✍️  राधाकृष्ण देउजा

बुधबार नेपाली राजनीतिमा एउटा दुर्लभ, अपत्यारिलो, अनौठो र अप्रिय परिदृश्य देख्नु पर्यो ! नेकपा एमाले पार्टी निर्माण गरेर, त्यसलाई व्यापक जनताको समर्थन प्राप्त पार्टी बनाएर, अनेकन चुनौतीको समयमा पनि त्यसको संगठनलाई टिकाएर, उकालाे ओरालो पार गराउँदै सफलताको राजमार्गसम्म ल्याउने मध्यका महत्वपूर्ण नेता, पार्टीको लामो समयसम्मको महासचिव माधवकुमार नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी निर्माण गर्नपर्नु भनेको केवल नेकपा एमालेको लागि मात्रै नभएर सिंगो देशकै लागि दुखद, लोकतन्त्रको लागि निराशाजनक घटना थियो।

विगत केही वर्षदेखि एमालेको नेतृत्व गरिरहनु भएका केपी शर्मा ओलीको दम्भ, अहंकारी शैली र अधिनायकवादी व्यक्तित्वको समिश्रणको परिणामस्वरूप भए/गरेका कतिपय गलत निर्णय र अभ्यासहरुले असली एमालेले वैधानिक रुपमा अवलम्बन गरेका नीति सिद्धान्तको बर्खिलाफ गर्दै एमालेको उज्यालो परिचय नै धुमिल पार्दै लागेपछि त्यसको विरुद्धमा निरन्तर आवाज उठाउने नेपालसहितका नेताहरुलाई अनेकन जालझेल, तिकडम प्रयोग गरेर कमजाेर पार्ने, अनेकन ‘इमोसनल ब्ल्याकमेल’ गरेर आफ्ना गलत निर्णय मान्न बाध्य पार्नेलगायत थुप्रै काम केपी ओली र उहाँको समूहले गर्दै आएको त प्रष्ट नै थियो।

तथापि सबै गलत निर्णय र अभ्यासको विरोध गर्दै भएपनि नेपाल समूहले पार्टी एकताको निम्ति अन्तिमसम्म प्रयास गर्नुभयो तर केपी ओली र उहाँको गुटले एकताको गफ गर्न नछोडने, विभाजनको लागि आवश्यक काम गर्न केही नछोडने नीति अवलम्बन गर्दै व्यवहारमा त्यसको कार्यान्वयन गर्दै गएपछि विभाजन अनिवार्य जस्तै बनेकै थियो।

ओली र उहाँको गुटले एमालेलाई के कसरी आफ्नो स्वार्थ अनकुल चलाए, आफु निकटहरुको सम्पूर्ण अपराधको ढाकछोप गर्ने अनि अरुलाई चाहिँ दोषी र अपराधी करार गर्दै हुर्मत लिने काम के कसरी गरे भन्ने प्रष्ट नै भएको बेला त्यतातिर लामो चर्चा आवश्यक छैन। केपी ओलीले आफू सत्तामा टिकिरहँन राजकीय निकायहरुलाई के कसरी दुरुपयोग गर्नु भयो, के कसरी उहाँले आफ्नो सत्ता स्वार्थका खातिर संविधानको मर्म र भावनामाथि खेलेर दुई–दुई पटक जननिर्वाचित संसदको हत्या गर्ने कोशिस गर्नुभयो त्यतातिर पनि खासै चर्चा जरुरी छैन।

झन् पार्टीभित्र आफू नै सर्वेसर्वा भए झैं गरेर आफैं अदालत, आफैं वकिल आफैं न्यायधिशको शैली अपनाउँदै ओलीले व्यक्तिगत जिम्मेवारी सामूहिक नेतृत्वको सु–संस्कारलाई इतिहासको विषय बनाएर एमालेजस्तो अनुशासित ढंगले कमिटी प्रणालीमा चलेको पार्टीलाई तंगभंग पार्नुभयो भनेर पनि खासै व्याख्या जरुरी छैन। उहाँले गरेका नकारात्मक कामहरु र त्यसको फेहेरिस्तालाई उहाँ र उहाँको गुटले नजरअन्दाज गरेको भए पनि नेपाली जनताले राम्रैसँग राखेका छन्।

