काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको वैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सत्ता पक्ष र प्रतिपक्षलाई संसदमा बोल्न दिइने समयमा विभेद भएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सभामुख कृष्णबहादुर महराले सत्तारुढ दलका सांसद र आफूहरुलाई समय दिंदा विभेद गरेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार शून्य समयमा समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र श्रेष्ठले समय सकिँदा पनि बोल्न दिइएको भन्दै कांग्रेस सांसदहरुले यस्तो गुनासो गरेका हुन् ।
कांग्रेस सांसद देवेन्द्रराज कँडेलले भने, ‘सत्ता पक्षका सांसदलाई एक मिनेटभन्दा बढी समय दिने, हामीलाई नदिने ?’ कांग्रेस सांसद देवेन्द्रराज कँडेलले भने, ‘सबैलाई बराबरी समय दिनुपर्यो सभामुख महोदय ।’
श्रेष्ठपछि सभामुख महराले कांग्रेस सांसद देवप्रसाद तिमल्सिनालाई बोल्न समय दिएका थिए । तिमल्सिनाले पनि समयमा विभेद गरिएको गुनासो गरे । ‘सम्माननीय सभामुख महोदय, सत्ता पक्षले सात मिनेट बोल्ने हामीले एक मिनेट मात्र समय पाउने ?’, सांसद तिमल्सिनाले भने ।
उनले सभामुख महारालाई प्रश्न गर्दै सोधे, ‘कुन नियमावलीका आधारमा सत्ता पक्षका सांसद र प्रतिपक्षका सांसदलाई समय निर्धारण हुन्छ सभामुख ज्यू । जानकारी पाउँ ?’


