काठमाडौं,३१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाइएका छन् । शुक्रबार दिउँसो तीन बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको छ ।

बैठकमा उपस्थित हुनका लागि वरिष्ठ नेता र उनी पक्षका सांसदहरुलाई पनि सूचना पठाइएको छ । नेकपा एमालेका २६ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए ।

प्रधानमन्त्री हुँदा ‌ओलीले संसदीय दलको बैठक पनि बालुवाटारमै राख्ने गरेका थिए । सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ । अब पार्टीलाई कसरी अघि लैजाने र संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि संसदीय दलको बैठक बोलाइएको एमालेले बताएको छ ।