त्यसैले नै हो कि केपी ओली गुटको सत्ताको समयको अलोकतान्त्रिक, असंवैधानिक हर्कतदेखि अन्तर पार्टी भित्रको अवैधानिक र अधिनायकी प्रवृतिविरुद्ध पार्टी भित्रनै रहेर लामो संघर्ष गर्नुपर्दा पनि पार्टी एकताको खातिर अपमानको विष पिएर कोशिस गर्ने नेपाल समूहकाे इमान्दार प्रयत्न बुझेको जनताले पार्टी विभाजनको बाध्यतालाई पनि बुझेका छन्। त्यसै हुनाले माधव नेपालसहितका नेताहरुले एमाले पार्टी विभाजन गर्दै नेकपा एमाले (समाजवादी) दर्ता गरेको विषयलाई ओली गुटमा रहेकाहरु बाहेकले बाध्यताको उपज कै रुपमा बुझेको छ।

अब जे हुनु भैसकेको छ। आन्तरिक एकताको निम्ति नेपालका सबै पार्टीभन्दा अब्बल मानिएको नेकपा एमाले आज त्यसको अध्यक्षमा रहेको दम्भ र अहंकारले गर्दा विभाजित भएको छ। अब त एमाले केपी ओलीले गरेका तमाम अलोकतान्त्रिक, असंवैधानिक हर्कतहरुलाई गलत भन्न नसक्ने बरु त्यस्ता खेदजनक कामहरुलाई ऐतिहासिक आवश्यकता, महान काम वा यस्तै केही भन्न बाध्य हुनुपर्नेहरुको भिडमा रुपान्तरण हुने पक्कै छ।

अहिले विभिन्न हिसाबले भ्रमित भएर एमालेमा रहेका थुप्रै असल, इमान्दार, देशभक्त र लोकतन्त्रवादीहरुले पनि क्रमश केपी ओलीको अधिनायकवादी हर्कतलाई दुत्कार्ने र आफूलाई देश, जनता र लोकतन्त्रको पक्षमा लामबद्ध गर्ने पक्का छ। संक्षेपमा भन्नु पर्दा 'म नै सर्वेसर्वा हुँ, मैले जे भने त्यही सत्य हो' भन्ने खालको महाराजीय शैली अहिलेको चेतनशील जनताले स्वीकार्ने छैनन्। तसर्थ अब ओलीहरुले हात पार्ने भनेको असफलता मात्रै होl

तर, ओली र उनको हुकुम तामेली गर्नेहरुको भिड असफल हुन्छ भन्दैमा मात्रै माधव नेपालहरुको नयाँ राजनीतिक दल सफल हुन सक्दैन। न त अहिले नै उहाँहरु असफल नै हुनुहुन्छ भनेर भन्ने समय आएको छ। लामो समयसम्म एमाले पार्टीको प्रमुख अनि केही वर्ष प्रधानमन्त्री भैसक्दा पनि माधव नेपालको आर्थिक इमान्दारितामा कुनै सवाल उठेको छैन। बरु जवर्जस्ती उठाउन खोजिएको सवालहरुलाई पनि तथ्यले गलत सावित गरिदिएको छ, उहाँको लोकतन्त्रप्रतिको निष्ठाले पनि सदैव विश्वसनीय निरन्तरता पाएको छ।

झन् पछिल्लो दिनमा त चुनौतीको सामना गर्न तयार भएर पनि आफ्नै पार्टीको नेतृत्वको सरकारको अलोकतान्त्रिक, असंवैधानिक कामविरुद्ध उभिएर नेपाल आफूलाई लोकतन्त्र, संवैधानिक सर्वोच्चता सहितको कानूनी शासनको मसिहा नै देखिनु भएको छ। तर, त्यतिले मात्रै पनि नेपालको नेतृत्वलाई सफलताको 'फ्री पास' दिने छैन।

