मोरङको सुन्दरहरैँचा स्थित सुकुना मावि । भवन जत्तिकै पढाइ पनि राम्रो छ । विद्यालयमा ४ हजारभन्दा बढी विद्यार्थी छन् । समुदायमा यो सार्वजनिक विद्यालयको छुटै 'क्रेज' छ ।

✍️ हिकमत बस्नेत 

मानव विकासको पक्ष समग्र विकासको मेरूदण्ड मानिन्छ । वालबालिका सिर्जना र शक्तिका स्रोत हुन । उनीहरूमा मानवोचित गुणको विकास गरी प्रगतिपथमा अगाडि बढ्न सहयोग पुर्याउने प्रमुख महत्त्व शिक्षा हो । मानिसका अधारभूत अवश्यकताहरू गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षा हुन् । यी आवश्यकताहरू प्राप्त गर्न पाउनु मानिसको नैसर्गिक अधिकार हो ।

नेपालमा वि.सं. २००७ सालभन्दा अघि राणाहरूको जहानियाँ शासन थियो । उनीहरू नेपाली जनताप्रति अत्यन्त सङ्कीर्ण सोचाइ राख्दथे । देशमा विद्यालयहरू खोल्यो भने जनता शिक्षित हुन्छन् र आफ्नो शासन विरुद्ध आवाज उठाउँछन् भनेर जनताका छोराछोरी पढ्ने विद्यालय स्थापना गर्न दिँदैनथे । वि.स. २००७ सालपछि देशमा प्रजातन्त्रको प्रादुर्भाव भइसकेपछि प्रजातान्त्रिक सरकारको आँखा शिक्षा क्षेत्रमा पर्नु स्वाभाविक नै थियो । यसैको परिणामस्वरूप देशका सहरी क्षेत्रमा नभई ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा समेत विद्यालयहरू खोल्ने क्रम तीव्र रूपमा चल्न थाल्यो । यस क्षेत्रमा पनि वि.सं. २०१७ सालमा जनता नि.मा.वि. बुधबारे, वि.सं. २०१८ सालमा महेन्द्र मा.वि. गजपुरबिर्ता र वि.सं. २०२३ सालमा जनता मा.वि. हरैँचाको स्थापना भयो ।

हाल सुन्दरहरैँचा नगरपालिकामा रहेको सुकुना उच्च मा.वि., महेन्द्र मा.वि. र जनता उच्च मा.वि. २०३९ सालभन्दा अगाडि हरँचा गाउँ पञ्चायतअन्तर्गत पर्दथे । तत्कालीन गाउँ पञ्चायतमा विशेष गरी दक्षिण हरैँचा (पचाम) तिर पुरानो आवादी भएको हुनाले बढी जनसङ्ख्या भएको र उत्तरतर्फको सिमाना चारकोसे झाडीसँग जोडिएको र भर्खरै मात्र माधवपुर विर्ता, गजपुर विर्ता आदि फँडानी भई अल्पसङ्ख्यामा मानिसहरूको बसोवास भएको हुँदा जनसङ्ख्या वितरण असमान थियो । विकास निर्माणका सवालमा, गाउँ पञ्चायतको कार्यालय मध्य मागमा सार्ने सवालमा र निर्वाचनको समयमा उत्तर दक्षिण क्षेत्रको विवाद भइरहने कारणले २०३८ सालमा तत्कालीन हरँचा गाउँ पञ्चायत विभाजित भई इन्द्रपुर गाउँ पञ्चायत निर्माण भएको थियो ।

यहाँका सचेत र उत्साही व्यक्तिहरू श्री चिरञ्जीवी मास्के, श्री नेत्रप्रसाद रिमाल, श्री मानकुमार मास्के, शशिधर कट्टेल, श्री लक्ष्मीनारायण श्रेष्ठ, श्री लक्ष्मीप्रसाद कोइराला, श्री विष्णुलाल नेउपाने, श्री विष्णुकुमार श्रेष्ठ, श्री टोमबहादुर श्रेष्ठ, श्री गोपेन्द्र प्रधान, श्री काजीमान कन्दङ्वा, श्री विचारसिंह कन्दङ्वा , श्री बमबहादुर थापा, एस. पि. श्री चन्द्रकान्त शर्मा, डिठ्ठा श्री रत्नबहादुर खड्का, तहविलदार श्री हर्कनारायण प्रधान, श्री उदयनारयण काफ्ले, श्री राधाकृष्ण ढकाल, श्री कृष्णमणि राजभण्डारी, सुबेदार श्री रुद्रबहादुर थापालगायतको सक्रियताबाट वि.स. २०२९ साल पुस १ गतेदेखि खोर्साने चोकदेखि करिब १०० मिटर दक्षिण तर्फ डि. पूर्णबहादुर श्रेष्ठको जग्गामा सन्ठीको बेराले घेरिएको ३ कोठे कच्ची भवन निर्माण गरी सुकुना प्रा.वि. को स्थापना भएको हो । सरकारी स्वीकृति प्राप्त गर्न यहाँका अभिभावकहरू निरन्तर रूपमा लागिरहनुभयो ।

