✍️  राधाकृष्ण देउजा

केहि समय अगाडी नै लेखेको थिएँ कि आफ्ना अलोकतान्त्रिक , असंवैधानिक क्रियाकलापमा रोक लगाउने न्यायलयमा विवाद बढाउने, त्यहाँ हुनु नपर्ने विभाजन गराउने र आफ्नो कुण्ठा पोख्ने केपी ओलीको चाहना ( खेल ) अनुसार न्यायलयमा न्यायधिश र प्रधानन्यायधिश विचमा विवाद गराइएको हो जव यत्र तत्र सर्वत्र बाट प्रधानन्यायधिश माथि हमला हुँदा चुपचाप बसेका केपी ओलीले अव आएर भन्नु भयो “ परमादेश दिने सबै न्यायधिशले राजीनामा दिनु पर्ने हैन र ?”

तव प्रष्ट भयो कि वहाँ अझै पनि आफ्ना निजी कुण्ठा बाट मुक्त हुनु भएको छैन । झन त्यसमाथि प्रधानन्यायधिश श्रीमान चोलेन्द्र शमशेर जवराले “ फैसला विवादित भएको भए सवैले सामुहिक राजीनामा दिउँ” भनेर केपी ओलीको कुण्ठाग्रस्त खेलले वहाँलाइ समेत असर गरेछ भन्ने मात्रै हैन कि कहीं कतै आशँका गरिए जस्तै केपी ओली र चोलेन्द्र श्रीमानको विचमा सहकार्य त थिएन ? भन्ने आशंका जन्माएको छ । कतै सर्वत्र प्रशंसा कमाएको , अदालत प्रति उच्च सम्मान बढाउन सफल रहेको संसद विगठन विरुद्धको फैसला चोलेन्द्र श्रीमानको चाहिं चाहना थिएन कि ? भन्ने आधार पनि देखिए ।

नत्र के कसरि अहिले केपी ओली र श्रीमान चोलेन्द्रको बोलि मिलिरहेको छ ? अनि आफुलाइ मात्रै राम्रो र राम्रो कुराको पक्षधर , जनआवाजको संवाहक भन्ने झुठै भए पनि निरन्तर दावी ठोक्ने केपी ओली र वहाँको मण्डली अदालतमा अचानक देखिएको व्यापक विवादमा लामो समय मौन रह्यो ? र अहिले विवाद चुलीमा पुगेपछि किन प्रधानन्यायधिश सहित संवैधानिक इजलाशका सम्पूर्ण न्यायधिश विरुद्ध रिस फेर्न यही मौका खोजेको ? त्यत्रो हिम्मत थियो भने त आफुले भने पछि जे पनि हुने एमाले रुपी गुटमा निर्णय गराएर आफ्नो असंवैधानिक यात्रामा ब्रेक लगाउने न्यायाधिशहरुको विरुद्ध निर्णय गराएर , आफैंले राजीनामा मागेको भए हुन्थ्यो त ? किन गर्नु भएन । केपी ओली र वहाँको मण्डलीले जनताको सवा सवालको जवाफ दिने त हैन , त्यसैले हामिले जे सत्य हो त्यसैलाई नै मान्ने हो ।

अहिलेको सत्य के हो भने श्रीमान चोलेन्द्र शमशेर जवरा विरुद्धको सर्वत्र , संयुक्त र एकसाथ प्रहार किन भैरहेको छ अलिक बुझ्न गार्हो छ तर यो बुझ्न गाह्रो छैन कि वहाँ विरुद्ध उठिरहेको आवाजहरुमा कहीं कतै असंवैधानिक , अलोकतान्त्रिक ओली कदम विरुद्ध सम्मानित अदालतले गरेको ऐतिहासिक फैसलाको विरोध छंदै छैन । अदालतको त्यो ऐतिहासिक परामादेशको विरोध गर्ने केपी ओली र वहाँको मण्डली मात्रै हो , जो अहिले आएर प्रधानन्यायधिशको नाममा गोहीको आँशु झार्दै छन । बास्तविकतामा भएको चाहिं श्रीमान चोलेन्द्र शमशेर जवरा विरुद्धको अहिलेको व्यापक विरोधको भित्रि खेल केहि होला वा नहोला त्यो समयले देखाउला । तर खेल केही रहेछ नै भने पनि त्यसको लागि मैदान बनाएको चाहिं फेरी पनि श्रीमान चोलेन्द्र शमशेरले नै हो र वहाँलाइ त्यस भडखालोमा हाल्ने स्वयम केपी ओली र वहाँको मण्डली हो ।