एकदम नलुकाई भन्ने हो भने वैकल्पिक राजनीतिक शक्तिको व्यग्र प्रतिक्षामा रहेको नेपाली सामाजमा आफ्नो राजनीतिक जीवन दाउमा लगाएर भएपनि गलत पात्र र प्रवृतिको विरुद्ध उभिने नेपाल र उहाँको नेतृत्वमा बनेको पार्टीका अगाडि असिमित सम्भावनाहरु चाहिँ जरुर छन तर त्यो सम्भावनाहरु चुनौतीरहित छैनन्। विगतमा उहाँसमेत संलग्न दलदेखि गठबन्धनका सारथीहरुले गरेको  कतिपय हर्कतले गर्दा उहाँहरुप्रति आशंका र अविश्वास जरुर छन्।

विद्यमान सम्भावनाहरुको सही पहिचान अनि सम्भावनाहरुसँगै जोडिएको चुनौतीहरुको सम्बाेधनमार्फत् अगाडि बढन् सक्दा मात्रै माधव नेपालको नेतृत्वको एमाले (समाजवादी) सफल हुनेछ भन्ने सत्यको मनन उहाँहरुको सफलताको पहिलो खुडकिलो हो। यसो भनेर विद्यमान चुनौतीहरुलाई सम्बाेधन गर्दै सफल हुन एमाले (समाजवादी) ले के-कसो गर्नपर्ला भन्ने विषयलाई अमूर्त छोड्न उचित हुने छैन।

तसर्थ, नेपालको राजनीतिमा निष्ठा, इमान्दारिता, सरलता, स्वच्छता र सक्रियताका प्रतिक माधव नेपाल र उहाँको नेतृत्वमा रहेको दल सफल होस् भन्ने शुभकामनासहित निम्न कामहरु गर्दा मात्रै उहाँहरु सफल हुनसक्नु हुनेछ भन्ने सत्यको वर्णन उचित ठानेर यहाँ प्रस्तुत छ :

१. नेपालको राजनीतिमा तुलनात्मक रुपमा एमाले अरुभन्दा लोकप्रिय थियो भन्नेमा दुईमत छैन। तर पनि त्यो कमजोरीरहित थिएन। त्यो स्वयम् माधव नेपालको नेतृत्वको समयमा पनि कमजोरीरहित थिएन नै। भलै त्यसो भएको चाहिँ माधव नेपालको कारणभन्दा पनि उहाँको निकट रहने र अवसरहरुको दोहन गर्ने, देश जनता र पार्टीको हितभन्दा आफ्नो हितमाथि राख्ने दोक्लाहरुको भूमिकाले रहेछ भन्ने बल्ल सबैले बुझ्न पाए। अब चाहिँ माधव नेपालको नेतृत्वको पार्टीलाई ढुलमुल गर्ने छुट छैन, बहुअर्थी निर्णय गर्ने छुट छैनl अब एमाले (समाजवादी)ले गर्ने हरेक निर्णयमा पछिल्लो दिनहरुमा माधव नेपालले देखाउनु भएको दृढता अनिवार्य हुनेछ।

२. हो, एमाले (समाजवादी)को गठनको अग्रमोर्चामा देखिनु भएका माधव नेपालसहितका नेताहरुको आर्थिक इमान्दारितामा कुनै सवाल छैन। त्यसमा कुनै शंका छैन। तर विगत एमालेमा चाहिँ समय–समयमा अनेकन तरिकाका अनैतिक, भ्रष्ट्र र स्वार्थी प्रवृति र पात्रहरु देखिएकै हुन्। त्यस्ता प्रवृति र पात्रहरुको पहिचान हुनासाथ उनीहरुको दोहोलो काँढनुपर्ने जिम्मेवारीको वहन समयमा सही ढंगले हुन नसकेको सत्य हो। यदी त्यस्तो भएको हुन्थ्यो भने नेकपा एमालेमा अलोकतान्त्रिक, असंवैधानिक रुपमा संसद विगटन गर्नेहरु नेतृत्वमा पुग्ने पक्कै थिएनन् होला। न त जनताको स्वास्थ्यसँग खेलवाड गर्दै स्वास्थ्य सामग्री खरिदमा भ्रष्टचार गर्नेहरुले नै अवसरमा पुग्ने हैसियत बनाउने थिए होलान्।

