केपी ओलीको दम्भ, अहँकार , स्वच्छाचारिता , अलोकतान्त्रिक आचरण र असंवैधानिक रवैया विरुद्ध लडन सम्म लडदा पनि नभए पछि, सिधा सोझा कार्यकर्ताको सामु आफ्ना सबै कर्तुत लुकाउने अनि केवल एकताको राग अलाप्ने काम केपी ओली बाट निरन्तर गरिने र त्यस भ्रमले तत्काल कतिपयलाइ नछोडने स्पष्ट भए पछि तत्कालको लागि भ्रमितहरुलाइ छोडेर भए पनि सहि नीति , विचार र व्यवहारका पक्षधरहरु मिलेर पार्टी पुनर्गठन गर्नु पर्छ भन्ने निष्कर्षको आधारमा नेकपा एकीकृत समाजवादी गठन भएको छ ।

यसको गठन एक प्रकारको वाध्यताको कारण भएको भए पनि जे भएको छ राम्रो भएको छ । कमसेकम निष्ठा , इमान्दारिता , सत्यता र स्वच्छता सहितको सक्रियता भएका मात्रै हरुको अगुवाईमा पार्टी बनेको छ । त्यस पार्टीका नेताहरुबाट आफुहरुमा रहेको असली गुणहरुको मात्रै संरक्षण र सदुपयोग भयो भने मात्रै पनि त्यसले जनताको मन जितेर छिट्टै जनताको पार्टी हुनेछ । अव नेकपा समाजवादीका नेता कार्यकर्ताहरु सबै संगठन निर्माण र विस्तारमा लाग्नु पर्छ । अरु वेतुकका वहस , विवादमा अलमलिनु बिल्कुल हुदैन । एमाले विभाजन र एकीकृत समाजवादी गठन हुँदै गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमालेमा गलत प्रवृति विरुद्ध लडदै गर्दा मात्रै नभएर विगत लामो समय देखिको वहाँका सहकर्मी सहयोद्धाहरु भिम रावल , सुरेन्द्र पाण्डे , रघुजी पन्त , अष्टलक्ष्मी शाक्य , युवराज ज्ञवालीहरुले विद्रोह भन्दा केपी ओली संग लत्रिएर भए पनि सहकार्य गर्न देखाउनु भएको अग्रसरतालाइ धेरैले वहाँहरुको व्यक्तित्व नसुहाउने , वहाँहरुको आफ्नै सिद्धान्त संग नमिल्ने कदम भनेका छन ।
जुन कुराहरु अप्रिय हुन तर सत्य हुन । त्यतिको संघर्षशिल छवि बनाएको नेताहरुले प्रतिगामी , अलोकतान्त्रिक , असंवैधानिक कदमका नाइके संग हात मिलाउन निष्ठा र इमानको मुहान छोडनु किमार्थ दुखद र अत्यन्त दुखद कुरा हो । यद्धपि वहाँहरुको वर्तमानको कमजोरीलाइ आधार मानेर वहाँहरुको विगतलाइ नै शंका गर्ने र वहाँहरुलाइ यसो त्यसो भन्ने काम राम्रो हुदैन । झन वहाँहरुले हिजो संघर्षको मैदानमा केपी ओलीको गलत कदमको विरुद्ध अन्तरमनबाट बोलेका आवाजहरुलाइ आज खिसीट्युरीको विषय बनाउनु हुदैन ।
सबैले बुझ्नु पर्छ कि आज जसरि उदेक लाग्दो गरेर वहाँहरु लत्रेर गएको सत्य हो , ठिक त्यसै गरेर हिजो केपी ओलीको गलत कदमहरुको विरुद्ध दृढता साथ लाग्नु भएकै हो । त्यसैले त्यतिवेला बोलेका वहाँहरुको भनाइहरुलाइ अहिले पनि सम्मान गरौँ । अहिलेको लागि वहाँहरुको कमजोरी के मात्रै हो भने वहाँहरुले चुनौतीको सामना गरेर भए आफुले नै निर्माण गरेको नीति सिद्धान्तको पक्षमा उभिनु पर्थ्यो न कि ति सबैलाइ तिलान्जली दिएर केवल कथित पार्टी एकताको रटान गर्दै प्रतिगामी संग घाँटी जोडनु पर्थ्यो । आशा गरौँ केपी ओलीको अपरिवर्तनीय हेपाहा शैलीले गर्दा वहाँहरुको जमिर जाग्नेछ र फेरी एक पटक वहाँहरुमा वहाँहरु आफैंले हाललाइ दबाउनु भएको क्रान्तिकारिता जाग्नेछ ।



















