
केहि वर्षअघि पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले पनि अक्सफोर्डमा सम्बोधन गरेका थिए । तर उक्त कार्यक्रम अक्सफोर्ड युनियनले नभएर त्यहाँका नेपाली विद्यार्थी तथा रिसर्चरहरुले आयोजना गरेका थिए ।
मंगलबार उच्चस्तरीय भेटघाट
भ्रमणको दोस्रो दिन मंगलबार प्रधानमन्त्री ओली दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने भएका छन् । बेलायती राजकुमार ह्यारी, प्रधानमन्त्री टेरिसा मे तथा विभिन्न पार्टीका सांसदलाई प्रधानमन्त्रीले भेट्ने कार्यक्रम छ ।


