कञ्चनपुर, २ कातिक । लगातारको भारी वर्षाका कारण महाकाली नदीमा आएको बाढीले कञ्चनपुरस्थित महाकाली नदी किनारमा रहेको ‘भाइरल रोड’ भत्काएको छ ।

निर्माणकै क्रममा रहेको भुजेलास्थित रोड पछिल्लो समय ‘भाइरल रोड’ का नामले चर्चित थियो । सो रोड हेर्न दैनिक सयौंको संख्यामा आन्तरिक पयर्टक त्यहाँ पुग्ने गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेका अनुसार पछिल्लो दुई दिनदेखिको लगातारको वर्षाले रोड कटान गरेको हो । सोही क्षेत्रमा महाकाली नदीमा चार लेन पक्की पुल समेत निर्माण भइरहेको छ । सो क्षेत्रमा समेत क्षति भएको छ ।

महाकालीमा जलसतहले खतरा तह नाघ्यो, सीमा पार गर्न रोक
वर्षाका कारण महाकाली नदीमा पानीको सतह खतराको विन्दुभन्दा माथि उक्लिएको छ । पछिल्लो २४ घण्टादेखि जारी वर्षाका कारण महाकाली नदीमा पानीको सतह पाँच लाख क्युसेकभन्दा माथि पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेका अनुसार पानीको सतह बढेपछि शारदा ब्यारेज (महाकाली पुल) मा नेपाल–भारत दुवैतर्फको आवगमनमा रोक लगाइएको छ ।