बेलबारी,९ भदौ । बेलबारी नगरपालिकाकी उपमेयर एवम् गीतकार,कवि तारा पराजुलीको रचना रहेको तीज गीत म्युजिक भिडियोसहित बुधबार सार्वजनिक भएको छ।उपमेयर पराजुलीको रचना रहेको उक्त गीतलाई अहिलेकी चर्चित गायिका सरु गौतम र गायक आर सी सापकोटाले स्वर दिएका छन्।
हरेक बर्ष भाद्र महिनामा पर्ने नेपाली नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर बजारमा आउँदै गरेको उक्त गीतको सङ्गीत भीम वि सीले गरेका छन्।यसैगरी एरेन्ज नरेन्द्र वियोगीले गरेका छन्।म्युजिक भिडियोमा अहिलेका चर्चित कलाकारहरु मेक्सम खाती,विना राउत,सोनी महत,कजिश श्रेष्ठ,लगायतका चर्चामा रहेका कलाकारहरुको अभिनय रहेको छ।चर्चित कलाकारहरुको म्युजिक भिडियोमा प्रस्तुति रहेका कारण उक्त गीतले राम्रोसँग दर्शकको मन जित्ने गायिका सरु गौतमले बताएकी छन् ।
बर्षेनी नेपाली नारी जगतले गर्वका साथ उल्लासमय ढंगले मनाउँने तीज पर्व पछिल्लो समय तडक भडक र अनावश्यक भड्किलो हुँदै गएकोले तीज पर्वको मौलिकता गरिमा जोगाउँन तीज मौलिक र महिलाहरुको स्वतन्त्र र सार्वभौम पर्व बने मात्र यस पर्वको ऎतिहासिक सांस्कृतिक पक्ष जीवित रहने भएकाले सचेतनासँगै मनोरञ्जन पक्षलाई गीतमा समेटिएको (.....`गहनापात महँगो साडी चाहिँन्नँ बरु मसिनो मिठो ऋणपान गरि खाइन्नँ बरु ´ बरु...) छ- उपमेयर एवम् गीतकार पराजुलीले भनिन्।
साथै गीतकार तारा पराजुलीले वर्तमान समयमा चर्चामा रहेका गायकगायिकाहरुले गीतमा स्वर दिएको,संगीत क्षेत्रमा सफल संगीतकार द्वारा संगीत भएको र प्रतिभाशाली कलाकाकारहरुको अभिनय रहेकोले उक्त गीत सफल बन्ने कुरामा आफू विश्वस्त रहेको र सबै दर्शक श्रोताहरुलाई उक्त तीज गीतलाई सुनेर हेरेर माया गरिदिन आग्रह गरिन्। तीज गीत वेभ रेकर्डिङ स्टुडियो अनामनगरले रेकर्डिङ गरेको छ। उक्त गीत काठमाडौमा एक कार्यक्रमबीच सार्वजनिक भएको गायिका सरु गौतमले बताइन्।



















