मोरङ, ६ चैत । मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा बिकास माविमा आइतबार भएको हिंसा भड्किदा एक महिला प्रहरीको मृत्यु भएको छ ।

गुरुले बिद्यार्थी माथि जवरजस्ती गर्ने प्रयास गरेको आरोपमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते उर्मिलाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले अनलाइन सगरमाथा सँग पुष्टि गरे।

झडपमा मोरङका प्रहरी उपरीक्षकसहित एक दर्जन घाइते भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले बताए । ‘घाँटीमै छुरा प्रहार भएपछि उहाँ गम्भीर हुनुभएको थियो। अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु हुनपुग्यो। यसबारे हामी अनुसन्धान गर्दैछौं,’ उनले अनलाइन सगरमाथा सँग भने, ‘मृतकको शव अहिले कोशी अस्पतालमा राखिएको छ।’

लेटाङ ५ को शिक्षा विकास माविमा अध्ययनरत कक्षा ६ मा पढ्ने १२ वर्षीय बालिकालाई सोही विद्यालयका शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको घटना सार्वजनिक भएपछि विद्यार्थी र अभिभावक उत्तेजित भएका थिए । बिहान १० बजे देखि तनावग्रस्त बिद्यालय परिसर राति पौने ९ बजे नियन्त्रणमा आएको थियो ।