यदी स्वतन्त्र र निस्पक्ष रहनु पर्ने संवैधानिक आयोगहरुमा आफ्ना आदेश पालक नियुक्ति गर्न चोर बाटो समाउने केपी ओलीलाइ चोलेन्द्र श्रीमानले संविधान र त्यसको प्रयोगका अभ्यास मात्रै स्मरण गराइदिनु भएको भए आज न संवैधानिक आयोगहरुमा केपी ओलीका आसेपासेको हालीमुहाली हुन्थ्यो न त त्यहाँ नियुक्त केहि स्वतन्त्र र आशा लाग्दाहरुलाइ यसले वा त्यसले नियुक्ति दिलाएको भन्दै मान मर्दन गरिने थियो । त्यति मात्रै नभएर केपी ओलीले गलत बाटो समाएर गरेका नियुक्तिहरु लाइ रोक्न वा त्यसमा भाग खोजेको आरोप सहेर पनि पदीय वाध्यताले नै भए पनि अध्यादेश मार्फत लंगडो बनाइएको संवैधानिक परिषदमा सहभागी हुन अस्विकार गर्न श्रीमान असमर्थ भएको भए पनि त त्यस गलत कामको विरुद्धको मुद्दा न्यायलय छिरे पछि त्यसको छिनोफानो निस्पक्ष ढंगले समयमा हुन दिन श्रीमानलाइ के ले रोक्थ्यो र ?

तर स्वयम श्रीमान चोलेन्द्रले तत्कालिन प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायहरुमा गरेको असंवैधानिक , अनुचित र अनैतिक ( आसेपासे भर्ना गर्नु अनैतिक नै हो ) नियुक्तिको विरुद्धमा परेको मुद्दालाइ निस्पक्ष निरुपणको बाटोमा जान नदिनु भएको त हो नि ! झन आफु समेत विपक्षि रहेको मुद्दामा आफैं इजलाशमा बस्न अनेक जुक्ति गर्दा नभए पछि केपी ओलीका कुनै बेलाका राजनीतिक सहयोगी समेत रहेका न्यायधिश मार्फत आएको आदेशको अन्तर्य पनि त बुझ्न नसकिने कहाँ थियो र ?

त्यसैले कोहि कसैले भ्रम नराखे हुन्छ कि अदालत भित्र अहिले देखिएको विवादको जड केपी ओली र उनले गरेको अनुचित नियुक्ति र त्यसमा सुरु देखि हालसम्म सहयोगी देखिनु भएका श्रीमान चोलेन्द्र शमशेर नै हुनुहुन्छ । कहीं कतै धमिलो पानिमा माछा मार्न सकिन्छ कि भनेर केपी ओलीले पनि कोशिस नगर्नु भएकै राम्रो । किन कि सनकको भरमा संसद विगठन गर्ने केपी ओलीको असंवैधानिक अलोकतान्त्रिक कदमको विरुद्धको दुइ फैसला, अल्पमतमा परेको तथ्य छोपेर प्रधानमन्त्री भएका केपी ओलीको ठाउँमा वहुमत प्राप्त शेर बहादुर देउवालाइ नियुक्त गर्नु भन्ने परमादेश त चोलेन्द्र श्रीमानको न्यायिक सेवाको इतिहासकै स्वर्ण अक्षरले लेखिने छन भलै त्यसो हुँदै गर्दा त्यस फैसला गर्दै गर्दा वहाँको मनसाय फैसलाको पक्ष वा विपक्ष के मा थियो त्यो पनि आउला नै ।