काठमाडौं,२३ साउन । बेलायतमा कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका सयौं मानिस डेल्टा भेरियन्टबाट संक्रमित भएर अस्पताल भर्ना भएका छन्। उच्च संक्रामक रहेको कोरोनाको डेल्टा भेरियन्टका कारण खोप लगाइसकेका व्यक्तिहरु पनि अस्पताल भर्ना भएको जनाइएको छ।

पब्लिक हेल्थ इङ्ल्याण्डले खोपको दुवै डोज लगाएका सयौं मानिसहरु डेल्टा भेरियन्टको संक्रमणपछि अस्पताल भर्ना भएको पाइएको जनाएको छ। पब्लिक हेल्थ इङ्ल्याण्ड पिएचइले पूर्ण रुपमा खोप लगाएका व्यक्तिले डेल्टा भेरियन्ट सार्न सक्ने चेतावनी दिँदै खोप लगाएकारनलगाएका सबैलाई सजक हुन आग्रह गरेको हो।

बेलायतमा जुलाई १९ देखि अगस्ट २ सम्म डेल्टा भेरियन्टबाट संक्रमित भएका १४ सय ६७ जनामध्ये ५५ प्रतिशतभन्दा बढी अस्पताल भर्ना भएका छन्। अस्पताल भर्ना भएकामध्ये ५ सय १२ जना खोपको दुवै डोज लगाएका व्यक्ति छन् भने बाँकी खोप नलागएका व्यक्ति रहेका छन्।

स्वतन्त्रता दिवसका रुपमा लिइने जुलाई १९ देखि बेलायतमा लकडाउन खुकुलो पारिएको थियो। बेलायतले आफ्ना नागरिकलाई अस्ट्राजेनेका, मोर्डना र फाइजर बायो एनटेक कम्पनीको खोप लगाएको छ। यी सबै खोप दुई दुई डोज लगाउनु पर्छ। तथ्यांकहरु अनुसार बेलायतमा ७५ प्रतिशत व्यक्तिले खोपको दुवै डोज लगाइसकेका छन्।