काठमाडौं/ काठमाडौंको ठमेल, लाजिम्पाट र दरबारमार्ग एरियालाई आधारक्षेत्र बनाएर गुण्डागर्दी आएका टोलेगुण्डा सुदीप गुरुङ पक्राउ परेका छन ।

गत जेठ ११ गते दोलखाका ३२ वर्षीय ठेकेदार टासी शेर्पामाथि ठमेल ग्वार्कोपाखामा छुरा प्रहार गरेको आरोपमा गुरुङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । ३३ वर्षीय गुरुङ काठमाडौं महानगरपालिका–२ लाजिम्पाट सकुनामार्ग बस्दै आएका थिए ।

गुरुङमाथि ज्यान मार्ने उद्योग र चोरीसहित १३ पटक मुद्दा चलेको र पटक–पटक पक्राउ परेको छ ।२०६१ सालदेखि गुण्डागर्दी शुरु गरेका गुरुङ पहिलोपटक पक्राउ परेर सेन्ट्रल जेल चलान भएका थिए । जेलभित्र पनि झगडा गरेका कारण गुरुङलाई ५ वटा जेलमा सारिएको थियो ।

२२ महिनासम्म एउटै मुद्दामा जेल बसेका गुरुङ अन्तिमपटक रसुवा जेलबाट छुटेका थिए । पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नक्कली पेस्तोल देखाई पैसा असुली गरेको अभियोगमा गुरुङलाई प्रहरीले एक वर्षअघि पक्राउ गरेको थियो । उनले त्यसबेला नक्कली पेस्तोल देखाई नयाँ बसपार्क, सामाखुसी, बसुन्धारा क्षेत्रका सर्वसाधारण, व्यापारी र होटेल व्यवसायीबाट पैसा असुलेको प्रहरीले जनाएको थियो ।