लेटाङ,४ साउन । नेपालकै पहिलो हिपहप संगीतको रियालीटी सो नेपहपको श्रीपेचका विजेता भाइबर साइमनलाई गृह नगर लेटाङमा सम्मान गरिएको छ ।
लायन्स क्लब अफ लेटाङले आज लेटाङ बजारमा आयोजना गरेको सम्मान कार्यक्रमकाबीच लेटाङ नगरपालिका, लायन्स क्लव र स्थानीयबासीले भाइबर साइमनलाई सम्मान गरेका हुन् । राष्ट्रिय स्तरको प्रतियोगितामा विजेता बनेर लेटाङ नगरको गौरव बढाएको भन्दै लेटाङ नगरपालिकाले सम्मानपत्र सहित दोसल्ला ओढाएर भाइबरलाई सम्मान गरेको हो ।

भर्खरै सम्पन्न ११ औं नगरसभाले निर्णय गरे अनुरुप नगर प्रमुख भूपेन्द्र कुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले भाइबरलाई सम्मान गर्दै सांगीतिक यात्राको सफलताको शुभकामना दिनुभयो । यसैगरि लायन्स क्लव आफ लेटाङले पनि भाइबर साइमनलाई सम्मानपत्र सहित सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का सूचना, सञ्चार तथा यातायात मन्त्री उपेन्द्र प्रसाद घिमिरेले लायन्स क्लवको तर्फबाट दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो ।

यसैगरि सोही कार्यक्रममा लेटाङ निवासी चर्चित गायक तथा नायक बाबु बोगटी र मीस टीन लेटाङकी विजेता स्मृती तामाङलाई समेत सम्मान गरिएको छ । लायन्स क्लव अफ लेटाङका प्रेसिडेन्ट दुर्गा प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ सी गभर्नर धिरज गुरुङ लगायतका लायन्सका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । सो अवसरमा गायव बाबु वोगटी र भाइबर साइमनले सांगीतिक प्रस्तुती समेत दिएका थिए ।



















