महोत्तरी । फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ । त्यो अभिनय थियो । त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ । गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो । पढाइ भएन र स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई छुट्टी दिएको थयो ।

संघीय समाजवादी पार्टीका केन्द्रीय नेता लक्ष्मी महतोका भतिजको विवाह थियो । पढाइ रोकेर आयोजना गरिएको भोजमा स्थानीय जनप्रतिनिधि र नेताहरू सामेल भए । गन्नेमान्ने निम्तालुले बालबालिका बसेर पढ्ने डेक्स–बेन्चमा भोज खाएको दृश्य रमितलाग्दो थियो ।

ठूला व्यक्तिको बिहेमा बराती राख्न र विवाह भोज खुवाउन पहिलेदखि नै स्कुल बन्द गराउँदै आएको व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन रामले बताए । ‘व्यवस्थान समितिले नै विद्यालयको जग्गा दातालाई आवश्यक परेमा विवाह र व्रतबन्ध गर्न एक दिन स्कुल बन्द गर्न पाइन्छ भन्ने निर्णय गरेको छ ।

त्यहीअनुरूप मंगलबार विद्यालय बन्द गरेर विवाह भोज भयो,’ उनले भने। लक्ष्मी महतो, नरेश सिंह, कपलेश्वर सिंह, शलाम शेकले विद्यालयलाई जग्गा दिएको उनले बताए ।

कक्षाकोठा र कम्पाउन्डमा साँझसम्म भोज खानेको आउजाउ चलिरह्यो । कक्षाकोठा र बच्चा बसेर पढ्ने डेक्स र बेन्च भोजको जुठोले फोहर छ । चपाकलमा पानी खाएर प्लास्टिकका गिलास फ्याँकिएका छन् । विद्यालय परिसर फोहर भएकाले बुधबार पनि पठनपाठन प्रभावित हुने निश्चित छ । यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा छ ।