महोत्तरी/फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृष्य छ । त्यो अभिनय थियो । त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ ।
गौशाला नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो । पढाइ भएन । स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई छुट्टी दिएको थयो । विवाह थियो–संघीय समाजवादी पार्टीका केन्द्रीय नेता लक्ष्मी महतोका भतिजको ।
पढाइ रोकेर आयोजना गरिएको भोजमा स्थानीय जनप्रतिनिधि र नेताहरू सामेल भए ।
गन्नेमान्ने निम्तालुले बालबालिका बसेर पढ्ने डेक्स–बेन्चमा भोज खाएको दृष्य रमितलाग्दो थियो । ठूला व्यक्तिको बिहेमा बराती राख्न र विवाह भोज खुवाउन पहिलेदखि नै स्कुल बन्द गराउँदै आएको व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन रामले बताए ।
‘व्यवस्थान समितिले नै विद्यालयको जग्गा दातालाई आवश्यक परेमा विवाह र व्रतबन्ध गर्न एक दिन स्कुल बन्द गर्न पाइन्छ भन्ने निर्णय गरेको छ । त्यहीअनुरूप मंगलबार विद्यालय बन्द गरेर विवाह भोज भयो,’ उनले भने ।
लक्ष्मी महतो, नरेश सिंह, कपलेश्वर सिंह, शलाम शेकले विद्यालयलाई जग्गा दिएको उनले बताए । कक्षाकोठा र कम्पाउन्डमा साँझसम्म भोज खानेको आउजाउ चलिरह्यो । कक्षाकोठा र बच्चा बसेर पढ्ने डेक्स र बेन्च भोजको जुठोले फोहर छ । चपाकलमा पानी खाएर प्लास्टिकका गिलास फ्याँकिएका छन् । विद्यालय परिसर फोहर भएकाले बुधबार पनि पठनपाठन प्रभावित हुने निश्चित छ ।
स्कुलमा नेता लक्ष्मी महतोले भतिज सचिनको विवाहको प्रीतिभोज गरेका हुन् । भोजमा नेता, कार्यकर्ता, गाउँले, प्रहरी, प्रशासन सबै आमन्त्रित थिए । भान्से भरत साहले बिहानैदेखि स्कुलमा भोज पकाउन शुरु गरेको बताए ।
गौशालाका स्थानीय वीरेन्द्रकुमार साहका अनुसार स्कुलमा पहिलादेखि नै भोजभतेर गर्ने, खुवाउने र बरातीलाई सुताउने काम हुँदै आएको छ । उनले भने, ‘अब सुधार गर्नुपर्छ । विद्यालयलाई विद्यार्थी पढाउन प्रयोग गर्नुपर्छ ।’
‘स्कुलमा विवाह भोज गर्नु ठिक होइन । बिहानको पढाइ भएर दिउँसो भोज गरेको सोचेको थिएँ,’ गौशाला नगरपालिकाकी उपमेयर आशा लामाले भनिन् । विवाह भोजका नाममा स्कुल बन्द गराएर बालबालिकालाई पढ्नबाट वञ्चित गर्न पाइन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘त्यो प्रश्न नेता लक्ष्मी महतोलाई नै सोध्नुस् ।’
गाउँमा सार्वजनिक ठाउँ अभाव भएकाले स्कुलमा भोज आयोजना गर्नुपरेको नेता महतोले बताए । ‘गाउँको भोज गर्ने कुनै ठाउँ छैन । बाध्यताबस स्कुलमा भोज गर्नुप¥यो,’ उनले भने । अन्नपूर्ण पोष्ट दैनिकबाट



