तत्कालीन शिक्षा मन्त्री श्री हीरालाल विश्वकर्मा र क्षेत्रीय शिक्षा निर्देशक श्री नीरमर्दन बस्नेत विद्यालय निरीक्षण गर्न आउँदा विद्यालय स्वीकृत गर्न कम्तीमा ५ बिघा जग्गा हुनुपर्ने सर्त राख्दा उपस्थित शिक्षाप्रेमी अभिभावकहरू मध्ये एस. पि. श्री चन्द्रकान्त शर्माले १ बिघा, श्री बमबहादुर थापाले १ विघा, लप्टन श्री तिलविक्रम मास्केले १ बिघा, डिट्ठा श्री रत्नबहादुर खड्काले १० कट्ठा, सुबेदार श्री रुद्रबहादुर थापाले १० कट्ठा, श्री सलबहादुर बस्नेतले १० कट्ठा, तहविलदार श्री हर्कनारायण प्रधानले ४ कट्ठा, श्री कृष्णमणि राजभण्डारीले ६ कट्ठा ९ धुर र राधाकृष्ण ढकालले ४ कट्ठा जग्गा दिने सहमति भएपछि विद्यालय स्वीकृत गर्ने आधार तयार भयो र मिति २०३१/११/२१ मा गणेश नि.मा.वि. चौप्राहको नि.मा कक्षा र भोगटेनी प्रा.वि. अँधेरीको प्रा.वि. कक्षासमेत एउटै मितिमा यहाँ गाभी नि.मा.वि. कक्षाहरूसमेत सञ्चालन गर्ने स्वीकृति प्राप्त भयो ।

तत्कालीन अवस्थामा कक्षा ४ र ५ पनि नि.मा.वि. तहमा नै राखिएको थियो । कक्षा ६ र ७ को स्वीकृति मिति २०३२/०८/०५ मा प्राप्त भएको थियो । नि.मा.वि. स्वीकृतिपश्चात् मा.वि. सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरी प्रयासहरू अघि बढाउँदै जाने क्रममा मिति २०३६/१०/०१ देखि कक्षा ८ सञ्चालन गर्न पाउने अनुमति प्राप्त भई मिति २०३९।११।२० मा स्वीकृति प्राप्त भयो । मा.वि. पूर्ण रूपमा सञ्चालन गर्ने स्वीकृति मिति २०४२÷०३÷३० मा पाएको भए तापनि यस विद्यालयले २०३९ सालको एसएलसी परीक्षामा प्रथम पटक विद्यार्थीहरूलाई सामेल गराएको थियो । वि.स. २०३१ सालदेखि नि.मा.वि. र २०३९ सालदेखि माध्यमिक विद्यालयको रूपमा स्वीकृत भएको यो विद्यालय वि.स. २०६८ सालदेखि उच्च माध्यमिक विद्यालयका रूपमा सञ्चालित हुन सफल भएको छ भने मोरङ जिल्लाकै एक मात्र विद्यालयका रूपमा वि.स. २०७० सालदेखि सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गर्न सफल भएको छ । नेपाल सरकार र विद्यालय क्षेत्र विकास कार्यक्रम क्क्म्ए को अवधारण अनुसार नमुना विद्यालय स्थापना गर्न आवश्यक प्रकृया अगाडि बढाएपछि २०७४।०३।१५को शिक्षा विभागको निर्णयअनुसार देसका जम्मा २२२ विद्यालयलाई नमुना विद्यालय बनाउन छनोट भएका विद्यालयमध्धे यो विद्यालय पनि एक हो ।

