बारा , २५ भदौ । आयल निगमले पाइपलाइनबाट झन्डै २९ लाख किलोलिटर डिजेल आयात भएको छ। २०७६ भदौदेखि सुरु भएको परियोजनाबाट हालसम्म २८ लाख ९२ हजार ४ सय २९ किलोलिटर डिजेल आयात भएको हो । ट्यांकरमार्फत हुँदै आएको आयातलाई पाइपलाइनले विस्थापन गर्दा ५ अर्ब रुपैयाँ बचत भएको छ।

पाइपलाइन सञ्चालन भएको तीन वर्ष पूरा भएको अवसरमा निगमले विशेष कार्यक्रम गरेको छ। कार्यक्रममा निगमको मधेस प्रदेश कार्यालयका प्रमुख प्रदीप यादवले हालसम्म पेट्रोलियम पाइपलाइनबाट बिना अवरोध इन्धन आयात भइरहेको र यसले इन्धन चुहावट रोक्नसमेत महŒवपूर्ण भूमिका निर्वाह गरेको बताए।

‘पाइपलाइनबाट डिजेल मात्र आइरहेको छ। पेट्रोल भण्डारणका लागि ट्यांकको निर्माण भइरहेको छ। २०२४ जनवरीदेखि पेट्रोल र मट्टीतेलसमेत पाइपलाइनबाटै ल्याउछौं,’ प्रमुख यादवले भने, ‘पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म पुर्‍याउने र सर्लाहीसम्म ग्यास पाइपलाइनसमेत विस्तार गर्ने योजना छ।’ ग्यास पाइपलाइन सञ्चालनमा आएपछि भारतीय बुलेटले लैजाने गरेको ६ अर्ब रुपैयाँ
बिदेसिनबाट रोकिने तथा निगमको वार्षिक ४ अर्ब बचत हुने उल्लेख गरे। यद्यपि पाइपलाइन परियोजनामा हुन सक्ने सम्भावित सुरक्षाबारे सजग हुनुपर्ने उनको भनाइ छ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले तेल चोर्न पाउनुपर्‍यो भन्दै ट्यांकर व्यवसायीले सीडीओ कार्यालय घेरेको विगत स्मरण गरे। उनले पाइपाइनको युग सुरु गर्न र यसलाई सफल तुल्याउन भूमिका खेल्ने सबै पक्षलाई धन्यवाद व्यक्त गरे। यो पाइपलाइन भारतको मोतीहारीदेखि अमलेखगन्जसम्म ६९.२ किलोमिटरमा फैलिएको छ। यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो। यसबाट वार्षिक २५ लाख किलोलिटर डिजेल आयात गर्ने क्षमता छ।

त्यस्तै, अमलेखगन्ज डिपो नेपालकै सबैभन्दा ठूलो इन्धन भण्डार हो। २०३३ सालमा निर्माण भएको सो डिपो ६७ हजार ७ सय २४ वर्गमिटर क्षेत्रमा फैलिएको छ। १९ हजार ८ सय ४० किलोलिटर डिजेल, ३ हजार ४ सय ३० किलोलिटर पेट्रोल ७ सय ६० किलोलिटर मट्टीतेल भण्डारणको क्षमता रहेको छ। यो डिपोको क्षमताले मात्र देशको २.५ दिनको पेट्रोलियमको माग धान्न सक्छ। अहिले यो कार्यालयले २६ जिल्लाको आपूर्ति व्यवस्थापन गर्दै आएको छ। जसअन्तर्गत ४ सय २४ डिलर, २ सय ६४ ढुवानीकर्ता रहेका छन्। अमलेखगन्ज डिपोबाट अहिले विराटनगर, जनकपुर, थानकोट, पोखरा, भलवारी डिपोमा स्टक ट्रान्सफर हुँदै आएको छ। दैनिक औसत ५ हजार किलोलिटर इन्धन स्टक ट्रान्सफर र ६ हजार ५ सय किलोलिटर इन्धनको आपूर्ति तथा वितरण गर्दै आएको छ।

डिपोको सुरक्षाका लागि अमलेखगन्ज डिपोमा २४ लाख लिटरको पानीट्यांकीसहित फायर फाइटिङको व्यवस्था छ। डिपो तथा पाइपलाइनको चारैतिर २० वटा फायरमोनिटर, हाइड्रान्टसहित १४ इन्चको फायरलाइन छ। डिपोमा प्रतिघण्टा २८८ किलोलिटर डिस्चार्जयुक्त दुईवटा वटा फायरइन्जिन रहेको छ।

प्रत्येक लोडिङ अनलोडिङ वेमा क्यापासिटेटिभ अर्थिङ तथा विभिन्न क्षमताका सयभन्दा बढी फायरबोतलको व्यवस्था छ। सम्भावित आगलागी नियन्त्रणका लागि डिपोसँग आफ्नै २ वटा दमकल तयारी हालतमा छन्।