खैर, जे होस् अब इतिहासतर्फ हेरेर गल्ति सम्झेर पछुताउनुभन्दा विगतको गल्ती नगर्ने, गलत पात्र र प्रवृतिको पहिचान हुनासाथ त्यस्ता पात्रहरुलाई निरुत्साहित अनि प्रवृतिलाई  निमिट्यान्न पार्न कुनै मोलाहिजा गर्नुहुँदैन।

३. कोही व्यक्तिमा पनि अहंकार, दम्भको सृजना एकै दिनमा हुँदैन। कोही पनि एकै दिनमा अधिनायक हुँदैन। त्यसको लामो  शृंखला हुन्छ र त्यसको सुरुवात चाहिँ 'उहाँले भनि त हाल्नु भयो, ठिकै छ नि' भन्ने शैलीमा नेतृत्वको गलत कुरा स्वीकार गर्ने कामबाट हुन्छ।

एमालेमा ओलीको गुटगत शैली र अधिनायकी व्यक्तित्व त्यस्तैबाट विकसित हुँदै विकराल भएको हो। त्यसैले त्यसबाट शिक्षा लिंदै एमाले (समाजवादी)ले आफूलाई खुल्ला छलफल, आलोचना आत्मालोचनाको केन्द्र बनाउनु पर्छ। आवश्यकता पर्छ भने एक पटक हैन, पटक–पटक नेतृत्वको कमजोरीमाथि निर्मम प्रहार गरिनुपर्छ, नेतृत्वले ल्याएको प्रस्तावहरुमाथि पनि गम्भीर विचार विमर्शको गर्दै ठिक केवल ठिक मात्रै निर्णय गर्ने संस्कार बसालिनुपर्छ।

ओली नेतृत्वमा रहेको एमाले नामको गुटमाजस्तो अनेकन शिर्षकका पद हुने, त्यसमा पदाधिकारी पनि हुने तर उस्तै परे वडा कमिटी तहको निर्णय पनि केबल ओलीले गर्ने जस्तो काम कमसेकम माधव नेपाल नेतृत्वको पार्टीमा कहीँ कतै कुनै पनि बेला हुनुहुँदैन। सामुहिक नेतृत्व व्यक्तिगत  जिम्मेवारीको सुन्दर अभ्यासलाई फेरि अभ्यासमा ल्याउँदा मात्रै पनि नयाँ उर्जा आउनेछ भन्ने हेक्का रहनु पर्ला।

४. नेपालको राजनीतिमा विकृति, विसंगति, कु–संस्कार र भ्रष्टचार यत्रतत्र सर्वत्र छ। त्यो ओली नेतृत्वको दल र त्यसमा पनि उहाँबाट संरक्षित समूहमा मात्रै सिमित छैन, त्यो हरेक पार्टी अनि हरेक तह र तप्कामा छl  त्यसैले गर्दा जनताको ठूलाे पंक्तिमा निराशा छ, आक्रोश छ र उनीहरु भ्रष्टचारलाई दुत्कार्ने अनि भ्रष्टचारीहरुलाई पछार्न सक्ने शक्तिको खोजिमा छन्।

सदाचारको विशिष्ट उदाहरण रहन सफल माधव नेपाल नेतृत्वको पार्टी नेपाली जनताले खोजेको त्यो वैकल्पिक शक्तिको रुपमा उदाउन जरुरी छ। जसले भ्रष्टचारको भण्डाफोर र भ्रष्टचारीलाई दण्डित गर्ने अभियानको नेतृत्व गरोस्। त्यसो गर्न असम्भव पनि छैन, त्यसो गर्न सर्वप्रथम माधव नेपालले आफूले अहिलेसम्म नगरेको भ्रष्टचारजन्य काम गर्ने छुट आफ्ना कोही नेता कार्यकर्तालाई हुने छैन भन्ने सन्देश दिन सक्नुपर्छ। अनि भविष्यमा कहीँ कतै आफ्नो पार्टीका कोही कसैले भ्रष्टचार गरेको थाहा हुन आएमा तीनीलाई आफ्नै अग्रसरतामा कठघरामा उभ्याउनु पर्छ।

