दमक,१८ जेठ । तराईका जिल्लाबाट चोरी भएका मोटरसाइकल पहाडी जिल्लातिर भेटिन थालेका छन् । चोरीमा संलग्न गिरोहले तराईबाट चोरेर प्रहरीलाई छल्दै मोटरसाइकल पहाड पुर्याएर बिक्री गर्ने गरेको पाइएको हो । पछिल्लो समय झापाबाट चोरी भएका तीनवटा मोटरसाइकल पाँचथरमा फेला परेका छन् ।

पहाडी जिल्लामा सवारी चेकजाँच एवम् खोजी पनि कम हुने तथा लुकाउन सजिलो हुने र फेला पार्न गाह्रो पर्ने भएका कारण तराईबाट चोरेर मोटरसाइकल पहाडतिर लैजाने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । झापाको दमक नगरपालिका–६ नेपालीरिका होटलअगाडि पार्किङ गरेर राखिएको दमक–४ का सुमन खड्काको मे ११ प ५५१२ नम्बरको पल्सर मोटरसाइकल जेठ १३ गते चोरी भयो ।

खोजी गर्ने क्रममा चोरी भएकै दिन उक्त मोटरसाइकलसहित पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का २१ वर्षीय चन्द्रकुमार योङवा र २० वर्षीय सुरेन्द्र भनिने जीवन कुरुवाङलाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । उनका अनुसार चन्द्रकुमार र जीवनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएपछि चोरी भएका अन्य तीनवटा मोटरसाइकल पनि फेला परेका छन् ।

जेठ ९ गते दमक–६ स्थित गायत्री बोर्डिङ स्कुलअगाडिबाट चोरी भएको प्रदेश १–०१–०१५ प ८६९० नम्बरको पल्सर मोटरसाइकल पाँचथरको मिक्लाजुङ–७ लुमाङदिमबाट प्रहरीले जेठ १४ गते नियन्त्रणमा लिएको छ । दमक–५ का सविन राईको उक्त मोटरसाइकल दमकबाट चोेरी गरी पाँचथर पुर्याएर चलाइरहेको अवस्थामा फेला परेको हो ।

त्यस्तै जेठ ६ गते दमक–६ स्थित नेपालीरिका होटलअगाडिबाट चोरी भएको प्रदेश १–०१–०१४ प १२४० नम्बरको पल्सर मोटरसाइकल मिक्लाजुङ–४ रविबाट १५ गते नियन्त्रणमा लिइएको डिएसपी पाठकले बताए । उक्त मोटरसाइकल इलामको चुलाचुली गाउँपालिका–८ बस्ने भीमा अधिकारीको नाममा रहेको प्रहरीले जनाएको छ ।
यसैबीच दमक–६ स्थित नमूना मार्केटबाट जेठ ३ गते चोरी भएको मे ८ प ९२९७ नम्बरको पल्सर मोटरसाइकल पनि पाँचथरमै फेला परेको छ । दमक–३ का खेमराज गुरागाईंको उक्त मोटरसाइकल मिक्लाजुङ–७ मौवाबाट जेठ १५ गते फेला पारिएको डिएसपी पाठकले बताए ।

‘तराईबाट चोरेर गिरोहले पहाड पुर्याउँदै मोटरसाइकल बिक्री गर्ने गरेको पाइएको छ । हराएका मोटरसाइकल पहाडी इलाकातिर फेला पर्नुले त्यसको पुष्टि हुन्छ,’ पाठकले भने, ‘चोरी नियन्त्रण र त्यसमा संलग्न गिरोहलाई पक्राउ गर्नका लागि विशेष अप्रेशन चलाइएको छ । गिरोहका दुई जनालाई पक्राउ गरेर चोरी मुद्दा चलाउन म्याद थप गर्दै अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।’