यस विद्यालयको नामकरण त्यसबेला अस्थायी पैनीका रूपमा रहेको सुकुना खोलाको नामबाट गरिएको हो । वर्षा समयमा खदम खोला बढ्दा पानी बग्ने र हिउँदमा सुक्ने भएको हुँदा खोलाको नाम सुकुना रहन पुगेको र सोही खोलाकै नामबाट त्यसैका किनारमा वि. सं. २०२९ साल पुस महिनामा स्थापना गरिएको विद्यालयको नाम पनि सुकुना राखिएको पाइन्छ । एस. पि. श्री चन्द्रकान्त शर्माले दान दिनुभएको जग्गा (हालको स्थान) मा विद्यालय वि.सं. २०३१ सालमा सारिएको थियो ।

विद्यालय विकासक्रम एवम् स्थानीय समुदायको योगदान :
तत्कालीन हरैँचा गाउँ पञ्चायतको वडा नं. ९ अन्तर्गत पर्ने यो सुकुना उच्च मा.वि. स्थानबाट त्यस बेला मा.वि. स्तरको शिक्षा लिनका लागि सबैभन्दा नजिक दूरी भनेको करिब ६ कि.मी दक्षिणमा रहेको जनता मा.वि. र सलकपुर बुधबारेमा रहेको जनता प्रा.वि.ले मात्र यस क्षेत्रका सम्पूर्ण बालबालिकाहरूलाई समेट्न सक्ने सम्भावना थिएन । यस्तो प्रतिकूल अवस्थामा यहाँ अभिभावकहरू आफ्ना सन्तानको भविष्यप्रति चिन्तित थिए । यस सन्दर्भमा यहाँका सचेत र उत्साही व्यक्तिहरूको सक्रियतामा वि.स. २०२९ साल पुस महिनामा खोर्साने चोकदेखि करिब १०० मिटर दक्षिणतर्फ सन्ठीको बेराले घेरिएको ३ कोठे कच्ची भवन निर्माण गरी सुकुना प्रा.वि. को स्थापना भएको हो । स्थापना गर्दाको स्थानमा करिब ६ महिनासम्म सञ्चालन गरेपछि हाल विद्यालय रहेको स्थानमा १ बिघा जमिन खरिद गरी विद्यालय सारेर सञ्चालन गरिएको हो । विद्यालय स्थापनापश्चात् त्यसलाई सञ्चालन गर्न भौतिक पूर्वाधार जुटाउने क्रममा २०३५ सालभन्दा पछि स्थानीय समाजसेवी श्री मानबहादुर बस्नेतले पक्की कोठा– १, यस विद्यालयका शिक्षक श्री पुष्पराज ढकाल र उहाँका परिवारहरूद्वारा पक्की कोठा– १ निर्माण गरी विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

भौगोलिक अवस्था :
नेपालका वर्तमान संरचनाबमोजिम सात प्रदेसमध्ये प्रदेस नं. १ अन्तर्गत मोरङ जिल्लाको लगभग उत्तरी खण्डमा महेन्द्र राजमार्गसँग जोडिएर सुकुना माध्यमिक विद्यालय रहेको छ । मोरङ जिल्लाको सुन्दरहरैँचा न.पा.–१० मा अवस्थित यस श्री सुकुना माध्यमिक विद्यालय मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट २८ कि.मी. उत्तर–पूर्व र सुनसरीको इटहरीदेखि १२ कि.मी. पूर्व रहेको छ । यो विद्यालय विराटचोक र खोर्सानेको बिचमा महेन्द्र राजमार्गको उत्तरमा रहेको छ । विश्व मानचित्रअनुसार विद्यालय २६० ४०’ ८” उत्तरी अक्षांश र ८७० २३’ २८” पूर्वी देशान्तरमा समुद्र सतहदेखि लगभग १४० मिटर उचाइमा रहेको छ ।

