इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी निक्कै चर्चामा थिए । उनी र पत्रकार विराट अनुपम गौतमबीचको विवाद हप्ताभरी नै चर्चामा रह्यो ।
यो विषयमा छानविन गर्न नेपाल पत्रकार महासंघले मिसन टोली पठायो । उक्त टोलीले मेयरलाई फोन गरेर उत्तेजित गराएको भन्दै पत्रकारको गल्ती औंल्याएको छ । महांघको मिसनले मेयर चौधरीको समेत कमजोरी औंल्याएको छ ।
इटहरीका पत्रकार गौतमले फेसबुक स्टाटसमा दिने निजी अभिव्यक्तिले विभिन्न व्यक्तिको मानमर्दन हुने गरेको समेत पत्रकार महासंघको मिसनको निश्कर्ष रह्यो ।
इटहरी र धरानमा भएका पत्रकारसँग सम्बिन्धत घटनाहरुको अध्ययन गरी रिपोर्ट पेश गर्न पत्रकार महासंघ प्रदेश १ कमिटीले जेठ २३ गते मोहनकाजी न्यौपानेको संयोजकत्वमा एउटा मिसन टोली गठन गरेको थियो ।
टोलीले मंगलबार प्रतिवेदन बुझाएको छ । मिसन टोलीको निश्कर्षको तेस्रो नम्बर बुँदामा भनिएको छ ‘पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा प्रमुख द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो । साथै पत्रकार विराट अनुपमले पटक–पटक सामाजिक सञ्जाल फेसबुकमा दिने निजी अभिव्यक्ति तथा धारणाले थुप्रै पत्रकार र सामाजिक व्यक्तिको मानमर्दन र प्रतिष्ठामा आघात पुगेको गुनासा थुप्रै पाइयो ।’
मिसनको सुझावमा भनिएको छ, ‘पत्रकारले रिपोर्टिङ गर्दा र अन्तरवार्ता लिने क्रममा व्यक्तिलाई होच्याउने गरी अशिष्ट, अमर्यादित र पूर्वाग्रही प्रश्न गर्नु हुँदैन । पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग पृथक विषय भएको हुँदा पत्रकारले सामाजिक सञ्जालमा विचार र टिप्पणी व्यक्त गर्दा सचेत हुनुपर्दछ ।’ विभिन्न समयमा कतिपय पत्रकारले आचार संहिता र पेशागत मर्यादा पालन नगर्दा समग्र पत्रकारिता जगत नै आलोचित भइरहेको भन्दै मिसनले पत्रकार महासंघले जिल्ला शाखामा गुनासो सुनुवाई शाखा निर्माण गर्नुपर्ने सुझाव समेत दिएको छ ।