५. देश, जनता र लोकतन्त्रभन्दा ठूलो कोही हैनन भन्ने मुलमन्त्र मानेर अगाडी बढिरहनुपर्छ र त्यस मान्यतामा दृढ रहँदा जोसुकैसँग आवश्यकता अनुसार संघर्ष गर्न तयार हुनुपर्छ। हालको राजनीतिक माहोल हेरेर, केपी ओलीको असंवैधानिक हर्कतलाई रोक्न बनेको गठबन्धन जोगाउन माधव नेपाल नेतृत्वको पार्टीले त्यसमा रहेका दलहरुको जस्तोसुकै कुरालाई अनदेखा गर्ने हो कि? गठबन्धनमा आधारित सरकारले विभिन्न दबाव प्रभावमा परेर गर्न सक्ने जनविरोधी कामहरुको कहीँ कतै साक्षी बस्ने काम पो हुने हो कि? लगायत थुप्रै आशंका जनताको मनमा छन्। त्यसलाई आफ्नो व्यवहारमार्फत् दुर गरेर, जोसुकैले गर्ने गलत कामलाई भण्डाफोर गरेर आफ्नो जनपक्षधरता प्रमाणित गर्नु अनिवार्य छ।

६. सत्ता र शक्तिको क्षणिक लाभको लागि लिप्त भएर लाग्दै गर्दा जनतामा जान छोडने, संगठन निर्माण र सुदृढीकरणको महत्वलाइ नजरअन्दाज गर्दा थुप्रै स्थापित पार्टीहरु समाप्त भएका छन भन्ने सत्यको स्मरण गर्दै सत्ता संचालनको हिस्सेदारी र जनताको विचमा गएर संगठन गर्नेको बीचमा तादम्यता मिलाउन पर्छ। जनताको बीचमा जाने, जनतासंग एकाकार हुने काम गर्दै जनतामा स्थापित हुँदै लोकप्रिय रहिरहन सकिन्छ भन्ने एमाले नामको केपी गुटले भुलेको सत्य माधव नेपाल नेतृत्वको एमाले समाजवादीले चाहिं कहिल्यै भुल्नु हुदैनl तसर्थ, तत्काल जनतामा जानु पर्छ, सिंहदरवार भन्दा जनताको घरवारमै रमाउनु पर्छ।

७. माथि भनिए अनुसार सबै गर्दैगर्दा पनि भुल्न नहुने एउटा तथ्य के हो भने एमाले पुनर्गठन गर्दै निर्माण भएको एमाले (समाजवादी)को दैनिक सांगठानिक काम गर्न आवश्यक आर्थिक जोहो के कसरी हुन्छ ? भन्ने गम्भीर सवाललाई अनदेखा गर्न हुँदैनl

यद्यपि, त्यही सवालको उत्तर खोज्न उद्योगी व्यपारी, तस्कर विचौलियाको सम्झना गर्न थालियो भने चाहिँ विराटनगर जान बाग्लुङ्ग जाने बस चढेजस्तो हुनेछ। त्यसो भए के त भन्दा यदी साँचो अर्थमा जनताको पार्टी बनाउन ए, भ्रष्टहरुको हुर्मत लिने सामर्थ्य राख्ने पार्टी बनाउने हो भने देश विदेशमा रहेका नेपालीहरुले आवश्यक सम्पूर्ण सहयोग गर्ने पक्का छ। त्यसको लागि आवश्यकता हुन्छ त केवल नैतिकता, इमान्दारिता र सरलता सहितको राजनीति गर्ने प्रतिबद्धता र त्यसको व्यवाहारिक अभ्यासको।

अत: नेकपा एमालेभित्र हुर्किएको तमाम नकारात्मकतालाई दुत्कार्दै सकारात्मक ढंगले नयाँ शिराबाट अगाडि बढने आँट गरेर गठन गरिएको नेकपा एमाले (समाजवादी) ले  आफूलाई जनताको बीचमा स्थापित गर्न माथि उल्लेखितसहित अन्य थुप्रै काम नगरी हुने छैन। राम्रो काम गर्ने गफ हैन, जनताले भने झैं राम्रो गरेमा नेकपा एमाले (समाजवादी) ले आफूलाई जनताले खोजे जस्तो वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न अवश्य सक्नेछ।

तर, फेरी पनि भन्नै पर्छ कि- यो एक्काइसौँ शताब्दी हो जहाँ गफ हैन काम बिक्नेछ। बि एल मिडियाबाट