उसले त गजब्बै गर्यो ? ( लक डाउन कविता -९ )

✍️ सुभाषचन्द्र देवकोटा

उसको पछि लागेपछि,
उसले त गजब्बै गर्यो !
**
अरुलाई पछारेर!
मालदार अफिस भेट्टायो!
शहरै पिच्छे घरघडेरी जोड्यो !
पैदाल हिड्न छोडेर पजेरो चड्न थाल्यो!
भात खान छोडेर भुजा ज्युनार गर्न थाल्यो!
उसले त गजब्बै गर्यो!
***
अरुको खुट्टा तानेर,
मालदार अफिस भेट्टायो!
स्कुल र अस्पतालको मालिक बन्यो!
मान्छेको व्यापार गर्न म्यानपावर कम्पननी खोल्यो!
अड्डा अदालतको सेटिङ्ग मिलाउन सिपालु भयो!
माहिलीको भट्टी छोडेर विदेशी रक्सी खान थाल्यो!
उस्ले त गजब्बै गर्यो!
***
चुक्ली लगएर,
मलदार अफिस भेट्टायो!
नक्कली आँसु झारेर रुन जान्यो!
सरकारी पैसा बाँडेर समाजसेवी कहलियो !
खोला धितो राखेर ब्यांकबाट पैसा निकाल्यो!
जनताको नाऊँमा जनताकै हुर्मत लिन थाल्यो!
उस्ले त गजब्बै गर्यो
**
दलाली गरेर,
मालदार अफिस भेट्टायो!
ढाँटछल गर्न सिपालु भयो!
छिमेकीको जग्गा मिचेर घर बनायो!
छोरा छोरीको नाउँमा ठेकेदारीको लाइसेन्स निकाल्यो!
इमानको खान छोडेर लुटको खान थाल्यो!
उस्ले त गजब्बै गर्यो!
**
ताबेदारी गरेर,
मालदार अफिस भेट्टायो!
विवेक र ल्याकत बन्धगी राख्यो !
घोडा जस्तै लगाम लगाएर बुर्कुसी मार्न जान्यो !
जता मौलायो त्यतै ढल्कियो !
लाजसरम पचाएर निर्वस्त्र हुन थाल्यो!
उस्ले त गजब्बै गर्यो!
**
उसको पछि लागेपछि,
उसले त गजब्बै गर्यो !
**