- रेवती निरौला
सुन्दरहरैंचा,३ साउन । मोरङको सुन्दरहरैंचा नगरपालिकामा अघिल्लो नेतृत्वले आवश्यक प्रकृया नपुर्याइ करारमा भर्ति गरेका कर्मचारीहरु समस्यामा परेका छन् । अघिल्लो नेतृत्वले नगरपालिकामा कार्यरत २९ जना कर्मचारीहरुलाई कुनै पनि प्रकृया नै नपुर्याइ नियुक्ति दिएको पाइएपछि नयाँ नेतृत्वले करार अवधि थप नगर्दा कर्मचारीहरु समस्यामा परेका हुन् ।
कार्यपालिकाले कर्मचारी राख्ने भनेर निर्णय गरेपनि त्यसपछि पुरा गर्नुपर्ने पूर्व योग्यता परिक्षण नगरि कर्मचारी भर्ती गरेको पाइएको छ । कुनै पनि कर्मचारी राख्दा पुरा गर्नुपर्ने सामान्य मापदण्ड समेत पुरा नगरि सोझै कर्मचारी राखेको पाइएको र त्यस्ता कर्मचारीलाई तलव खुवाउँदा बेरुजू देखिने भएकाले गत नगरसभाको बैठकले प्रकृया पुरा नगरेका कर्मचारीलाई हटाउने निर्णय गरेको नगरपालिकाका एक कर्मचारीले बताए ।
२०७७ फागुन २ गते बसेको कार्यपालिका बैठकले २२ जना कर्मचारीलाई करारमा राख्ने निर्णय गरेकोमा त्यसपछि पुरा गर्नुपर्ने सूचना प्रकाशन, लिखित तथा मौखिक परीक्षा लगायतका कुनै पनि योग्यता परिक्षण नगरी पहुँचका आधारमा सोझै कर्मचारी भर्ति गरिएको पाइएको छ । २२ जनाको विषयमा त कार्यपालिकाले निर्णयसम्म गरेको भएपनि अन्य ७ जनालाई त झन् कार्यपालिकाले समेत निर्णय नगरि भर्ति गरिएको पाइएको नगरपालिकाका ती कर्मचारीले बताए । यसरी भर्ति गरिएका कर्मचारीहरुमा धेरैजसो कार्यालय सहायक रहेका छन् भने केही सहायक चौथो, सहायक पाँचौ, अशिष्टेन्ट शवइञ्जिनियर, शवइञ्जिनियर लगायत रहेका छन् ।
जागिर खान पाएपछि त्यसरी भर्ति गरिएका कर्मचारीहरुले समेत त्यसबेला प्रकृया पुगेको नपुगेको ख्याल गरेनन् । तर नगरपालिकाको अघिल्लो नेतृत्वले प्रकृया नपुर्याइ जथाभावी कर्मचारी भर्ती गर्नुको परिणाम भने यतिबेला सोझा, सीधा कर्मचारीहरुले भोग्नु परेको छ । यसरी भर्ती गरिएका कर्मचारीहरुलाई विदा गरेपनि उनीहरुको जीविकोपार्जनमा समस्या नहोस् भनेर नगरपालिकाले तत्कालका लागि उनीहरुलाई दैनिक हाजिरी अर्थात ज्यलादारीमा काम लगाउने भएको छ । प्रकृया नपुगेकाले करार थप नगरिएपनि उनीहरुको दैनिक गुजारा चलाउन समस्या नहोस् भनेर ज्यालादारीमा काम गर्न पाउँ भनेर निवेदन दिन लगाइ तत्कालका लागि ज्यालादारीमा काममा खटाइएको बताइएको छ ।
अब चाँडै आवश्यक प्रकृया पुरा गरेर आवश्यक परेको ठाउँमा करारमै कर्मचारी नियुक्ति गर्ने नगरपालिकाको तयारी रहेको बुझिएको छ । यसो हुँदा प्रकृया नपुगेका कारण हटाइएका कर्मचारीहरुले समेत पुनः प्रकृयामा सामेल भएर आउन सक्ने भएका छन् । यसरी अघिल्लो नेतृत्वले जथाभावी कानुन मिचेर कर्मचारी भर्ना गर्दा कर्मचारीहरुले नै समस्या भोग्न बाध्य हुनु परेको छ । सुन्दरहरैंचा नगरपालिकामा जम्मा ८१ जना करारका कर्मचारी रहेकोमा अन्य ५२ जनालाई भने आवश्यक प्रकृया पुरा गरेरै राखिएको पाइएको छ ।
प्रकृया पुगेका ५२ जना करारका कर्मचारीको हकमा भने सुन्दरहरैंचा नगरपालिकाले हटाउने कुनै निर्णय गरेको छैन । अन्य विभिन्न स्थानीय तहले प्रकृया पुरा गरेर राखिएका करारका कर्मचारीलाई समेत राजनीतिक आस्थाका आधारमा धमाधम हटाउँदै गर्दा सुन्दरहरैंचा नगरपालिकाले भने प्रकृया नपुगेका कर्मचारीलाई मात्र प्रकृयामा ल्याउन पहल थालेको हो ।


