काठमाण्डौ ,१९ साउन । गोपाल कृति माझी बनेर खोला किनारमा आए। उनकी श्रीमती ममु न्यौपानेले नाचेर उनलाई साथ दिइन्। छोरीले भिडिओ खिचिन्। 'माछीलाई खोलीको लेउ' गीतमा यो दम्पतीले बनाएको टिकटक भिडिओ अहिले भाइरल छ ।
चार दिनअघि युट्युबमा सार्वजनिक हरिवंश आचार्य र मेलिना राईले गाएको यो गीतको भिडिओ जसरी ट्रेन्डिङमा छ, गोपाल र ममुको भिडिओ पनि सामाजिक सञ्जालमा निकै चर्चामा छ।
मान्छेहरूले उनीहरूको अभिनयको प्रशंसा गर्दै भनेका छन्– कस्तो जिवन्त अभिनय यो गीतको म्युजिक भिडिओमा अभिनय गर्ने मुख्य कलाकारहरू, हरिवंश आचार्य, करिश्मा मानन्धर, केकी अधिकारी, पल शाह र गायिका मेलिना राईले पनि उनीहरूको भिडिओ मन पराएर सेयर गरेका छन्। 'राम्रो' भनेर तारिफ गरेका छन्।
टिकटक भिडिओमा रमाएका गोपाल र उनकी श्रीमती ममुले उक्त खुसी साट्दै टेलिफोनमार्फत सेतोपाटीसँग भने, 'अहिले बल्ल मान्छेहरूले कलाको महत्व बुझ्न थाले। हामीलाई हाम्रो कामको सम्मान भएजस्तो महशुस भएको छ।' सेतोपाटीमा सबिना श्रेष्ठले समाचार लेख्नुभएको छ ।




















