खोटाङ, २९ भदौं । चार महिनादेखि बन्द गरिएको हलेसी मन्दिर सोमबारदेखि खुला गरिएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको संख्या समेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) को आइतबार बसेको बैठकले मन्दिर खुला गराउने निर्णय गरेको थियो ।
गत वैशाख १५ गतेदेखि बन्द मन्दिर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्ने गरी खुला गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए । महामारी फैलिन थालेसँगै दैनिक बिहान र बेलुका हुँदै आएको नित्य /नैनित्य पूजालाई मात्र निरन्तरता दिने गरी बन्द गरिएको थियो । बिहान र बेलुकाको नित्य÷नैनित्य पूजाका क्रममा पुजारी र बाजा बजाउने नगर्चीलाई मात्र हलेसी मन्दिर प्रवेश गर्न अनुमति दिइएको थियो ।
ताला लगाएको अवस्थामा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तीर्थयात्रीले ढोका बाहिरबाटै दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुर्याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो दोस्रोपटक भएको हलेसी विकास समितिले जनाएको छ ।
हलेसीसँगै जिल्लाका सबै मठमन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चलगायतमा दैनिकरूपमा गरिने नित्य / नैनित्य पूजा, प्रार्थनासहित पूजा, प्रार्थना, भजनकीर्तन, कलशयात्रा, बलिपूजा जस्ता धार्मिक कार्य खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । ‘सबै क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड लागु गर्ने निर्णय गरिएको छ’, उनले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भए / नभएको विषयमा अनुगमन गर्न प्रहरी परिचालन गरिएको छ ।’ रासस



















