काठमाडौं । केही दिन पहिले विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको प्रहरी कारबाहीमा ज्यान गएको थियो । यसलाई लिएर अहिले सत्तापक्ष दलमा नै विवाद खडा भएको छ । नेकपा नेता एंम पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको प्रतिवेदन र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने स्पष्ट पार्नुभएको छ ।

गृहमन्त्री रामबहादुर थापाले पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएपछि शर्माको यस्तो बयान आएको हो । संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा मन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको बताउनु भएको हो । पौडेल यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर–दक्षिण बाटोमा मारिएका थिए ।

राज्यव्यवस्था समितिको बैठकमा मन्त्री थापाले भने, ‘मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।’

विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि जबर्जस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्कीहरु दिने र जनमानसमा आतंक सिर्जना गर्ने गरेको मन्त्री थापाको आरोप रहेको छ ।

त्यसबारे व्यापक जनगुनासो बढेपश्चात जिल्ला प्रहरी कार्यालय सर्लाहीले गस्ती, निगरानी लगायतका गतिविधि बढाउने क्रममा यही असार ५ गते पौडेल मारिएको थापाले जानकारी गराउँनुभयो । संसदको राज्य व्यवस्था समितिको बैठकमा नेकपाका सांसद शर्माले भन्नुभयो, ‘प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ । तर जनताको पनि रिपोर्ट छ, त्यसले मुठभेडमा पौडेलको मृत्यु भएको भन्दैन ।’