विद्यालय रहेको समुदायको बनोट तथा विद्यालय सेवा क्षेत्र :
यस विद्यालयको सेवाक्षेत्रभित्र वर्तमानमा सुन्दरहरैँचा नगरपालिकाको उत्तर पूर्व भाग र बेलबारी नगरपालिकाको पश्चिमी भाग पर्दछन् । यस क्षेत्रमा समुदायको पहलमा सञ्चालित सुकुना मा. वि. कै पहलमा स्थापना भएको पूर्वाञ्चलकै प्रतिष्ठित सुकुना बहुमुखी क्याम्पस सञ्चालित छ । यस क्षेत्रमा १० ओटा संस्थागत मा. विद्यालयहरू सञ्चालित छन् । दिनानुदिन सहरीकरणतर्फ उन्मुख यस क्षेत्रको जनघनत्व तीव्र गतिमा बढिरहेको छ । यसका साथै सचेत अभिभावकहरूको सङ्ख्यामा समेत बढोत्तरी भइरहेको छ । स्थापनाकालमा यस विद्यालयका लागि जग्गा उपलब्ध गराउनेदेखि लिएर भवन निर्माण गर्ने कार्यका लागि उत्सुक स्थानीय अभिभावकको ठूलो योगदान रहेको छ । विद्यालयको विकासक्रमसँगै यसका शैक्षिक कार्यक्रमहरू थप गर्नाका साथै विद्यालयको पक्की शिक्षण भवन र प्रशासनिक भवन निर्माण गर्ने सन्दर्भमा यहाँका शिक्षक, कर्मचारी, स्थानीय समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी अभिभावकहरूको ठूलो भूमिका रहेको छ । यस विद्यालयको सेवा क्षेत्रभित्र क्षेत्री, ब्राह्मण, नेवार, राई, लिम्बू, तामाङ, मगर, गुरुङ, विश्वकर्मा, दर्जी, सार्की, थारू, झागड, मुसहर, दनुवारलगायत सबै जातजातिहरूको मिश्रित बसोवास रहेको छ । यस क्षेत्रमा सचेत अभिभावकहरूको बसोबास भएकै कारणले आफ्ना छोराछोरीहरूलाई गुणस्तरीय शिक्षा दिलाउने कुरामा यस विद्यालयको स्तरोन्नति, समयानुकूलको प्राविधिक शिक्षा, अङ्ग्रेजी माध्यममा समेत पठनपाठन हुनुले यो विद्यालय मोरङ जिल्ला कै प्रतिष्ठित सामुदायिक मा. वि. का रूपमा स्थापित हुन सफल भएको छ ।

विद्यालयमा सञ्चालित कार्यक्रमहरू :

विद्यालयमा हाल सञ्चालनमा रहेका शैक्षिक कार्यक्रमहरू, निम्न अनुसार छन्ःक. यस विद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमहरू :

 शैक्षिक वर्ष २०३९ देखि माध्यमिक तह (कक्षा १ देखि १० सम्म) सञ्चालन ।
 शैक्षिक वर्ष २०५५ देखि विशेष शिक्षाअन्तर्गत (सुस्त श्रवण, हाल स्रोत कक्षा) सञ्चालन ।
 शैक्षिक सत्र २०६३ देखि बाल विकास कक्षा सञ्चालन ।
 शैक्षिक वर्ष २०६७ देखि खुला एसएलसीको कक्षा सञ्चालन ।
 शैक्षिक सत्र २०६९ देखि उच्च मा.वि. तहमा विज्ञान विषयको कक्षा सञ्चालन ।
 वि.स. २०६९ सालदेखि एसएलसीको उत्तपुरपुस्तिका परीक्षण केन्द्र ।
 शैक्षिक सत्र २०७० देखि प्राविधिक शिक्षाअन्तर्गत कक्षा ९ देखि सिभिल इन्जिनियरिङ विषयका      कक्षा सञ्चालन ।
 शैक्षिक सत्र २०७१ देखि अङ्ग्रेजी माध्यममा समेत कक्षा सञ्चालन हाल कक्षा नर्सरी देखि कक्षा      १० सम्म नै अङ्ग्रेजी माध्यामका कक्षा सञ्चालन ।
 शैक्षिक सत्र २०७२ देखि प्राविधिक शिक्षाअन्तर्गत कक्षा ११ र १२ मा सिभिल इन्जिनियरिङ            विषयका कक्षा सञ्चालन ।

ख. अन्य कार्यक्रमहरू :
विशेष शिक्षा कार्यक्रम :
नेपाल सरकार, शिक्षा मन्त्रालयको विशेष शिक्षा कार्यक्रमअन्तर्गत स्वीकृत विशेष कक्षा (सुस्त श्रवण, हाल स्रोतकक्षा) बालबालिकाका लागि यस विद्यालयमा वि.सं. २०५४ सालदेखि सञ्चालन हुँदै आएको छ । ती विद्यार्र्थीहरूको पठनपाठनका लागि तालिमप्राप्त दुई जना स्रोत शिक्षक र सहयोगका लागि सहयोगी कर्मचारी (आया) दुई जनाको व्यवस्था गरिएको छ भने टाढा घर भएका विद्यार्थीहरूको लागि छात्रावासको समेत व्यवस्था गरिएको छ । शैक्षिक वर्ष २०६४ देखि ती विद्यार्र्थीहरूको क्षमताअनुसार माथिल्लो कक्षामा समाहित शिक्षण गराउँदै आइएको छ ।

