लेटाङ,१९ असोज । मोरङको लेटाङ नगरपालिकाले चाडपर्वलाई लक्षित गरि बजार अनुगमन सुरु गरेको छ । खासगरि चाडपर्वमा कालोबजारी हुने तथा मिति नाघिएका बस्तुहरु विक्री हुने संभावना रहेकाले नगरपालिकाले बजार अनुगमन सुरु गरेको हो । पहिलो चरणमा नमुनाको रुपमा लेटाङ बजारका केहि किराना पसल र मिष्ठान्न भण्डारमा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा लेटाङ ४ स्थित पप्पु स्विट हाउसको भान्सा मापदण्ड विपरित र फोहोर रहेको, अस्वस्थकर तेल प्रयोग गरिएको, बासी मिठाइहरु राखिएको पाइएको छ भने दर्ता समेत नरहेको पाइएको छ । टोलीले अवस्थकर तेल र लामोहन मिठाइ नष्ट गरेको छ । स्विट हाउसलाई १० दिन भित्र सुधार ल्याउन निर्देशन दिइएको वाणिज्य कार्यालयका प्रमुख कमलदेव यादवले जानकारी दिनुभयो ।
यस्तै लेटाङ ३ स्थित विमल किराना पसलमा म्याद गुज्रिएका सामान पनि विक्री गर्न राखिएको भेटिएकाले म्याद गुज्रिएका सामानहरुलाई छुट्टै ठाउँमा राख्न अनुगमन टोलीले निर्देशन दिएको छ । लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले नमुनाको रुपमा व्यवसायीहरुलाई सचेत गराउने हिसावले अनुगमन गरिएकाले अब दशैं लगत्तै पनि अनुगमनलाई निरन्तरता दिंदै जाने जानकारी दिनुभयो । यता व्यवासयीहरुले समेत नगरपालिकाको अनुगमनलाई सकरात्मकरुपमा लिएका छन् । नगरपालिकाले बेला बेला अनुगमन गर्दा व्यापारीहरु पनि सचेत रहने व्यवसायी नेत्रप्रसाद विमलीले बताउनुभयो ।
लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाको नेतृत्वमा भएको बजार अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख कमलदेव यादव, लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, लेटाङ ३ का वडाध्यक्ष डम्बर बहादुर राई, इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक विकास थपलिया, उद्योग वाणिज्य संघ लेटाङका अध्यक्ष खड्गबहादुर श्रेष्ठ र सञ्चारकर्मी लगायतकोे सहभागिता रहेको थियो । कोशी बुलेटिन बाट




