खुला विद्यालय सञ्चालन :
नेपाल सरकार, शिक्षा मन्त्रालयले गरेको प्रावधानअनुसार कक्षा ८ उत्तीर्ण गरी विविध कारणले माध्यमिक तहको अध्ययनको अवसर नपाएका १७ वर्ष उमेर पूरा गरेका विद्यार्थीहरूले सिधै कक्षा १० मा खुला शिक्षाअन्तर्गत भर्ना लिन सक्ने र सोका लागि वि.सं. २०६७ सालदेखि यस विद्यालयमा कक्षा सञ्चालनको अनुमति प्राप्त भई बर्सेनि २०० देखि ३०० जनासम्म विद्यार्थीहरू एसएलसी परीक्षामा सामेल हुँदै आएका छन् ।

बालअधिकार चेतना समूह : (बाल क्लब)
वि.सं. २०५३ सालमा स्थापित बालअधिकार चेतना समूह विद्यालयमा निरन्तर रूपमा सञ्चालित छ । बाल अधिकारप्रति बालबालिकाहरूलाई सचेत गराउँदै उनीहरूमा अन्तर्निहित क्षमताको विकास गराउन यो समूहले महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यस समूहका माध्यमबाट बाल भित्तेपत्रिका प्रकाशन, चित्रकला प्रतियोगिता तथा विभिन्न बौद्धिक स्तरका प्रतियोगिताहरू सञ्चालन हुँदै आइरहेका छन् ।

नेपाल स्काउट :
वि.सं. २०४५ सालमा स्थापना भई विद्यार्र्थीहरूलाई चरित्रवान्, अनुशासित र देशभक्त नागरिक बन्न प्रेरित गर्ने उद्देश्यले स्थापित नेपाल स्काउट यस विद्यालयमा पनि “सुकुना ट्रुप” का नामबाट सञ्चालित छ । विद्यालयले आयोजना गरेको प्रत्येक कार्यक्रमहरूमा यसले सशक्त रूपमा स्वयम् सेवाको कार्य, स्वागत तथा मार्च पासका साथै अन्य कार्यहरू गर्दै आएको छ ।

जुनियर रेडक्रस सर्कल :
वि.सं. २०४६ सालमा स्थापना भई विद्यार्र्थीहरूलाई मानवसेवा, दैवी विपत्तिमा सहयोग, रक्तदान र विद्यालयमा हुने दुर्घटना र चोटपटकमा प्रथमिक उपचार र मानवीय सहयोग गर्न प्रेरित गर्ने उद्देश्यले स्थापित जुनियर रेडक्रस सर्कलका नामबाट सञ्चालित छ । यसबाहेक विद्यालयले स्वास्थ्य संस्थासँग समन्वय गरी आयोजना गरेको जनस्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरूमा यसले सशक्त रूपमा स्वयम् सेवाको कार्य गर्दै आएको छ ।

पूर्व पुर्व बिधार्थीहरुको  सङ्गठन :
वि.सं. २०७० देखि “सुकुना स्वयंसेवी संस्था, नेपाल” सञ्चालन भई विद्यालयका शैक्षिक, भौतिक, आर्थिक र वातावरणीय क्षेत्रमा समेत सहयोग पु¥याउदै आएको छ । हालसम्म यस संस्थाद्वारा ५ थान कम्प्युटर, विद्यार्र्थीहरूको पठनपाठमा सहयोग गरी स्टेसनरी सामग्री तथा विद्यालय हातामा वृक्षरोपण, सूचना एवं जानकारीमूलक स्मारिका प्रकाशन र बर्सेनि बडादसैंको नवमीमा विद्यार्र्थी पुनर्मिलन कार्यक्रम गर्दै आएको छ ।

28194_119701394727871_218619_n

✍️ लेखक: हिकमत बस्नेत सुकुना माधामिक बिधालयका शिक्षक हुनुहुन्छ ।